सहकारीमा ११ करोड डुब्यो, पारिवारिक सम्बन्ध टुट्यो
पैतृक सम्पत्ति बेचेर बचत गरेको करीब ११ करोड रुपैयाँ सहकारीमा डुबेपछि एमबहादुर विष्टको आर्थिक आधार मात्र भत्किएको छैन, परिवार नै छिन्नभिन्न भएको छ।
मनसुनी याम छ। घरी चरक्क घाम लाग्छ, छिनमै आकाश धुम्मिएर झरी दर्किन्छ। काठमाडौं शान्तिवाटिकामा धर्नामा बसेका एक हुल मानिसलाई यी कुराको खासै परवाह छैन। किनकि मौसमको प्रताडनाभन्दा बढी पीडा उनीहरूभित्रै पाकिरहेको छ।
उनीहरू हुन्, सहकारीपीडित। सहकारीमा डुबेको बचत रकम फिर्ताका लागि सरकारलाई गुहार्दै उनीहरू जेठ ११ गतेदेखि शान्तिवाटिकामा रिले अनशन गरिरहेका छन्।
पीडितहरू सहकारीसँग जोडिएका आआफ्नो व्यथा एकअर्कालाई सुनाउँछन्। कहिले सहकारी र तिनका सञ्चालकप्रति आक्रोश पोख्छन्, कहिले रुन्छन्।
त्यही हुलमा भेटिए, भक्तपुरको सूर्यविनायक नगरपालिका-३ का ७० वर्षीय एमबहादुर विष्ट। उनको १० करोड ७२ लाख रुपैयाँ गुडविल बचत तथा ऋण सहकारी संस्थामा डुबेको छ। आफ्नो व्यथा सरकारले सुन्ला कि भनेर उनी दिनहुँ अनशनस्थल पुग्ने गरेका छन्।
चिनेका सहकारी सञ्चालक र बढी ब्याज पाउने भएपछि उनले ढुक्क भएर रकम राखेका थिए। तर निकट सम्बन्धको विश्वासमै घात भयो। सहकारी डुब्दा उनको ठूलो रकम गुम्न पुग्यो।
आफ्नो पीडा र गुनासो सरकारलाई सुनाउन अनशन बसिरहेका उनी हामी मार्फत त्यो व्यथा सुनाउन तयार भए।
गुडविल सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठसँग विष्टको पारिवारिक सम्बन्ध जस्तै थियो। पुर्ख्यौली थलो झापाबाट परिवार सहित काठमाडौं आएपछि उनी ललितपुर महालक्ष्मी नगरपालिकास्थित श्रेष्ठका बुबा रामशंकरलाल श्रेष्ठको घरमा १८ वर्ष भाडामा बसेका थिए।
त्यही बीचमा उनी २०५४ सालमा रोजगारीका लागि जापान गए। जापानमा सात वर्ष श्रम गरे। त्यसपछि तीन वर्ष कोरिया र १० वर्ष अमेरिका बसे। त्यहाँको कमाइले सूर्यविनायक नगरपालिका-३ मा जग्गा किनेर घर बनाए।
अमेरिकाबाट २०७३ सालमा फर्केपछि उनको पुराना साथी रामशंकरलालसँग भेट भयो। रामशंकरलालले आफ्ना छोरा दिवाकरले सहकारी चलाएको सुनाए। दिवाकरले आफ्नो सहकारीमा निकै राम्रो ब्याज दिने बताए।
विष्टले साथीले आफूलाई राखिदिन आग्रह गरेको एक लाख रुपैयाँ १४ प्रतिशत ब्याजदरमा दिवाकर अध्यक्ष रहेको गुडविल सहकारीमा राखिदिए। नियम अनुसार उनले एक वर्षसम्म ब्याज पनि बुझे। सहकारीको कारोबार उनलाई राम्रै लाग्यो।
यही बीचमा विष्टले झापामा रहेको पैतृक सम्पत्ति बेच्ने सोच बनाए। दुई छोरा र एक छोरी विदेशमा बस्ने भएकाले सम्पत्तिको रेखदेख गर्ने कोही नभएपछि बेच्ने निधो गरेका थिए।
यो कुरा सहकारीका अध्यक्ष दिवाकरसम्म पुग्यो। उनी जग्गाको कारोबार पनि गर्थे। विष्टले बेच्न लागेको तीन बिघा जग्गा आफूले किन्ने बताए। तर पछि दिवाकरकै साथी देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रवीन्द्र चौलागाईंले नौ करोड ६० लाख रुपैयाँमा त्यो जग्गा किने।
त्यो रकम आफ्नै सहकारीमा राख्न दिवाकरले विष्टलाई फकाए। चिनजानकै मान्छे र त्यसमा पनि राम्रो ब्याज आउने भएकाले उनी राजी भए।
“पारिवारिक सम्बन्ध जस्तै थियो र मेरा छोराछोरीसँगै पढेका कारण दिवाकरको कुरामा विश्वास लाग्यो,” विष्ट भन्छन्।
उनले जग्गा बेचेर आएकोमध्ये आठ करोड रुपैयाँ २०७६ पुसमा गुडविल सहकारीमा राखे, १८ प्रतिशत ब्याज पाउने गरी। पहिलो महीनाको ब्याज ११ लाख ५० हजार भएकामा ११ लाख रुपैयाँ निकाले। “त्यसपछि हरेक तीन महीनामा ब्याज दिने शर्त थियो, तर कोरोनाकालमा लकडाउनका कारण पाइएन,” उनी सुनाउँछन्।
लकडाउनपछि उनले केही ब्याज लिए। पटक पटक गरी ब्याजस्वरूप जम्मा १५ लाख ५० हजार रुपैयाँ पाएको उनी बताउँछन्। २०७७ फागुन १५ गते ब्याज सहित सबै रकम झिक्ने कुरा भएको थियो। दिवाकरले पोखरामा भएको जग्गा बेचेर रकम दिने बताएका थिए।
“पैसा लिएर घरमै आउँछु भनेका थिए, तर उनी देखा परेनन्,” उनी भन्छन्। गुडविल सहकारीमा विष्टको सावाँ-ब्याज सहित १० करोड ७२ लाख रुपैयाँ डुबेको छ।
उनी सहित ५६० जनाभन्दा धेरै बचतकर्ताको उजुरी परेपछि सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठलाई चितवनको भरतपुरमा लुकिछिपी बसेको अवस्थामा २०७७ चैत २१ गते प्रहरीले पक्राउ गर्यो। उनलाई बचतकर्ताको ७९ करोड ८९ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दोषी ठहर गरी डिल्लीबजार कारागारमा राखिएको छ। यद्यपि गुडविल सहकारीलाई सरकारले हालसम्म समस्याग्रस्त घोषणा गरेको छैन।
विष्टले आफ्नो पैसा फिर्ताका लागि कारागारमै पुगेर दिवाकरलाई अनुनय गरेका छन्। तर पैसा आउने कुनै छेकछन्द छैन। “म कहिलेकाहीं कारागारमै भेट्न जान्छु, उनी साथीहरूका कारण पैसा डुबेको र अब दिने उपाय नभएको बताउँछन्,” विष्ट भन्छन्।
परिवारमा दरार
सहकारीमा रकम डुब्नुअघि विष्ट परिवारमा सुमधुर सम्बन्ध थियो। जब पैसा डुब्यो अनि सम्बन्धमा दरार सिर्जना भयो। पछिल्लो समय उनीसँग श्रीमती र छोराछोरीको सरसम्पर्क र बोलचाल छैन।
“अमेरिकामा भएका छोराबुहारी र नातिनातिनीसँग कुरा हुँदैन। अस्ट्रेलियामा भएका छोराछोरी पनि बोल्दैनन्,” उनी बह पोख्छन्, “छोराछोरी र नातिनातिना नेपाल आएको/गएको पनि मलाई थाहा हुँदैन।”
उनी डुबेको रकम फिर्ताको माग गर्दै आन्दोलनमा होमिएका छन्, तर परिवारको साथ छैन। घरमा सँगै बसे पनि श्रीमती नबोल्ने गरेको र आफ्नो खोजखबर नराख्ने गरेको उनी दुखेसो भन्छन्। “अनशन बस्ने क्रममा म कैयौं पटक राति शान्तिवाटिकामै सुतें, तर श्रीमतीले के छ, कता हो भन्नेसम्म सोधिनन्,” उनी भावुक हुँदै सुनाउँछन्, “दुनियाँले सान्त्वना दिए, तर श्रीमतीले साथ दिइनन्।”
अहिले बसिरहेको भक्तपुरको घरजग्गा श्रीमतीको नाममा छ। उनका अनुसार छोराहरूले अब तपाईंको केही पनि छैन भन्छन्। “दु:ख गरेर कमाएँ, अहिले छोराहरूले पनि निस्केर जानू भन्छन्,” उनी पीडा पोख्छन्।
आजभोलि आफ्ना लागि शान्तिवाटिका नै घर र सहकारीपीडितहरू नै परिवार जस्तो लाग्ने उनी सुनाउँछन्। विष्ट भन्छन्, “घर जान पनि मन लाग्दैन। अढाई वर्षकी नातिनी छे भनेर मात्र जान्छु।” परिवारमा घरीघरी कान्छी बुहारीले चिन्ता नगर्न भन्ने र यस बाहेक आफ्ना लागि कोही नभएको उनको भनाइ छ।
करोडौं रकम डुबेपछि हरेश खाएर उनले गत वर्ष टुँडिखेलमै आत्मदाह गर्ने प्रयास गरेका थिए। तर अन्य सहकारीपीडितले सान्त्वना दिएर उनलाई रोकेका थिए।
पीडितको अनवरत संघर्ष
सहकारीपीडितले रकम फिर्ताको माग गर्दै ‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान’ गठन गरी आन्दोलन शुरू गरेको १५ महीना भइसकेको छ। यसबीचमा सरकारले पीडितसँग दुई पटक माग पूरा गर्ने सहमति गर्यो।
२०८० साउन १८ गते तत्कालीन भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले सातबुँदे सहमति गरेकी थिइन्। दोस्रो पटक चैत ८ गते भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले आठबुँदे सहमति गरेका थिए। तर अहिलेसम्म कार्यान्वयन भएको छैन।
विगतका सहमति कार्यान्वयन नभएपछि पछिल्लो पटक पीडितले शान्तिवाटिकामा रिले अनशन गर्न थालेका हुन्। अनशन थालेको सोमबार ७४ दिन भइसक्दा सरकारले आफूहरूको कुरा नसुनेको र कोही पनि सरकारी मानिस भेट्न नआएको पीडितहरू बताउँछन्।
यसपालि भने माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको भनाइ छ।