फास्ट ट्र्याकको धेद्रे सुरुङ ‘ब्रेक थ्रू’
काठमाडौं-तराई मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत घट्टेपाखा-धेद्रे सुरुङ छिचोलिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार स्वीच थिचेर सुरुङ ‘ब्रेक थ्रू’ गरेका हुन्। मकवानपुरको बकैया गाउँपालिका-१२, धेद्रेमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले काठमाडौं-निजगढतर्फको १.७२ किलोमिटर लामो ‘सुरुङ ब्रेक थ्रू’ गरेका हुन्।
निजगढ-काठमाडौंतर्फको १.६५ किलोमिटर धेद्रे सुरुङ भने गत जेठ ११ मै छिचोलिएको थियो। धेद्रे सुरुङ छिचोलिएसँगै प्याकेज नम्बर २ अन्तर्गतका सबै सुरङ खोल्ने काम सकिएको छ।
कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले आयोजनाको हालसम्मको निर्माण प्रगति र चुनौतीबारे प्रधानमन्त्री ओलीलाई अवगत गराएका थिए। अहिलेसम्म आयोजनाको भौतिक प्रगति ३५.९८ प्रतिशत रहेको शर्माले जानकारी दिए।
लेनडाँडामा रहेको निजगढ-काठमाडौंतर्फको १.६१ किलोमिटर र काठमाडौं-निजगढतर्फको १.६३ किमी सुरुङ यसअघि नै खनिसकिएको छ। त्यस्तै, ३.३२ किमीको निजगढ-काठमाडौंतर्फको महादेवटार सुरुङको हालसम्म २.०२ किमी खनिसकिएको छ।
यसैगरी, ३.३८ किमीको काठमाडौं-निजगढतर्फको २.२८ किमी सुरुङ पनि खनिसकिएको छ। यो सुरुङ यसै वर्ष सम्पन्न गर्ने गरी काम भइरहेको नेपाली सेनाले जनाएको छ।
द्रुतमार्ग २०८३ चैतसम्म सम्पन्न गर्ने लक्ष्य छ। आयोजनालाई १३ प्याकेजमा विभाजन गरी निर्माण भइरहेको छ। आयोजना अन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनका चरणमा छन्। बाँकी चार पुल खोकना क्षेत्रमा बन्नेछन्। यस क्षेत्रमा जग्गा अधिग्रहण सम्बन्धी समस्याका कारण निर्माणमा ढिलाइ भइरहेको छ।
प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको सडकको लम्बाइ ७०.९७ किमी छ। द्रुतमार्ग पहाडी भूभागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुनेछ। द्रुतमार्गमा १०.३० किमी लम्बाइका ६ वटा सुरुङ बन्नेछन्।
आयोजना अन्तर्गत देवीचौरमा एक किलोमिटर, सिसौटारमा ३९० मिटर, चन्द्राम भीरमा २.२५ किमी, महादेवडाँडामा ३.३५ किमी, धेद्रेमा १.६९ किमी र लेनडाँडामा १.६२ किमी लामो सुरुङ निर्माण हुनेछन्।
द्रुतमार्गमा विभिन्न स्थानमा १२.८८ किमी लम्बाइका ८९ पुल निर्माण हुनेछन्। बुदुनेमा दुई विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एक/एक इन्टरचेन्ज र टोल प्लाजा निर्माण गरिनेछन्।