कोलोराडोमा गुन्जियो नेपथ्य
अमेरिकाका सात शहरमा कन्सर्ट गर्न सांगीतिक यात्रामा निस्केको लोकरक ब्यान्ड नेपथ्यले पहिलो प्रस्तुति कोलोराडोको बोल्डर शहरमा दिएको छ।
ब्यान्डले ३ अगस्टमा सवा एक सय वर्ष पुरानो ‘बोल्डर थिएटर’ मा करीब दुई घण्टा गीति भाका गुन्जायो। कन्सर्टको शुरूआती प्रस्तुति ‘कोशीको पानी’ बाट गरिएको थियो। त्यसलाई ‘भेडाको ऊन जस्तो’ र ‘छेक्यो छेक्यो’ ले निरन्तरता दियो।
४० दिनमा सात कार्यक्रमको योजना सहित कोलोराडोको बोल्डर पुगेको नेपथ्यको पहिलो कार्यक्रम आत्मीय रहेको अनुभव गायक अमृत गुरुङले सुनाए। “पर्वतीय राज्य कोलोराडोको यस बोल्डर शहरले हाम्रो काठमाडौंलाई भगिनी शहर घोषणा गरेको तथ्यले थप आत्मीयता बढाएको छ,” अमृतले भने।
शनिबारको कन्सर्टमा आएका दर्शकमा केही चिरपरिचित अनुहार पनि देखिन्थे। तिनैमध्ये थिए अग्रज कलाकार हिरण्य भोजपुरे र गायिका रिमा गुरुङ हाडा। रिमाले भनिन्, “कन्सर्टमा कोलोराडो वरिपरिबाट आएका नेपालीहरूको भीडले बोल्डर शहरलाई नेपालमय बनाएको अनुभव भइरहेको छ।”
कन्सर्टमा ब्यान्डको स्थापनाकालीन ‘आँगनैभरि’देखि भर्खरै रेकर्ड भएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’ सम्मका सार्वकालिक हिट गीतहरू समेटिएका थिए।
कार्यक्रमभरि पटक पटक नेपाली भाषा र पहिचानको पक्षमा विचार राखेका अमृतले आफूले पैदलै गाउँबस्ती घुम्दाका क्रममा कतिपय गीतहरू संकलन गर्ने अवसर पाएको सुनाउँदै, नेपाल आउँदा देश घुम्न पनि सुझाए। यति भनेर उनले धौलागिरिको सेरोफेरो यात्रा गर्दा बनाएको गीत ‘शिरफूल’ सुनाए। यो गीत गाइरहँदा पृष्ठभूमिको पर्दामा यात्राका दौरान उनले खिचेका रुकुम यात्राका तस्वीरहरू देखाइएको थियो।
‘लहरा पहरा’ गीतका सर्जक लेकाली गायक हिरण्य भोजपुरेले नेपथ्यको प्रस्तुति सुन्दा आफूले नेपाल सम्झिएको र कोलोराडोका नेपालीहरूको सामीप्य अनुभूत गरेको सुनाए। भोजपुरे पत्नी एवम् लेकाली गायिका उर्मिला श्रेष्ठका साथै दुई छोरा, छोरीज्वाइँ र नातिनी सहित कार्यक्रम हेर्न आएका थिए।
कन्सर्टको अन्तिमतिर पुग्नै लाग्दा अमृतले ‘गाउँगाउँबाट उठ’ सुनाएपछि हलभित्र दर्शक जोशिंदै उफ्रेका थिए। त्यसले ‘रेशम’, ‘तालको पानी’ र अन्तिम गीत ‘रातो र चन्द्रसूर्जे’ सम्म पुग्दा क्रमशः दर्शकमा उत्तेजनाको पारो बढाएको थियो।
दुई घण्टा लामो नेपथ्य कन्सर्ट सकिएपछि बोल्डर थिएटरका साउन्ड इन्जिनीयर रोब कर्टस्को प्रतिक्रिया थियो– “गजब! कलाकार र श्रोताबीच आपसी माया र सद्भावको अतुलनीय अनुभव।”
थिएटरका अपरेशनल मेनेजर ड्यानियल मर्फी भन्दै थिए, “दर्शक र कलाकार दुवैतर्फको उत्साह र उत्तेजनाले कन्सर्टको शुरूआतदेखि नै मञ्च र दर्शकदीर्घाका बीच एक किसिमको सिनर्जी विकास हुँदै गएको देखिन्थ्यो।”
कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र कीबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए।
स्थानीय आयोजक ‘कोसेली कोलोराडो’ समूहले नेपथ्यको प्रस्तुति कोलोराडो राज्यमा आजसम्मकै सबैभन्दा ठूलो नेपाली कार्यक्रम रहेको र सभ्य रूपमा सफल भएको प्रतिक्रिया दिएको छ।
अमेरिका यात्रामा नेपथ्यको दोस्रो कन्सर्ट १० अगस्टमा पश्चिमी तटीय शहर सानफ्रान्सिस्कोको वारफिल्ड थिएटरमा हुनेछ। यसपछि ब्यान्ड क्रमशः ओहायो राज्यको राजधानी कोलम्बस, टेक्सासको डालास, न्यूयोर्क, मेरिल्यान्ड र अन्त्यमा पेन्सिलभेनियाको ह्यारिसवर्गमा प्रस्तुत हुनेछ।
अमेरिका यात्राको सबै कन्सर्टका लागि नेपथ्यको वेबसाइटबाट टिकट किन्न सकिने जनाइएको छ।