१० ब्यांकको नाफा बढ्यो, १० को घट्यो
नेपालका वाणिज्य ब्यांकहरूको नाफा गत आर्थिक वर्षमा सामान्य वृद्धि भएको छ।
आर्थिक शिथिलताबीच आर्थिक वर्ष २०८०/८१ मा वाणिज्य ब्यांकहरूको नाफा १३.३९ प्रतिशतले बढेको हो। २० मध्ये आधा वाणिज्य ब्यांकको नाफा बढेको छ भने आधाको घटेको छ।
गत वर्ष सर्वाधिक नाफा नबिल ब्यांकले कमाएको छ। यस ब्यांकको नाफा सात अर्ब ६ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षका तुलनामा १० प्रतिशतको वृद्धि हो।
त्यसैगरी, ग्लोबल आइएमई ब्यांकले ६ अर्ब एक करोड रुपैयाँ नाफा कमाएको छ। यद्यपि यो नाफा अघिल्लो वर्षका तुलनामा करीब १० प्रतिशत थोरै हो। नेपाल इन्भेस्टमेन्ट मेगा ब्यांकले पाँच अर्ब १९ करोड रुपैयाँ नाफा कमाएको छ। यो अघिल्लो वर्षका तुलनामा ३९.७ प्रतिशत धेरै हो।
गत वर्ष हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी, लक्ष्मी सनराइज, प्राइम, नेपाल एसबीआई कृषि विकास, प्रभु, नबिल र एभरेष्ट ब्यांकको नाफा बढेको छ।
तर एनआईसी एशिया, नेपाल ब्यांक, राष्ट्रिय वाणिज्य ब्यांक, सिद्धार्थ ब्यांक, सानिमा, स्ट्यान्डर्ड चार्टर्ड, सिटिजन्स, एनएमबी, माछापुच्छ्रे र ग्लोबल आइएमई ब्यांकको नाफा घटेको छ। गत वर्ष सर्वाधिक नाफा गुमाउनेमा एनआईसी एशिया ब्यांक छ। यसको नाफा अघिल्लो वर्षका तुलनामा ६८.९ प्रतिशतले घटेको छ।
आर्थिक गतिविधिमा शिथिलता आएसँगै ऋणीहरूले ब्यांकको सावाँको किस्ता र ब्याज बुझाउन नसकेपछि खराब कर्जा बढेर नाफा सीमित हुन पुगेको हो।
गत वर्ष वाणिज्य ब्यांकहरूले जम्मा ६४ अर्ब १५ करोड रुपैयाँ खूद नाफा कमाएका छन्।
गत वर्षको नाफाका आधारमा लगानीकर्तालाई सबैभन्दा धेरै मुनाफाका रूपमा एभरेष्ट ब्यांकले करीब २९ प्रतिशत लाभांश दिन सक्ने क्षमता छ।