लिम्बू संस्कृतिमा कछुवा
मुन्धुमको ‘अक्वामा’ कथामा कछुवाको प्रसंग पर्नुको कारण अध्ययन गर्दा लिम्बूहरू बसाइँ सरेर आउँदा प्राचीन चीनको संस्कृतिबाटै उक्त मिथ ल्याएको देखिन्छ।
लिम्बूभाषीको बोलीचालीमा ‘अक्वामा’ वा ‘अक्वानामा’ शब्द निकै प्रचलित छ। लिम्बूहरूले ‘अक्वामा पूजा’ गर्ने चलनबारे सुनेको थिएँ। तर यसबारे बुझ्ने र विस्तारमा केलाउने मेसो मिलेको थिएन। कछुवालाई लिम्बू भाषामा ‘अक्वा’ भनिंदो रहेछ। हालै डी.बी. आङ्बुङ र विष्णुदत्त आङ्बुहाङ लिखित पुस्तक लिम्बू नामकोश (२०८१) मा ‘अक्वा’ र ‘अक्वामा’ शब्द देखेपछि लिम्बू संस्कृतिमा कछुवा कसरी जोडिन पुगेको रहेछ भनेर खोतल्न मन लाग्यो। लिम्बू नामकोशमा ‘अक्वा’ को अर्थ कछुवाका साथै नागदेवता र वास्तुदेव पनि लेखिएको छ।
लिम्बूहरू कहाँबाट बसाइँ सरेर आएका हुन् भनेर इतिहास अध्ययन गर्दा चीनबाट आएको देखिन्छ। यस पंक्तिकारले लिम्बूहरू चीनको याङ्जे नदी उपत्यकातिरबाट नेपाल प्रवेश गरेका हुन् भनेर लेखहरूमा लेख्दै आएको छ।
ताप्लेजुङस्थित कुम्भकर्ण हिमाल आसपासको क्षेत्र लिम्बूको प्राचीन थलो हो। लिम्बू भाषा-संस्कृतिको शुरूआत नहुँदै उनीहरू चीनको युनान, सिचुवानमा रहेको याङ्जे नदी उपत्यकाबाट तिपतला भन्ज्याङ भएर त्यता आए। तिनको भाषा-संस्कृति त्यतै विकास भयो। कालान्तरमा उनीहरू याक्थुङ हुँदै लिम्बूका रूपमा चिनिए।
यस पंक्तिकारले लिम्बूको बसाइँसराइबारे लेखे पनि लिम्बू भाषा र मुन्धुमको जानकार भने होइन।
लिम्बू समुदायमा कछुवाको संस्कृतिबारे बुझ्न यसको जरा अर्थात् चीनमा कछुवालाई कुन रूपमा लिइँदो रहेछ भनेर हेर्नुपर्ने हुन्छ। अध्ययन गर्दा प्राचीन चीनमा कछुवालाई विशेष महत्त्व दिइँदो रहेछ भन्ने देखियो। यसबाट लिम्बूहरूले उतैबाट कछुवाको संस्कृति बोकेर ल्याए भन्न सकिन्छ।
कछुवालाई चीनमा मात्र होइन, दक्षिणपूर्वी एशियाली संस्कृतिमा पनि दीर्घायु, अमरता, स्थिरता आदि मिथकका रूपमा व्याख्या गरिएको पाइन्छ।
‘अक्वामा’ अर्थात् मूल खाँबोको पूजा
लिम्बू नामकोशमा ‘अक्वामा’ शब्दबारे थोरै जानकारी पाएपछि यसप्रति चासो बढ्यो।
पहाडमा बसोबास गर्ने र पहाडबाट भर्खरै अन्यत्र बसाइँ सरेका लिम्बूहरूले बर्सेनि ‘अक्वामा’ पूजा गर्ने रहेछन्। लिम्बू घरपरिवार थुप्रै नभएका ठाउँमा पूजा गर्न बिस्तारै छाड्दै जाँदा रहेछन्। यो कस्तो पूजा हो भनेर सोध्न मनले खाएको लिम्बू पुजारी भेटिनँ। ताप्लेजुङबाट केही वर्षअघि सुनसरीको रामधुनी नगरपालिका-७ स्थित श्री पञ्चायन माध्यमिक विद्यालयमा सरुवा भएर आएकी शिक्षिका पुष्पा वनेमसँगै जिज्ञासा राखें। उनले लिम्बू समुदायले वार्षिक रूपमा गर्ने घरको मूल खाँबोको पूजा अक्वामा हो भनिन्।
लिम्बूले घरमा कुनै कार्जे गर्न लाग्दा वा कतै टाढा जान लाग्दा आराध्यदेवी युमालाई धूपबत्ती गर्छन्। अक्वामा गर्दा पनि शुरूमा युमाको पूजा गरिने र पुजारीले सुँगुरको पाठो काटेर मूल खाँबोलाई भोग दिने पुष्पाले बताइन्।
अक्वामा गर्दा मूल खाँबोको पूजा गरिनुको अन्तर्य के रहेछ? यसबारे विस्तारमा बताइदिन मुन्धुम विज्ञ डी.बी. आङ्बुङसँग आग्रह गरें। घरको मूल खाँबो भासिन र लड्नबाट जोगाउन अनुनय गर्दै ‘अक्वामा’ पूजा गर्ने संस्कार रहेको उनले बताए। मुन्धुम अनुसार मूल खाँबोमा दैवीशक्ति हुन्छ।
लिम्बू जातिको धार्मिक ग्रन्थ याक्थुङ साम्जिक मुन्धुम (२०७९ साल) अनुसार लिम्बू समुदायको घरमा मूल खाँबोको विशेष महत्त्व हुन्छ। मूल खाँबोमा देवताको वास हुन्छ भनिन्छ, जसलाई ‘सेअक्लुङ् अक्वामा’ भनिंदो रहेछ। यसलाई वास्तुको देवता मानिन्छ। ती स्त्री देवताले घर थाम्ने र परिवारको संरक्षण गर्ने मान्यता राखिन्छ। घरका मानिसले तिनको उचित मानसम्मान नगरे रिसाएर अन्यत्र सर्ने र यसो भएमा अशुभ हुने मानिन्छ। त्यसैले घर बनाउन मूल खम्बा राखेदेखि नै उनको विशेष श्रद्धा गरिने उक्त पुस्तकमा लेखिएको छ।
एक मुन्धुम अनुसार जब लिम्बूले घर बनाउन थाले, उसै वेलादेखि मूल खाँबोलाई शक्तिको प्रतीक मान्न थालिएको थियो। त्यो खाँबो कछुवाको खपडाले भासिनबाट जोगिएको वा यस्तै दैवीशक्तिबाट अडिएको कल्पना गरिएको थियो।
अक्वाको अर्थमा भिन्न मत
लिम्बू संस्कृतिमा ‘अक्वा’ को स्थानबारे थप थाहा पाउन मुन्धुमबारे लेखिएका पुस्तकहरू पल्टाएँ। त्यस क्रममा यसबारे फरक फरक मत देखियो।
लिम्बू जातिको मुन्धुम र इतिहास (२०६९) पुस्तकमा अर्जुनबाबु माबुहाङले ‘कुल देउता/मूल खाँबाको देउता’ उपशीर्षकमा मूल खाँबोमा देवीको वास हुने लेखेका छन्। ती देवीलाई घरका संरक्षक मानिंदो रहेछ। गाउँघरमा बाढीपहिरो, भुइँचालो, वज्र (चट्याङ) रोक्न उक्त देवीको स्तुति गरिन्छ भनिएको छ।
दधिप्रसाद पंधाक लिखित थक्लो साम्माङ चोक्थिम मुन्धुम (२०७९)मा अक्वामालाई भूदेवी भनिएको छ। याक्थुङ साम्जिक मुन्धुममा ‘अक्वामा मुन्धुम’ बारे २९ वटा प्रसंग समावेश छन् (पृष्ठ ४९८–५३५)। माबुहाङ र पंधाकको पुस्तकमा कछुवाको प्रसंग भेटिएन।
मुन्धुम खासगरी ताप्लेजुङतिरबाट उद्भव भएको मानिन्छ। पाँचथर र तेह्रथुमतिरबाट पनि मुन्धुम उद्भव भएका छन्। ताप्लेजुङका पुजारीहरूले ‘अक्वा’ को अर्थमा कछुवा समावेश गरेको पाइँदैन।
ताप्लेजुङको मिक्वाखोलाका येबा (लिम्बू समुदायका एक प्रकारका पुजारी) धनराज थलङ याक्थुङ्बा केही वर्षअघि धरान बसाइँ सरेका छन्। उनले लिम्बूले विभिन्न पूजाआजामा पुजारीले अनुष्ठान गर्दा कण्ठस्थ पारेर भन्ने मुन्धुमहरू संकलन गरेर लेखेको पुस्तक सुम्सेन्बा तङ्सिङ मुन्धुम (२०८०)मा ‘सेअक्लुङ अक्वानामा’ मुन्धुम पनि समेटिएको छ। जसको मूल पाठ श्रीजंगा लिपि र देवनागरीमा लेखिएको छ र नेपाली भावानुवाद पनि राखिएको छ। तर त्यसमा कतै पनि कछुवाको प्रसंग छैन।
यी मुन्धुममा कछुवाको प्रसंग नआउनुको कारण के होला? एक त, मुन्धुमको भाव व्याख्या गर्दा फरक परेकाले प्रसंग नआएको हुन सक्छ। अर्को, उच्च भूभागमा कछुवा नपाइने भएकाले हिमाली जिल्लाका लिम्बूले यसको प्रसंग नजोडेका हुन सक्छन्। कछुवा समथर र यसभन्दा थोरै उचाइको भेगमा मात्र पाइन्छ। कछुवा नहुने ठाउँमा कछुवाको प्रसंग जोडिनुको अर्थ हो, त्यो संस्कृति त्यहाँ उद्भव भएको नभई अन्यत्रबाट ल्याइएको हो।
हिन्दू धर्ममा भगवान् विष्णुका १० अवतारमध्ये कछुवालाई दोस्रो अवतार मानिन्छ। कछुवाको अवतारबाट पृथ्वीलाई जोगाइएको कथा पढ्न पाइन्छ। यस्तै, बौद्ध धर्म अन्तर्गत जातक कथामा कछुवा सम्बद्ध अनेक सन्दर्भ छन्। त्यहाँ बुद्धले कछुवाको अवतार लिएका प्रसंग पनि छन्। तर लिम्बू हिन्दू र बौद्धमार्गी दुवै होइनन्। यसैले ‘अक्वामा’ मा कछुवाको संस्कृति बाहिरैबाट लिएर आएको हुनुपर्छ।
चिनियाँ मिथक
प्राचीन चिनियाँ संस्कृतिमा माछा, ड्रागन, कछुवा र विशाल पक्षी फेङ्हुवाङ्लाई असाध्यै मानिंदो रहेछ। फेङ्हुवाङ्लाई अंग्रेजीमा फिनिक्स भनिंदो रहेछ। ग्रीक मिथकमा फिनिक्सलाई सुन्दर अमर पक्षी मानिन्छ।
चिनियाँ कथामा कछुवाले सांस्कृतिक र प्रतीकात्मक मूल्य राख्छ। त्यहाँ यसलाई प्रायः दीर्घायु, स्थिरता र बुद्धिको प्रतीक मानिन्छ। चीनका अनुसन्धाता छाङ वे लुन एलनको अनुसन्धानात्मक लेख ‘द मेटाफिजिकल सिम्बोलिज्म अफ द चाइनिज टर्टोइज’ (सन् २०१८) मा लेखिएको छ- ‘कछुवामा रहस्यमय शक्ति वा अलौकिक शक्ति भएको विश्वास गरिन्छ, जसले मानव जीवन र ब्रह्माण्ड जोगाउन सघाउँछ’ (पृष्ठ ५)।
चीनको प्राचीन अभिलेख द बूक अफ डकुमेन्ट्समा कछुवालाई दीर्घायु र स्थिरताको प्रतीक मानिएको छ। यो पुस्तक झोउ राजवंश (ईसापूर्व १०४६–२५६) र त्यसभन्दा पहिलेका चिनियाँ शासकहरू र अधिकारीहरूले सम्बोधन गरेका कागजातको सँगालो हो। उक्त पुस्तकको सारले भन्छ- प्राचीन चीनमा कछुवाको स्थायी प्रकृतिसँग मिल्दोजुल्दो स्थिर शासन थियो।
मध्यपश्चिम र यूरोपमा भने पूर्व मानव प्रजाति होमो नियन्डरथलले कछुवा खाने गरेको क्रिस् स्केरद्वारा सम्पादित पुस्तक द ह्युमन पास्ट (सन् २०१८)मा उल्लेख छ। होमो नियन्डरथल ४० हजार वर्षअघि लोप भएको थियो।
भाषाविद् जर्ज भान ड्रिमले तेह्रथुमको फेदाप क्षेत्रमा बस्ने लिम्बूको व्याकरण र चीनको प्राचीन भाषामा व्याकरणको बनावट उस्तै रहेको र तिनीहरू अन्य भाषाका व्याकरणसँग नमिल्ने बताउँदै आएका छन्। उनको विचारमा फेदापबाट प्राचीन भाषा चीनतिर लगिएको हो। यस पंक्तिकारको बुझाइमा चाहिं लिम्बूहरू चीनमा प्रोटो तिब्बती–बर्मन भाषा शुरूआत भइरहेको वेला युनान, सिचुवान अर्थात् याङ्जे नदी उपत्यकाबाट यता आएका हुन्। सिचुवानमा बस्ने समुदाय र लिम्बूको डीएनएभित्रको संरचना मिल्नुले यो कुरा पुष्टि गर्छ।
धान खेतीको थालनी जेजसरी सिचुवानमा भएको भन्ने चिनियाँ मिथक छ, त्यस्तै मिथक लिम्बू मुन्धुममा पनि छ। उता धानको बीउ चराले जंगलबाट ल्याउँछ। धान चीनको याङ्जे नदी उपत्यकामा उत्पत्ति भएको मानिन्छ। त्यहाँ ९/१० हजार वर्षअघि धान खेती शुरू गरिएको थियो।
यता, लिम्बूको मुन्धुममा पासोमा पारेर ढुकुर मारेपछि त्यसको गाँडमा भएको धान बीउका रूपमा छरेर खेती गर्न थालिएको वृत्तान्त छ। डी.बी. आङबुङको सम्पादनमा प्रकाशित पुस्तक याक्थुङ सामजिक मुन्धुममा यो कुरा उल्लेख छ (पृष्ठ ६६४–६६७)। चिनियाँ मिथक नै लिम्बूले यता ल्याएका हुनुपर्छ।
निष्कर्षमा, ताप्लेजुङतिरका लिम्बूले मान्ने मुख्य देवता युमा हुन्। मुन्धुम अनुसार कुम्भकर्ण हिमाल क्षेत्र आसपासमा ज्ञान र सीपले भरिपूर्ण ‘युमा’ अन्त कतैबाट आएकी थिइन्। तिनैले यता ठाउँठाउँमा पुगेर पहिले आएका तिनका आफन्तजनलाई कपडा बुन्न, खेतीपाती गर्न सिकाएकी थिइन्। अतः लिम्बू नामकोशमा कछुवाको प्रसंग चीनको द बूक अफ डकुमेन्ट्स लगायत सामग्रीमा करीब उस्तै पाउनु काकताली होइन। लिम्बूको मुन्धुमलाई विवेचना गर्दा प्रागैतिहासिक कालमा चीनबाट ‘ओ-एम १३४’ ह्याप्लो ग्रूपको एक झुन्ड घुम्दैफिर्दै ताप्लेजुङतिर आइपुगेको थियो। तिनका संस्कृति र भाषा त्यहीं विकास भयो। यसैले मुन्धुमको ‘अक्वामा’ कथा र प्राचीन चिनियाँ संस्कृतिमा कछुवाको प्रसंग मिलेको हुनुपर्छ।