विश्वासको मत लिंदै कर्णालीका मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल सोमबार विश्वासको मत लिँदै छन्।
सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन्। सरकारमा सम्मिलित कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाउन पत्र आएको प्रदेश सभा सचिवालयले जनाएको छ। त्यसका लागि आज अपराह्न ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ।
केन्द्रमा सत्ता समीकरण बदलिएपछि कर्णाली सरकारमा सहभागी माओवादीले साउन ७ मा समर्थन फिर्ता लिएको थियो। मुख्यमन्त्री कँडेललाई नेपाली कांग्रेसले समर्थन गर्ने भएको छ। साउन २० मा कांग्रेसका चार मन्त्री कर्णाली सरकारमा सहभागी भएका छन्।
४० सदस्यीय प्रदेश सभामा कांग्रेसका १४, माओवादीका १३, नेकपा (एमाले)का १०, नेकपा (एकीकृत समाजवादी) तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका एक/एक र स्वतन्त्र सांसद एक जना छन्। विश्वासको मतका लागि २१ सांसदको समर्थन आवश्यक पर्छ।