रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)मा ‘ह्याबिटाट इनोभेशन कन्क्लेभ’ (वासस्थान नवप्रवर्द्धन सम्मेलन) आयोजना हुने भएको छ।
एएफयू र काठमाडौं विश्वविद्यालय (केयू)को संयुक्त आयोजनामा कन्क्लेभको तेस्रो संस्करण रामपुरमा गर्न लागिएको हो। ग्लोबल स्यानिटेशन ग्राजुएट स्कूल, केयू र अनुसन्धान तथा प्रसार निर्देशनालय, एएफयूले गर्ने कन्क्लेभमा खाद्य, सरसफाइ, वातावरणीय स्थिरता, नवीन फोहोर व्यवस्थापन जस्ता विषयमा छलफल हुनेछ।
भदौ ३१ देखि असोज १ गतेसम्म हुने कन्क्लेभमा फोहोर व्यवस्थापनलाई ऊर्जा उत्पादन, खाद्य सुरक्षा प्रवर्द्धन र वातावरण संरक्षणसँग जोडेर समाधानका प्रयास खोजी गरिनेछ। कार्यक्रमबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा पूर्व वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश साहले आवासको अधिकार कार्यान्वयनका लागि कार्यक्रम आयोजना गर्न लागिएको बताए।
पूर्व मन्त्री साहका अनुसार वर्तमान समयमा फोहोर व्यवस्थापन जटिल र प्रमुख चुनौती बनेको हुँदा भोलिको वासस्थान कस्तो हुने? शहर कस्तो बनाउने? फोहोरको स्रोत व्यवस्थापनसँगै वातावरण संरक्षणमा कसरी अघि बढ्ने? फोहोरलाई ऊर्जामा परिणत केकसरी गर्न सकिन्छ? यसमा कस्ता अभ्यास भएका छन् लगायत विषयमा छलफल गरिनेछ।
कन्क्लेभमा कार्यपत्र प्रस्तुति, प्यानल छलफल, प्राविधिक सत्र, मेयरहरूको सत्र, रोजगार मेला र भर्ना लगायत सत्र समावेश हुने एएफयूका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मीले बताए। खाद्य सुरक्षा, सरसफाइ, वातावरण व्यवस्थापनमा रहेका चुनौतीको समाधान जस्ता विषयमा हुने छलफलमा विशेषज्ञ, नीतिनिर्माता, लगानीकर्ता, सरकारी निकाय, दातृ निकाय एवं विद्यार्थी सहभागी हुनेछन्। यसले ज्ञानसँगै नवीन प्रविधिको आदानप्रदान हुने उपकुलपति रेग्मीको भनाइ छ।
फोहोरको व्यवस्थापनका लागि युवालाई उद्यमशील बनाउने र आर्थिक उपार्जनसँग जोड्नका लागि नेदरल्यान्ड्सको ग्लोबल स्यानिटेशन ग्राजुयट स्कूल (जीएसजीएस) विगत चार वर्षदेखि नेपालमा सञ्चालन भइरहेको छ। यस अन्तर्गत त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालयसँगै काठमाडौं विश्वविद्यालयमा अहिले ५० जना विद्यार्थी स्नातकोत्तर तहमा अध्ययनरत रहेको काठमाडौं विश्वविद्यालयका प्रा.डा. भीमप्रसाद श्रेष्ठले बताए।
फोहोर व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्न सञ्चालन भएको यस स्कूल अन्तर्गत देशका विभिन्न स्थानीय तहसँग मिलेर कर्मचारीलाई तीनमहीने कोर्स पढाउने तयारी गरिएको उनले बताए।
एएफयूका अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक डा. ऋषिराम कट्टेलले फोहोर व्यवस्थापन कार्यलाई व्यवस्थित गराउन युवालाई प्रविधि सहितको उद्यमशीलतातर्फ अग्रसर गराउनु आवश्यक रहेको बताए। अनुसन्धान र प्रसारलाई अघि बढाउने सन्दर्भमा कन्क्लेभ प्रभावकारी हुने कट्टेलको भनाइ थियो।
त्यस्तै, एएफयूकी रजिस्ट्रार प्रा.डा. शारदा थपलियाले देशभित्रकै अर्को विश्वविद्यालयसँग सहकार्य गरेर कार्यक्रम आयोजना गर्नु महत्त्वपूर्ण कार्य भएको बताइन्। विश्वविद्यालयबीच शैक्षिक तथा अनुसन्धानका विषयमा समेत सँगसँगै अघि बढ्ने गरी यस्ता कार्य निरन्तर सञ्चालन हुनु आवश्यक रहेको थपलियाको भनाइ थियो।
फोहोर व्यवस्थापनको चुनौती पहिचान र समाधान, विद्यार्थीलाई सशक्त बनाउने, सरसफाइ अभ्यास सुधार र प्रवर्द्धन गराउने उद्देश्य राखिएको कन्क्लेभमा एएफयू घोषणापत्र जारी गरिनेछ।