कांग्रेसका शाह सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त
नेपाली कांग्रेसका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
प्रदेश प्रमुख नजिर मियाँले आइतबार शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम शाहलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
यस उपधारामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त हुने व्यवस्था छ। यसअघि यही उपधारा अनुसार नियुक्त भएका नेकपा (एकीकृत समाजवादी)का नेता दीर्घ सोडारीले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए।
कांग्रेसका शाहलाई नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले समर्थन गरेको छ। केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि सुदूरपश्चिममा एमालेको समर्थनमा कांग्रेसले सरकारको नेतृत्व लिएको हो।
उनी दोस्रो पटक मुख्यमन्त्री बनेका हुन्। यसअघि माओवादी र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा १४ महीना मुख्यमन्त्री भएका थिए।