गण्डकी विश्वविद्यालयमा डीन नियुक्ति विरुद्ध रिट
गण्डकी विश्वविद्यालयमा डीनको नियुक्ति विरुद्ध उच्च अदालत, पोखरामा रिट परेको छ।
अधिवक्ताद्वय मनोज घर्ती मगर र विमलप्रसाद लामिछानेले आइतबार उच्च अदालतमा रिट दिएका हुन्। उनीहरूले दिएको रिट दर्ता भएको छ भने यसमा सोमबार पेशी तोकिएको छ।
गण्डकी विश्वविद्यालयमा सूचना प्रविधि, व्यवस्थापन, खेलकूद व्यवस्थापन, फर्मास्यूटिकल र कानून विषयक कार्यक्रम सञ्चालनमा छन्। विश्वविद्यालयको ऐन, २०७६ को दफा २९ को उपदफा १ मा हरेक संकाय प्रमुखका रूपमा कार्य गर्न प्रत्येक संकायमा एक जना डीन हुने व्यवस्था छ।
तर विश्वविद्यालयले सबै कार्यक्रमलाई विज्ञान तथा प्रविधि संकाय मातहत राखेर डा. कपिल अधिकारीलाई डीन बनाएको थियो। त्यस विरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो। त्यसलाई छल्न अहिले कानून विपरीत अधिकारीलाई कानून तथा व्यवस्थापन संकायको डीन नियुक्तिका लागि सूचना जारी गरिएको भन्दै उच्च अदालतमा रिट परेको हो।
रिटमा डीन नियुक्त सम्बन्धी सम्पूर्ण कामकारबाही, प्रक्रिया तत्काल यथास्थितिमा राखी अघि नबढ्नू/नबढाउनू, दुवै संकायमा एकै व्यक्ति डीन नियुक्त नगर्नू/नगराउनू भनी विपक्षीका नाममा अन्तरिम आदेश माग गरिएको छ।
रिटमा विश्वविद्यालयको कार्यकारी परिषद् एवं कुलपति गणेशमान गुरुङ, डीन नियुक्तिका लागि गठित सिफारिश समिति, गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई विपक्षी बनाइएको छ।