कांग्रेस पनि कर्णाली सरकारमा, चार मन्त्रीले लिए शपथ
नेपाली कांग्रेस पनि कर्णाली प्रदेश सरकारमा सहभागी भएको छ।
प्रदेश सरकारमा कांग्रेसबाट चार जना मन्त्री बनेका छन्। उनीहरूलाई आइतबार प्रदेश प्रमुख यज्ञराज जोशीले पद तथा गोपनीयताको शपथ खुवाएका छन्।
घनश्याम भण्डारी सामाजिक विकासमन्त्री, राजीवविक्रम शाह आर्थिक मामिला तथा योजनामन्त्री, सुरेश अधिकारी उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री र विजया बुढा जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेका छन्।
चार मन्त्री थपिएसँगै सरकारले पूर्णता पाएको छ। केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि नेकपा (माओवादी केन्द्र)बाट सरकारमा सहभागी चार मन्त्रीले राजीनामा दिएका थिए।
नेकपा (एमाले)का नेता यामलाल कँडेल सरकारको नेतृत्व गरिरहेका छन्। मुख्यमन्त्री कँडेलको नेतृत्वमा एमालेबाट यसअघि नै शेरबहादुर बुढा भौतिक पूर्वाधारमन्त्री, विनोद शाह कृषिमन्त्री र गमाता विक कृषि राज्यमन्त्री छन्।