एनआईएमबी एस क्यापिटल १३औं वर्षमा
एनआईएमबी एस क्यापिटल लिमिटेडले मर्चेन्ट ब्यांकिङ तथा इन्भेस्टमेन्ट ब्यांकिङ क्षेत्रमा सेवा प्रदान गरेको १२ वर्ष पूरा भएको छ।
नेपाल इन्भेस्टमेन्ट मेगा ब्यांंक लिमिटेडको पूर्ण स्वामित्व रहेको यस कम्पनीले धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त मर्चेन्ट ब्यांकरका रूपमा आईपीओ जारी तथा बिक्री व्यवस्थापन, शेयर रजिस्ट्रार, डिम्याट सेवा, प्रत्याभूति सेवा र लगानी व्यवस्थापन सेवा जस्ता सुविधा प्रदान गर्दै आएको छ। एनआईएमबी एस क्यापिटलले सन् २०१४ मा नेपालको पहिलो म्युचुअल फन्ड योजना र २०१९ मा पहिलो खुला रूपी म्युचुअल फन्ड लन्च गरेको थियो।
प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले यो टीम उपलब्धि भएको स्मरण गर्दै भविष्यमा पनि लगानीकर्ता तथा ग्राहकको लगानीमा उच्चतम आम्दानी प्रदान गर्ने प्रतिबद्धता गरे। त्यस्तै, कार्यक्रममा कम्पनीका अध्यक्ष सचिन तिब्रेवाल, धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र पूर्व मुख्यसचिव विमला कोइरालाले बोलेका थिए।
हाल एनआईएमबी एस क्यापिटलले १० अर्बभन्दा बढी मूल्यांकन भएका पाँच वटा म्युचुअल फन्डको व्यवस्थापन र लगानी व्यवस्थापन सेवा अन्तर्गत लगानीकर्ताको ६ अर्बभन्दा बढी रकमको लगानी व्यवस्थापन गर्दै आएको छ।
कम्पनीले पाँच लाखभन्दा बढी डिम्याट खाता व्यवस्थापन गरिरहेको छ। त्यस्तै, २०० भन्दा बढी आईपीओ/एफपीओ जारी गरेको छ।