नेपाली संगीतको डिजिटल भण्डारण अभियान
नेपालका सबै किसिमका संगीतको अभिलेख एकै ठाउँमा भेटिंदैन। नेपाल म्युजिक अर्काइभ (एनएमए) यो कमीलाई पूरा गर्न कस्सिएको छ।
काठमाडौंको भोटाहिटीस्थित रिजु तुलाधरको घरको पाँचौं तलामा केही युवा हेडफोन लगाएर गीत सुन्दै त्यसबारे संकलित जानकारी टाइप गर्न तल्लीन देखिन्छन्। नेपालभरका मौलिक गीतसंगीतको अभिलेख एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यमा केन्द्रित नेपाल म्युजिक अर्काइभ (एनएमए)को कार्यालय हो यो।
‘इकोज् इन द भ्याली’ शीर्षकमा बर्सेनि संगीत उत्सव आयोजना गर्दै आएको उत्साही युवा समूहको संलग्नतामा एनएमएले गति लिएको छ। एनएमएका संस्थापक भने भूषण शिल्पकार हुन्। उनले अंग्रेजी साप्ताहिक नेपाली टाइम्सको अर्काइभिङ र नेपाल पिक्चर लाइब्रेरी स्थापना गर्दाको अनुभवबाट सिकेर एनएमए खोलेका हुन्।
भूषणका अनुसार ‘इकोज् इन द भ्याली’ अन्तर्गत सन् २०१९ मा आयोजित विद्यालय र विश्वविद्यालयमा संगीत पाठ्यक्रम सम्बन्धी सम्मेलनमा मौलिक नेपाली गीतसंगीतबारे जानकारी दिन सक्ने निकायको विषय पनि उठ्यो। “त्यसैको परिणति हो, एनएमए,” उनी भन्छन्, “स्रोतसाधन जुटाएर यो काम थाल्न हामीलाई दुई वर्ष लाग्यो।”
त्यस क्रममा उनीहरूले पद्मकन्या लगायत कलेजका संगीत पाठ्यक्रमका साथै देशी-विदेशी अनुसन्धाताले गरेका नेपालका संगीत सम्बन्धी अनुसन्धानहरूको संकलन-अध्ययन गरे। यी काम गट इन्स्टिच्यूटको अनुदानबाट सहज भएको भूषण बताउँछन्। परियोजना शुरू गरेपछिको अनुभव सुनाउँदै उनी भन्छन्, “सानो पोखरीमा पस्दै छौं भन्ठानेका हामी त महासागरमा हेलिएका पो रहेछौं। यो काम हामीले सोचेभन्दा निकै कठिन पायौं।”
भूषणका अनुसार अर्काइभिङ एकदमै उच्चाटलाग्दो काम हो, जहाँ पुरानो प्रविधिमा राखिएका गीतलाई रियल टाइममा रेकर्ड गर्नुपर्छ। जस्तो- एउटा क्यासेटमा साइड ए र बी हुन्छन्, कुल ६० मिनेटको। दुवै साइडमा चार/पाँच वटा ट्र्याक हुन्छन्, ती सब ध्यानपूर्वक सुन्नुपर्छ।
त्यसलाई डिजिटाइज गरेर मात्र पुग्दैन, क्यासेटको खोलमा लेखेको जानकारी सहित हर ट्र्याकको प्रविष्टि गर्नुपर्छ। ६० मिनेटको एउटा क्यासेटको अभिलेख राख्न कम्तीमा १२० मिनेट लाग्ने भूषण बताउँछन्।
निजी संकलनबाट प्राप्त पुराना क्यासेट, सीडी, टेप, भाइनिल, आदिमा रहेका नेपालका संगीत, त्यस सम्बन्धी तस्वीर र प्रकाशनलाई यसरी डिजिटाइज गर्ने क्रममा उनीहरूले दिनदिनै नयाँ कुरा पनि सिकिरहेका छन्।
मेटाडेटाका जानकारीहरू अंग्रेजीमा लेखिरहेका उनीहरूलाई चार हजार प्रविष्टि गरिसकेपछि लाग्यो- नेपाली गीतसंगीतको अर्काइभको जानकारी त नेपाली भाषामा पनि हुनुपर्छ। त्यसपछि नेपाली पनि थप्दा डेटाबेस दुई गुणा उपयोगी भएको भूषण बताउँछन्। काम गर्दागर्दै आर्किभिस्ट हुन पुगेका आफूहरू यसरी काम गर्दै सिक्दै, सिक्दै काम गरिरहेका छन्।
अर्को उदाहरण- दुई हजार फाइल नेम राखिसकेपछि त्यो प्रणाली नै नमिलेको लागेर उनीहरूले त्यो काम फेरि शुरूबाटै गरे। “यो अर्काइभ सार्वजनिक भएपछि पनि गल्तीहरू भेटिन सक्छन्, तर हामीलाई के कुरामा खुशी लाग्छ भने, दुई वर्ष अघिसम्म नेपालमा यस्तो केही थिएन,” भूषण भन्छन्, “अहिले कम्तीमा यो अर्काइभ छ, यसमा थप काम गर्न सक्छौं। भेटिएका गल्ती सुधार्न सक्छौं।”
हालसम्म एनएमएले चार हजार ३८५ घण्टा अडिओ, ५० घण्टा भिडिओ, नौ हजार तस्वीर, दुई हजार ३३ एल्बम कभर र दुई हजार ८२० प्रकाशन र काठमाडौं उपत्यकाका नौ पुस्तकालयमा भएका संगीत विधाका दुई हजार ८२० पुस्तकको सूची डिजिटाइज गरेको छ।
चम्पा राणा : एक गुमनाम प्रतिभा
दरबारिया संगीतमा आधारित सिरिज हीरामन्डीको चर्चा चुलिइरहेको वेला नेपालको त्यस्तै संगीतको इतिहास भने गुमनाम छ। कुनै वेला नेपालका दरबारहरूमा पनि यस्तै शास्त्रीय संगीतको माहोल हुन्थ्यो, नेपालका मेल्वादेवी, यज्ञराज शर्मा जस्ता कलाकार दक्षिणएशियाकै उत्कृष्टमध्ये गनिन्थे।
त्यो समयको सम्झना राख्ने एकाध मानिस अझै बाँकी छन् नेपालमा। तीमध्ये कतिले त शास्त्रीय संगीतको विरासत पनि बोकेका छन्। तिनैमध्येकी एक हुन्, ८१ वर्षीया चम्पा राणा।
उमेरजन्य कारणले स्मृतिक्षयमा रहेकी उनले धेरै कुरा बिर्सिसकेकी छन्। पुराना शास्त्रीय गीत विरलै गुनगुनाउँछिन्, तानपुरा बजाउनु पनि विरल बनेको छ। उनको जीवनकथा छोरी गीता राणाबाट सुन्नुपर्ने भएको छ।
गीताका अनुसार चम्पाको जन्म २००० सालमा हाँडीगाउँको पाण्डे परिवारमा भएको थियो। पाँच वर्षकी छुनुमुने उमेरमा उनलाई एक दिन देवेन्द्रशमशेर राणाकी आमा शरमादेवीले देखिन्, मन पराइन् र सेतो दरबार लिएर गइन्।
त्यसरी दरबार पुगेकी चम्पा अब शरमादेवीको छत्रछायामा हुर्किन थालिन्। उनको प्रमुख काम थियो- शरमादेवीको हुक्कामा तमाखु भर्ने। बाँकी समय दरबारभित्रै गीतसंगीतको तालीम लिने।
देवेन्द्रशमशेर स्वयम् गीतसंगीतका पारखी थिए। उनी भायलिन, गितार र सरोद बजाउँथे। वैज्ञानिक भनेर चिनिएका गेहेन्द्रशमशेरका नाति उनी पनि आविष्कारक थिए। उनले एउटा ‘भोइस टेस्ट मशिन’ आविष्कार गरेका थिए, जसमा चम्पाको सधैं सुर लाग्थ्यो। पछि देवेन्द्रशमशेरले चम्फासँग बिहे गरे।
चम्पाले विवाहपछि पनि शास्त्रीय कलाकर्मलाई निरन्तरता दिइन्। आफू थाहा पाउने उमेरमा पुगेदेखि नै आमाले अटुट रियाज गरेको सम्झना आउने छोरी गीता बताउँछिन्। “मुवा बिहान तीनै बजे उठेर रियाज गर्नुहुन्थ्यो, हामीलाई भने उहाँले त्यसरी स्वर तानेको मन पर्दैनथ्यो,” उनी सम्झन्छिन्।
उनका अनुसार रंगराव कादम्बरी (गायन), शम्भुप्रसाद मिश्र (तबला), शाम्बदेव सापकोटा (हार्मोनियम), यज्ञराज शर्मा (गायन) लगायत त्यो समयका शास्त्रीय संगीतका हस्तीहरू घरमै आएर चम्पालाई सिकाउँथे।
गीताले नाम लिएका सबै राजदरबारमा गाना-बजाना गर्ने दक्षिणएशियाली स्तरका कलाकार थिए। नेपालका संगीत साधक पुस्तकमा शाम्बदेव सापकोटाबारे रामशरण दर्नाल लेख्छन्- नेपालका हार्मोनियम वादकमध्ये शास्त्रीय संगीतमा हार्मोनियम वादन गर्ने शाम्बदेवको शीर्षस्थ स्थान छ।
शम्भुप्रसाद मिश्रबारे दर्नाल लेख्छन्- शम्भुप्रसादको विशेषता बोलतानमा रहेको छ। उहाँको यो विशेषतालाई अहिलेसम्म कसैले उछिन्न सकेको छैन। त्यस्तै, संगीत शिरोमणिको उपमा पाएका यज्ञराज शर्माबारे उनी लेख्छन्- नेपाली संगीतलाई उच्चस्तरमा पुर्याउन, यसलाई सिंगारपटार पार्नमा पं. यज्ञराजज्यूको ठूलो योगदान छ।
रंगराव कादम्बरीबारे रामशरण दर्नाल लेख्छन्- निजी तवरले पनि उहाँले धेरै शिष्य तयार गर्नुभएको छ। यस्ता चेलीहरूमध्ये हामी श्रीमती चम्पा राणाको नाम लिन सक्छौं। श्रीमती राणाले सार्वजनिक रूपमा संगीत प्रस्तुत गर्नुभएको छैन। तर सांगीतिक क्षेत्रमा उहाँको नाम र विशेषताबारे सबैलाई जानकारी रहेको छ।
गीता राणाका अनुसार रंगराव कादम्बरी बिहान १० बजे शिष्या चम्पाको निवास पुग्थे। उनले चम्पालाई संगीत सिकाए बापत कहिल्यै पैसा लिएनन्। शास्त्रीय गायनमा धेरै प्रतिभाशाली भएकाले नि:शुल्क सिकाएको उनी बताउँथे।
शम्भुप्रसाद मिश्र, शाम्बदेव सापकोटा, यज्ञराज शर्माहरू दिउँसो आउँथे। “म स्कूलबाट आउँदा उहाँहरूको महफिल जमेको हुन्थ्यो,” गीता सम्झन्छिन्, “साँधेको पिरो आलु र चिउरा खाँदै उहाँहरू गाउनुहुन्थ्यो।”
रामशरण दर्नालले संगीत साधक तथा भोइस टेस्ट मशिनका आविष्कारक देवेन्द्रशमशेरले ‘श्रीमती चम्पा राणालाई शास्त्रीय गायनमा पोख्त बनाएको’ उल्लेख गरेका छन्।
यसरी विलक्षण प्रतिभाको विकास गरेकी चम्पाले आफ्ना प्रशिक्षक पति जति ख्याति भने कमाउन सकिनन्। कारण, त्यो जमानामा सार्वजनिक गायनलाई ‘तवायफ’ को पेशासँग जोडेर हेरिन्थ्यो, जुन सम्मानजनक थिएन। त्यस्तो माहोलमा देवेन्द्रशमशेर राणाले आफ्नी श्रीमतीलाई सार्वजनिक रूपमा गाउने अनुमति दिएनन्। “गीत सुन्न मन लागेपछि बुबा घरमै फर्माइस गर्नुहुन्थ्यो, आमा गाउनुहुन्थ्यो। कहिले साँझ परेपछि ड्रिंक लिंदै ‘ल गाऊ’ भन्नुहुन्थ्यो,” गीता सम्झिन्छिन्।
चम्पाले घर बाहिर गाउने जमर्को नगरेकी होइनन्, तर त्यो कहिल्यै सार्थक भएन। पाकिस्तानबाट नजाकत अली र शफाकत अली नेपाल आउँदा चम्पा पनि उनीहरूसँग प्रस्तुत भएर प्रशंसा बटुलिन्। उनको एकल प्रस्तुति होस् भन्ने दबाब पनि आयो, तर कार्यक्रम अघि बढेन।
चम्पाको शास्त्रीय गायनका प्रशंसकमध्येका एक थिए, राजा महेन्द्र। उनलाई खासखास अवसरमा गाउन राजदरबार बोलाइन्थ्यो। राजा महेन्द्रले मुवालाई ‘एकेडेमीमा जागीर खाऊ, शास्त्रीय संगीत सिकाऊ’ भनेको तर बुवाले नदिएको छोरी गीता बताउँछिन्।
“नारायणगोपालले पनि मुवालाई युगल गाउनका लागि आग्रह गर्नुभयो, तर बुवाले मान्नुभएन,” उनी भन्छिन्, “एक चोटि पटनामा साथीहरूमाझ मुवाले गाएपछि एकजनाले त्यतात्यतै बम्बई गएर गीत रेकर्ड गर्ने बन्दोबस्त मिलाएछन्। त्यस वेला पनि बुबाले नमानेपछि मुवाले झगडा नै गर्नुभएको थियो।”
त्यस वेलाको समाज नै त्यस्तै थियो। महिलालाई घर बाहिर गएर गाउन त के, जागीर खान समेत जान दिने वातावरण थिएन। चम्पाले घरमै रियाज गर्ने क्रममा दुई वटा स्पुल टेप रेकर्ड भने गरेकी रहिछन्, जुन सुरक्षित पनि छन्।
२०७८ मा एनएमएका भूषण शिल्पकारले चम्पाकी नातिनी कामना गुरुङबाट यसबारे थाहा पाएर त्यस्तो टेप डिजिटाइज गर्ने उपकरण नभए पनि ‘हामी गर्छौं’ भन्दै लिएर आए। ती स्पुल टेप लिएर एनएमएको टोली नेपालका पुराना साउन्ड इन्जिनीयर प्रदीप उपाध्यायकहाँ पुग्यो। “हामीले भेट्दा उहाँ ७० वर्ष काटिसकेका र पार्किन्सनको बिरामी पनि हुनुहुन्थ्यो। त्यही वेला उहाँलाई कोरोना पनि लाग्यो र पनि उहाँ त्यो काममा सधैं उत्साहित हुनुहुन्थ्यो,” भूषण भन्छन्।
उपाध्यायले ती पुराना स्पुल टेप ओसिएका पाएर पहिला घाममा सुकाए अनि दुई महीना लगाएर एउटालाई डिजिटाइज गरिदिए। तर चार वटा ट्र्याकवाला अर्को टेप बजाउने उपकरण उनीसँग पनि रहेनछ, एनएमएकै एक जना दिल्ली गएर डिजिटाइज गरेर ल्याइन्। एनएमएबाट ती टेपका डिजिटल फाइल पाएपछि कामनाले हजुरआमा र आमालाई राखेर गीत सुनाइन्। परिवारका लागि त्यो क्षण निकै भावुक रह्यो।
“हजुरआमा बिरामी हुनुअघि विगतको रमाइलो समयबारे हामीलाई बताइरहनुहुन्थ्यो। त्यो गीतले उहाँका ती दिन सम्झाउनेवाला थियो,” कामना भन्छिन्, “उहाँको प्रतिक्रिया कस्तो होला भनेर म काँपिरहेकी थिएँ। नभन्दै उहाँले ध्यान दिएर आफ्नै स्वरको शास्त्रीय गीत सुन्दै बिस्तारै गाउनु पनि भयो। उहाँको मुहार उज्यालो भएको थियो।”
शास्त्रीय गायिकाका रूपमा चिनिन जीवनभर संघर्ष गरेकी आफ्नी हजुरआमाको मीठो स्वरलाई संरक्षण गरेकोमा कामनाले एनएमएप्रति कृतज्ञता जनाइन्। एनएमएको वेबसाइटमा चम्पाको त्यो गायनसँगै नेपाली शास्त्रीय संगीतको एउटा युगको दुर्लभ अभिलेख सुरक्षित भएको छ।
रेडियो नेपालका साढे ५२ हजार सामग्री
नेपालमा भएका श्रव्य सामग्री र विभिन्न जातजातिका परम्परागत संगीतको अभिलेख गर्ने काममा सरकारी निकायहरू व्यवस्थित तरीकाले नलागेको देखिन्छ। व्यक्तिगत संकलनमा यस्ता थुप्रै सामग्री भेटिन्छन्, जुन आजकाल यूट्यूब वा फेसबूक जस्ता सञ्जालमा छरिन थालेका छन्।
‘लोकवार्ता’ जस्ता केही संस्थाले यस्ता संगीतमाथि अध्ययन तथा अनुसन्धान गरेका छन्। लोकवार्ताले केही सीडी पनि बनाएको छ, तर सार्वजनिक रूपमा उपलब्ध छैन।
सांस्कृतिक संस्थान र नेपाल प्रज्ञा-प्रतिष्ठानमा केही पुराना सामग्री रहेको बताइन्छ, तर सार्वजनिक गरिएका छैनन्। नेपाल संगीत तथा नाट्य प्रतिष्ठानले पनि यस्तो अभिलेखीकरणको काम गरेको छैन। पछिल्लो समय केही श्रष्टाका जीवनीमूलक वृत्तचित्र बनाएको तर अभिलेखीकरणमा लाग्न बाँकी रहेको प्रतिष्ठानका प्रवक्ता ध्रुव वाग्ले बताउँछन्।
रेडियो नेपालमा भने नेपाली संगीत र श्रव्य सामग्रीको सबभन्दा ठूलो संकलन छ। रेडियो नेपालमा आफ्नै कार्यक्रमका रेकर्डिङ, भाइनिल डिस्क, ओपन रील टेप, क्यासेट, स्पुल टेप लगायत ५२ हजार ५२१ वटा श्रव्य सामग्रीलाई डिजिटाइज गरिएको छ।
रेडियो नेपालको एप मार्फत यीमध्ये एक हजार ९२० वटा सार्वजनिक भइसकेका छन्। २६ हजारभन्दा बढी सामग्री डिजिटाइज हुन बाँकी रहेको रेडियो नेपालका प्रवक्ता पुष्कर गौतम बताउँछन्। “सञ्चार मन्त्रालयको सानो अनुदानमा यो सब काम गरिरहेका छौं,” कामको अनुपातमा स्रोतसाधन र जनशक्ति कम रहेको बताउँदै उनी भन्छन्, “त्यसैले यो काम निकै वर्ष जारी रहन्छ।”
गौतमका अनुसार रेडियो नेपालमा नौ हजार ५४५ आधुनिक गीत, सात हजार ४६६ लोकगीत, एक हजार ८४१ राष्ट्रिय गीत, एक हजार ३४९ राष्ट्रभाषाका गीत, एक हजार २६५ नाटक, १४९ भाषण/सम्बोधन, दुई हजार ८०३ भजन र २१ हजार ९४० वटा विविध श्रव्य सामग्री छन्। यीमध्ये कतिपय सामग्री दुर्लभ छन्।
नेपालमा गीत रेकर्ड गर्ने पहिलो पुस्ताका सेतुराम, मेल्वादेवी, बालाप्रसाद, उस्ताद गणेशलाल, उस्ताद साहिंला, उस्ताद बद्री, यज्ञराज शर्मा, हिनादेवी, पञ्चबाला दासी, उजेली मैया, रत्नदास प्रकाश लगायत कलाकारका गीतहरू रेडियो नेपालमा छन्।
नेपाली संगीत र लोकसाहित्य अध्ययनका लागि अमूल्य खजानाका रूपमा रहेका यी सामग्रीमध्ये कतिपय अन्यत्र कतै छैनन्। यी सबै सामग्री सार्वजनिक नभए पनि अहिल्यै निवेदन दिएर यी गीत सुन्न वा अध्ययन गर्न सकिन्छ।
बेक संकलन
नेपाली संगीतको हालसम्मको सबैभन्दा ठूलो संकलनमध्ये एक टेरेन्स बेकले गरेका थिए। पहिले उनले पिस कोर स्वयंसेवकका रूपमा नेपालमा सन् १९६४ देखि १९६७ सम्म काम गरेका थिए।
पछि उनले नेपालको पहिलो एथ्नोम्युजिकोलोजिकल सर्वेक्षण (१९६७-१९६९) पनि गरे। त्यसपछि १९७० देखि तीन वर्ष लगाएर नेपाली संगीतकारहरूमाथि एथ्नोग्राफिक अध्ययन पनि गरे। त्यस क्रममा १५ हजार किलोमिटर पैदल यात्रा गरेर नेवादेखि तिब्बतीसम्म, राउटेदेखि जुम्लीसम्म थुप्रै संगीतको अभिलेख गरे।
सन् १९७८ मा एन हेलेन रसले सम्पादन गरेको क्याटलग (सामग्री सूची)मा बेकले भने अनुसार यसमा ४०० रील टु रील टेप, दुई हजारभन्दा बढी श्यामश्वेत नेगेटिभ, एक हजार ५०० कलर ट्रान्स्परेन्सिज, १२० बाजा, ४१ जीवनी, सात हजार ५०० गीतका शब्द र २०० वटा संगीतका ट्रान्स्क्रिप्ट छन्।
परम्परागत नेपाली संगीतको अध्ययनका लागि प्रमुख स्रोत बन्ने सम्भावना रहेको यो संकलन उनले संयुक्त राज्य अमेरिकाको इन्डियाना युनिभर्सिटीलाई हस्तान्तरण गरे। हाल यो संकलन ब्लुमिङ्टनस्थित इन्डियाना युनिभर्सिटीको गेल कुक म्युजिक लाइब्रेरीभित्र अर्काइभ्स अफ ट्रेडिशनल म्युजिक (एटीएम)मा छ।
अमेरिकी विश्वविद्यालयका सबैभन्दा ठूलो श्रव्य अर्काइभमध्येको एटीएममा चार हजार फिल्ड संकलन सहित एक लाख २० हजारभन्दा बढी रेकर्डिङ छन्।
इन्डियाना विश्वविद्यालयमा एथ्नोम्युजिकोलोजी, स्नातकोत्तर तहका विद्यार्थी सुयश नेउपाने पछिल्लो समय बेक संकलनमा काम गरिरहेकामध्ये एक हुन्। नेपालको मदन पुरस्कार पुस्तकालय (मपुपु)मा बेकको संकलन हेरेका उनले त्यसपछि सन् २०१८ यता इन्डियाना विश्वविद्यालयमा बेक संकलनमा काम गरिरहेका छन्।
नेपाली गीतसंगीतको इतिहासमा टेरेन्स बेकको संकलन विशिष्ट रहेको उनको बुझाइ छ। उनका अनुसार नेपाली संगीतको अभिलेखीकरणका पश्चिमा अगुवा आर्नोल्ड बेक (१९३१) र मार्गरिट लब्साइगर-डेलेनबाख (१९५२) हुन्, तर टेरेन्स बेकको काम बढी विस्तृत छ।
“टेरेन्सको नेपाली एथ्नोग्राफिक विवरण निकै मिहिन र विस्तृत छ,” नेउपाने भन्छन्, “रेकर्डिङसँगै तस्वीर, म्याप र अरू दस्तावेज पनि समेटिएको बेक संकलन तत्कालीन नेपालको एथ्नोग्राफिक ऐना हो।”
बेकपछिको समयमा एथ्नोम्युजिकोलोजी क्षेत्र पनि निकै परिवर्तन भइसकेको छ। गोरा छाला भएकाले अश्वेतहरूको संस्कृतिको अभिलेख गर्दा सन्दर्भ, शक्तिसम्बन्ध र विशेषाधिकारका प्रश्नहरू उठ्न थालेका छन्। “बेक संकलनको सन्दर्भ ध्यानमा राख्नुपर्ने कुरा के छ भने एक अमेरिकी पुरुषले नेपालमा लामो पैदल यात्रा गरेर स्थानीय समुदायसँग अन्तरक्रिया गर्दाको समयमा शक्तिसम्बन्ध, विशषाधिकार र असमानताको अवस्था कस्तो थियो भन्नेमा पनि विचार पुर्याउनुपर्ने हुन्छ,” नेउपाने भन्छन्।
उनका अनुसार बेकको संकलनलाई जातजाति, भाषा, भूगोल, बाजा, आदिको आधारमा वर्गीकरण गर्न सकिन्छ। त्यो काम पञ्चायतकालमा गरिएको हुनाले राजनीतिक प्रभावको प्रश्न पनि उठ्छ। “राष्ट्रिय एकताका नाममा देशको नीतिले विविध समुदायका सामाजिक-सांस्कृतिक अभ्यासमाथि विभेद गर्दै निश्चित समुदायलाई प्राथमिकता दिएको समय थियो त्यो,” नेउपाने भन्छन्, “त्यस वेला विदेशी बेकले नेपालभर कसरी आवतजावत गरे होलान् भन्ने अनुमतिको सवाल पनि उठ्छ।”
यस्ता प्रश्नको जवाफ खोज्न सबै संकलनको तुलनात्मक समीक्षा पनि हुनुपर्ने नेउपानेको भनाइ छ। बेक संकलन सार्वजनिक रूपमा उपलब्ध छैन, तर सन् २०११ मा यसको एक प्रति अभिलेखीकरणमा काम गर्ने नेपाली संस्था मपुपुलाई दिइएको छ, जुन निःशुल्क सुन्न सकिन्छ।
गर्ट वेग्नरले मलाई यी चिज नेपालका हुन्, नेपाल लैजाऊ भन्नुभयो : भूषण शिल्पकार
सन् २००५ मा कुटुम्ब ब्यान्डमा काम गर्दा ताका नै मैले जर्मन संगीतविज्ञ प्रा. डा. गर्ट वेग्नरबारे धेरै सुनेको थिएँ। त्यसको १८ वर्षपछि २०२३ मा उहाँलाई काठमाडौंमा भेटें। कुराकानीको क्रममा मैले सोधें, “तपाईंले नेपालमा ३० वर्षभन्दा बढी काम गरेर संकलन गरेको सामग्री कहाँ छ?”
मलाई भक्तपुरमा होला भन्ने लागेको थियो, तर उहाँले सबथोक जर्मनीमा छ भन्नुभयो। ठट्टा गरेर मैले भनें, “त्यसो भए म तपाईंलाई भेट्न जर्मनी नै आउँछु।”
गत वर्ष अर्कै काममा जर्मनी पुगेको वेला मैले उहाँलाई इमेल गरें। उहाँले तुरुन्त उत्तर लेखेर घरमै बोलाउनुभयो। दुई वटा ट्रेन र बस बदलेर ६ घण्टामा निर्धारित ठाउँमा पुग्दा उहाँ आधा घण्टा ड्राइभ गरेर मलाई पर्खिरहनुभएको पाएँ। आफ्नो घरमा तीन दिन राखेर सारा बेलिबिस्तार लगाइसकेपछि वेग्नरले मलाई भन्नुभयो, “यी चिज नेपालका हुन्, नेपाल लैजाऊ।”
फोटोग्राफ, क्यासेट, स्लाइड, दस्तावेज गरेर ६ देखि आठ सुटकेस जति सामान छ, कसरी ल्याउने नेपाल? क्राउडसोर्स फन्डिङ गरेर गत सेप्टेम्बरमा तीमध्ये दुई सुटकेस सामान नेपाल ल्याएँ। बाँकी संकलन पनि नेपाल ल्याउन अझै फन्डरेजिङ गरिरहेका छौं।
अहिले हामीसँग वेग्नरका नौ हजार जति श्यामश्वेत तस्वीर, क्यासेट र फिल्ड नोटहरू छन्, जुन नेपाली संगीतका अमूल्य अभिलेख हुन्। यो संकलनमा भक्तपुरको हरेक जात्राको अभिलेखीकरणका साथै नेपालका परम्परागत, जातीय र संस्कार संगीतका दुर्लभ रेकर्डिङ छन्।
अध्ययनका क्रममा अडिओ रेकर्डसँगै तस्वीर र भिडिओ खिच्नुहुन्थ्यो, वेग्नर। त्यसमाथि सबै थोकबारे अलग अलग टिप्पणी लेख्नुहुन्थ्यो। उहाँको नोटमा त्यस बेला कसले कुन बाजा बजाइरहेको थियो भन्नेसम्मको जानकारी छ। यी सबैलाई डिजिटाइज गर्ने एकदमै लामो प्रक्रियामा छौं हामी।