सुदूरपश्चिमको मुख्यमन्त्रीमा कमल शाहको दाबी पेश
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद कमलबहादुर शाहले दाबी पेश गरेका छन्।
शाहले आइतबार सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँ समक्ष दाबी पेश गरेका हुन्। उनलाई नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टी (नाउपा)को समर्थन छ।
कांग्रेस संसदीय दलका नेता समेत रहेका शाह दोस्रो पटक मुख्यमन्त्री बन्न लागेका हुन्। यसअघि उनले १४ महीना सरकारको नेतृत्व गरेका थिए।
नेकपा (एकीकृत समाजवादी)का नेता दीर्घ सोडारीले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले दाबी पेश गर्न आह्वान गरेका थिए। उनले आज साँझ ५ बजेसम्म दाबी पेश गर्ने समय दिएका छन्।
केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि प्रदेशमा पनि सरकार फेरबदल हुन लागेको हो। नयाँ समीकरण बनेपछि एमालेले सोडारीलाई दिएको समर्थन फिर्ता लिएको थियो।