मर्दी आधारशिविरमा भेटियो मानव अवशेष
कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित प्रख्यात मर्दी हिमाल आधारशिविरमा मानव अवशेष फेला परेको छ।
माछापुच्छ्रे गाउँपालिका-९ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीले स्थानीय पर्यटन व्यवसायीले साउन १९ गते साँझ मानव अवशेष भेटेको बताए। स्थानीय बासिन्दाले अवशेष देखेपछि वडाध्यक्ष क्षेत्रीलाई खबर गरेका थिए।
भौगोलिक रूपमा अत्यन्त विकट भएकाले उक्त अवशेष कसरी ल्याउने भन्ने विषयमा प्रहरी, स्थानीय प्रशासन र गाउँपालिकासँग छलफल भइरहेको वडाध्यक्ष क्षेत्रीले बताए। मानव अवशेषसँगै एउटा आइफोन पनि भेटिएको उनले बताए।
गत पुस १३ गते मर्दी पदयात्राका क्रममा स्वीडेनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग हाइक्याम्पबाट हराएका थिए। उनकै अवशेष हुन सक्ने आशंका गरिएको वडाध्यक्ष क्षेत्रीको भनाइ छ।
पदमार्गको हाइक्याम्पबाट मर्दी आधारशिविरतर्फ जाने क्रममा मिचल हराएका थिए। त्यति वेला उनको खोजी गरिएको भए पनि केही पत्तो लागेको थिएन।