भारतलाई पराजित गरेपछि नेपाली खेलाडी र समर्थकको आँखामा आँसु
काभा नेशन्स वुमन्स लिगमा भारतलाई ३-२ को सेटमा पराजित गरे लगत्तै टीम नेपालकी कप्तान अरुणा शाही लगायत खेलाडी तथा समर्थकका आँखामा आँसु देखियो।
दशरथ रंगशालास्थित कभर्डहलमा शनिबार पहिलो सेटमा भारतलाई नेपालले २५-१८ ले पराजित गर्यो। दोस्रो सेटमा नेपाललाई १२-२५ मा रोक्दै भारतले बराबरी गर्यो। तेस्रो सेट २५-१७ ले आफ्नो पक्षमा पार्दै नेपालले पुनः अग्रता लियो। चौथो सेट फेरि २५-१८ ले भारतको पक्षमा गयो।
त्यसपछिको अत्यन्त प्रतिस्पर्धात्मक पाँचौं सेटमा नेपालले भारतलाई १५-१३ सेटले हरायो। त्यसपछि टीम नेपालकी कप्तान अरुणा शाही, सुमित्रा रेग्मी, सलिना श्रेष्ठ, शान्तिकला तामाङले आफूलाई रोक्न सकेनन्। उनीहरू मात्र होइन, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, टीम नेपालकी पूर्व खेलाडी निलम बज्राचार्य, पूर्व मन्त्री रामकुमार झाँक्री लगायतको आँखामा आँसु देखियो।
साउन १७ गते श्रीलंकालाई पराजित गरेको नेपालले समूह चरणको दोस्रो खेलमा भारतलाई हराउँदा खेलाडी र समर्थक किन यति भावुक बने त? किनकि दक्षिणएशियाली ‘भलिबल जायन्ट’ भारत विरुद्ध नेपालले पहिलो जित निकालेको थियो।
आफूलाई रोक्न नसकेको विषयमा प्रतिक्रिया दिंदै कप्तान शाहीले भनिन्, “भारतसँग खेल्दै छौं है भनेर डरले शुरू गरेको खेल जित्दा मेरो दिमाग पूरै खाली जस्तो भयो, केही सोच्नै सकिनँ, आँखाबाट आँसु खसेछ।”
धेरै बलियो देशलाई हराउँदा भन्दा भारतलाई पराजित गर्दाको छुट्टै अर्थ हुने शाहीको विश्लेषण छ। यद्यपि भारतलाई समूह चरणमा पराजित गर्नुलाई नै उपलब्धि नमानी उपाधि जित्न ध्यान केन्द्रित गर्नुपर्ने उनको धारणा छ।
सन् २०१४ मा राष्ट्रिय टीममा डेब्यू गरेकी स्पाइकर सरस्वती चौधरीले छिमेकी भारतलाई पराजित गर्ने चाहना एक दशकपछि पूरा भएको बताइन्। भारत विरुद्धको जितले हौसला बढेको तर फाइनल नजित्दासम्म हौसिन नहुने उनको सुझाव थियो।
सन् २०१९ मा काठमाडौंमा भएको दक्षिणएशियाली खेलकूद अन्तर्गत महिला भलिबलतर्फको स्वर्ण पदक नेपाललाई हराएर भारतले जितेको थियो। प्रमुख प्रशिक्षककै शब्दमा आज ‘आउटस्ट्यान्डिङ फर्मफेन्स’ गरेकी स्पाइकर निरुता ठगुन्नाले पाँच वर्ष पहिले फाइनलमा भारतसँग पराजित हुँदा दुखेको मुटुमा यो जितले मल्हम लगाउने काम गरेको बताइन्। उनले भनिन्, “च्याम्पियन हुन बाँकी नै छ, त्यसकारण यही जितलाई लिएर आत्तिनु र मात्तिनुपर्ने कारण छैन।”
दुई खेलमा दुवै जित निकालेको नेपालले यो लय कायम राख्न सके सेमिफाइनलमा चौथो स्थानको टीमसँग प्रतिस्पर्धा गर्नेछ। अर्को सेमिफाइनल खेल दोस्रो र तेस्रो स्थानको टीमबीच हुनेछ। नेपालले आइतबार इरान र सोमबार माल्दिभ्ससँग खेल्दै छ। यो प्रतियोगितामा सहभागी पाँचमध्ये इरान सबैभन्दा माथिल्लो वरीयताको टीम हो।
टीम नेपालका प्रमुख प्रशिक्षक जगदीश भट्टले भारतलाई पराजित गरेर खेलाडीहरूले नेपाली भलिबल उचाइमा पुगेको सन्देश प्रवाह गरेको बताए। काभा उपाधि जित्न नेपालले अझै धेरै मिहिनेत गर्नुपर्ने उनले उल्लेख गरे। भट्टले भने, “भारत विरुद्ध ऐतिहासिक जित निकाल्दा सिंगो देश खुशी हुनु स्वाभाविक हो। प्रशिक्षकका रूपमा भने मेरो जिम्मेवारी थप बढेको छ।”
टीम नेपाल : सेटरद्वय अरुणा शाही (कप्तान) र प्रगति नाथ, स्पाइकरहरू सरस्वती चौधरी, उषा भण्डारी, पुनम चन्द, निरुता ठगुन्ना, कामना विष्ट, आरती सुवेदी, मिडल ब्लकरहरू सफिया पुन, सुमित्रा रेग्मी, संगम महत, कविता भट्ट, लिबेरोद्वय सलिना श्रेष्ठ र शान्तिकला तामाङ।