कर्णालीका मुख्यमन्त्री कँडेलले साउन २१ मा विश्वासको मत लिने
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले साउन २१ मा प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।
मुख्यमन्त्री कँडेलले विश्वासको मत लिनका लागि आवश्यक व्यवस्था मिलाउन प्रदेश सभा सचिवालयलाई पत्र पठाएका छन्। उनले पत्र दर्ता गराएको प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए।
कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिन लागेका हुन्। उनले विश्वासको मत लिन लागेको यो दोस्रो पटक हो। पहिलो पटक गत वैशाख १३ मा संसद्बाट विश्वासको मत लिएका थिए।
केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएको छ। माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमत्री कँडेलले विश्वासको मत लिन लागेका हुन्।
उनलाई नेपाली कांग्रेसले समर्थन गर्ने भएको छ। कांग्रेसबाट चार जना मन्त्री बनाउने तयारी छ। त्यसका लागि कांग्रेसले मुख्यमन्त्रीलाई चारै जनाको नाम बुझाइसकेको छ।