पूरा हुन सकेन बागमतीमा देहत्याग गर्ने इच्छा
सङ्लो र सफा नहुन्जेल मृत्यु भएमा बागमती नदीमा सद्गत नगरियोस् भनी ६६ जनाले इच्छापत्रमा हस्ताक्षर गरेको २८ वर्षपछि पनि उस्तै प्रदूषित छ, बागमती नदी।
एक समय शिवपुरीको शिरबाट काठमाडौं शहरको मध्यभाग भएर कलकलाउँदै प्रवाह हुने बागमती अहिले फोहोरको लेदो सहित डुङ्डुङ्ती दुर्गन्ध छर्दै बगिरहेको छ। कञ्चन र पवित्र मानिने उपत्यका सभ्यताकी जननी बागमती नदीले समाजमा विशेष महत्त्व बोकेको छ।
नेपालमण्डलको आस्थाको केन्द्र मानिन्छ, बागमती। काठमाडौंका रैथानेको दैनन्दिन जीवनपद्धतिसँग अभिन्न रूपमा गाँसिएको बागमतीमा जन्मदेखि मृत्यु संस्कारसम्मका क्रियाकलाप गरिन्छन्। मृत्युपश्चात् बागमती किनारमा दाहसंस्कार गरिनुलाई सौभाग्यसँग जोडेर हेरिन्छ।
तर त्यही सङ्लो र पवित्र नदी काठमाडौंवासीको लापरवाही र राज्यको गैरजिम्मेवारीले गर्दा ढलमा परिणत भएपछि सरोकारवाला निकायलाई दबाब दिन ६६ जना अधिकारकर्मी, पर्यावरण अभियन्ता र जागरूक रैथानेले २०५३ वैशाख १९ मा एउटा कठोर निर्णय गरे।
उनीहरूले सामूहिक हस्ताक्षर गरेर भने, ‘सङ्लो र पवित्र पानी बग्ने बागमती नदी काठमाडौंवासीको उदासीनता र जिम्मेवार पक्षहरूको अकर्मण्यताले गर्दा मलमूत्र बग्ने ढलमा परिणत भएकाले यस्तो स्थिति रहेसम्म हाम्रो मृत्यु भएमा हामी तपसिलका व्यक्तिहरूको सद्गत बागमतीमा नगरी सफा पानी बग्ने उपत्यका नजीकको अरू कुनै नदी छेउ गरियोस् भन्ने चाहन्छौं। यसैले यस इच्छापत्रमा हस्ताक्षर गरेका छौं।’
इच्छापत्रमा हस्ताक्षर गर्ने ६६ जनामध्ये सात जनाले दैहिक लोक त्यागिसकेका छन्। उनीहरूको इच्छा थियो ‘बागमती पुरानै अर्थात् निर्मल स्वरूपमा फर्किएर बगोस्, अनि त्यसको किनारमा आफ्नो मृत देह सेलाउन पाइयोस्।’
तर मृत्यु भएका सातै जनाको यस्तो सदिच्छा पूरा हुन सकेन। संरक्षणविद् प्रह्लाद योञ्जन, चन्द्रप्रसाद गुरुङ, हुतराम वैद्य, संगीतकार गोपाल योञ्जन, नेपाली सेनाका पाइलट किशेन्द्रबहादुर शाही, सर्वोच्च अदालतका न्यायाधीश भरतराज उप्रेती र आर्किटेक्ट नरेन्द्र प्रधानको जीवनकालमा बागमती निर्मल हुन सकेन। तसर्थ उनीहरूको इच्छा बमोजिम मृतकको शव बागमती किनारमा सद्गत गरिएन।
नरेन्द्र प्रधानको मृत्यु सिलिगुडीमा भयो। उनको उतै सद्गत गरियो। न्यायाधीश भरतराज उप्रेतीले २०७२ सालमा आत्महत्या गरे। त्यति वेला उनले लेखेको ‘सुसाइड नोट’ मा समेत आफ्नो मृत देहलाई बागमतीमा नजलाउन भनेका थिए। उप्रेतीले ‘सुसाइड नोट’ मा आफ्नो शव अनुसन्धान प्रयोजनका निम्ति शिक्षण अस्पतालका विद्यार्थीलाई दिन भनेकाले दाहसंस्कार गर्ने कुरा भएन।
गोपाल योञ्जनको मृत्युपछि उनको शव बौद्ध परम्परा बमोजिम स्वयम्भूमा लगी सेलाइयो। योञ्जनकी श्रीमती रिञ्छेनले श्रीमान्ले इच्छापत्रमा हस्ताक्षर गर्नासाथ फोन गरेर गर्व र भावुकता मिश्रित शब्दमा आफूलाई इच्छापत्रको मजबुन बताइसकेकाले उनको अन्तिम इच्छा बमोजिम मृत्यु संस्कार गरिएको थियो। बागमती स्वच्छताका निम्ति यति गहिरो लगाव थियो, इच्छापत्रमा हस्ताक्षर गर्नेहरूमा।
हुतराम वैद्य र प्रह्लाद योञ्जनको मृत्युपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो। वैद्यले चाहिं अन्तिम समयमा टुकुचाको दोभानमा रहेको ब्रह्मनालमा आफ्नो शवको विसर्जन होस् भन्ने चाहेका थिए। तर परिवारले वैद्यको शवको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिदियो। यो दृष्टान्तले व्यक्तिको मरणपश्चात्को कर्मकाण्ड उसको इच्छाभन्दा पनि परिवार र समाजको संस्कार र संस्कृतिले निर्धारण गर्दो रहेछ भन्ने देखाउँछ।
हवाई दुर्घटनामा परी चन्द्रप्रसाद गुरुङको ज्यान गयो। २०६३ असोज ७ मा ताप्लेजुङको घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा परी गुरुङ सहित २४ जना देशी-विदेशी संरक्षणविद्को मृत्यु भएको थियो। पाइलट किशेन्द्रबहादुर शाहीको दाहसंस्कार कहाँ गरियो, खुल्न सकेन।
इच्छापत्रमा हस्ताक्षर गर्ने ५९ जना बाँकी छन्। उनीहरूमध्ये हस्ताक्षरकर्ताद्वय भैरव र सुशीला रिजाल दम्पतीले शव शिक्षण अस्पताललाई दान दिने निर्णय गरिसकेका छन्। अन्य हस्ताक्षरकर्ता चाहिं आफ्नो इच्छापत्रमा अडिग छन् र अझै उनीहरू बागमती शुद्धताको कामना गरिरहेका छन्।
तथापि बागमती अहिले पनि उस्तै छ, बरु ‘ढलमती’ को नामले अर्को परिचय बनाएको छ। जबकि स्वच्छताका नाममा बागमतीमा २१ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको बताइन्छ। उनीहरूले इच्छापत्रमा हस्ताक्षर गरेपछिको २८ वर्षमा अर्थात् २०५२ सालयता १७ वटा सरकार फेरिइसके।
यसबीचमा बागमती निर्मल पार्न भनी राज्यलाई दबाब दिन कैयौं अभियान सञ्चालन गरिए। बारम्बार न्यायालयको ढोका ढकढक्याइएको छ। तर बागमतीको पानी स्वच्छ र सफा बनाउन अभियानकर्ताले दिएको दबाब राज्यले सुनेकोनसुन्यै गरेको छ।
त्यसैताका २०५२ सालमा अधिवक्ता प्रकाशमणि शर्माले बागमती स्वच्छताका निम्ति सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। यसबीचमा अदालतले आदेश दिने तर सम्बन्धित निकायले आदेश कार्यान्वयन नगर्ने भएपछि रिट हाल्ने क्रम चलिरह्यो। आदेश कार्यान्वयन नभएपछि २०६८ सालमा अधिवक्ता शर्मा सहित जनहित संरक्षण मञ्चका तर्फबाट अर्को रिट परेको थियो।
रिटमा बागमती र अन्य नदीमा मलमूत्रयुक्त प्रदूषित पानी नपठाउन र ती सम्पूर्ण नदीछेउका अनधिकृत संरचना हटाई मापदण्ड अनुसार त्यस क्षेत्रको संरक्षण गरी हरित क्षेत्र घोषणा गर्न माग गरिएको थियो। यो मुद्दा दायर भएको १३ वर्ष तीन महीना सात दिनपछि २०८० पुस ३ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले संरक्षणप्रेमीको पक्षमा फैसला गर्यो, जसमा बागमतीलाई स्वच्छ राख्न र नदीको किनारमा बसेका सुकुम्बासीलाई नगद दिएर भए पनि काठमाडौंका नदीका किनार खाली गर्न आदेश दिइएको छ।
बागमती संरक्षण सम्बन्धी रिटको फैसला आफ्नो पक्षमा आएपछि इच्छापत्रमा हस्ताक्षर गर्नेहरू फेरि एक पटक हस्ताक्षर गरेको थलो यलमाया केन्द्र परिसरमा रहेको बग्गीखाना सभाकक्षमा भेला भए। उनीहरूले भावुक हुँदै २८ वर्षअघि आफूहरूले हस्ताक्षर गरेको इच्छापत्र स्मरण गरेका छन्।
हस्ताक्षरकर्तामध्येका एक सञ्चारकर्मी कनकमणि दीक्षितललाई २८ पर्ष पुरानो त्यो दिन झल्झली स्मरणमा आयो। जति वेला राज्यलाई दबाब दिन भेला भएका आक्रोश र उत्साह बोकेका संरक्षणप्रेमीले बग्गीखानामा इच्छापत्रमा हस्ताक्षर गरे। त्यसपछि सरासर करीब डेढ किलोमिटर उत्तरमा रहेको बागमती पुलमुनि अवस्थित कालमोचन घाट पुगेर बागमतीमा बगिरहेको कालो लेदो पानी घडाबाट भरेर फेरि खोलामा बगाइदिए। जुन सांकेतिक विरोध थियो।
भेलामा सहभागी सबैले बागमती सौन्दर्यीकरणको नाममा सरकारले जनताको पैसामा गरेको दुरुपयोगको खुलेर विरोध गरे। उनीहरूले २०५१ सालदेखि सरसफाइका लागि २१ अर्बभन्दा बढी रकम खर्च गरिए पनि बागमती भने जस्ताको तस्तै रहेकोमा चिन्ता व्यक्त गरे।
बागमती सौन्दर्यीकरणका नाममा ब्रह्मलूट नै भइरहेको उनीहरूको आरोप थियो। बागमती सभ्यताको गौरवगाथा बोक्ने शहरको मुटु हुँदै बग्ने नदीको दुर्दशाबाट आहत संरक्षणप्रेमी सबैको एउटै स्वर थियो, ‘बागमती कञ्चन बनोस् र आफ्नो मृत देह त्यसको किनारमा लगी सेलाउन पाइयोस्।’
इच्छापत्रमा हस्ताक्षर गर्नेहरूको नामावली :
१. केदारभक्त माथेमा
२. देववीर बस्नेत
३. शान्ता दीक्षित
४. नरेन्द्र प्रधान
५. मञ्जुश्री थापा
६. निर शाह
७. रतनकुमार राई
८. पदम घले
९. माधवलाल महर्जन
१०. विष्णु प्रसाईं
११. तीर्थ कोइराला
१२. अजय दीक्षित
१३. दीपक ज्ञवाली
१४. गोपाल गुरागाईं
१५. विहारीकृष्ण श्रेष्ठ
१६. अनिल चित्रकार
१७. प्रदीपकुमार भुल
१८. भरतराज उप्रेती
१९. वसन्त थापा
२०. रघु मैनाली
२१. हरिवंश आचार्य
२२. मदनकृष्ण श्रेष्ठ
२३. ऋषि शाह
२४. भोला श्रेष्ठ
२५. किशेन्द्रबहादुर शाही
२६. गोपाल योञ्जन
२७. हेमबहादुर विष्ट
२८. प्रत्यूषराज वन्त
२९. तीर्थबहादुर श्रेष्ठ
३०. रत्नकुमार श्रेष्ठ
३१. निर्मलमान तुलाधर
३२. सुदर्शनराज तिवारी
३३. सुधीन्द्र शर्मा
३४. सुमित्रा मानन्धर गुरुङ
३५. भरत शर्मा
३६. तेजप्रसाद गौचन
३७. डा. उपेन्द्र देवकोटा
३८. डा. अभि सुवेदी
३९. यादव खरेल
४०. भैरव रिसाल
४१. सुशीला रिसाल
४२. ध्रुवचन्द्र गौतम
४३. दीपेन्द्र गौचन
४४. सुनील पोखरेल
४५. रामेश श्रेष्ठ
४६. राजेन्द्र दाहाल
४७. प्रह्लाद योञ्जन
४८. उर्मिला सिम्खडा
४९. केदार शर्मा
५०. कनकमणि दीक्षित
५१. चन्द्रप्रसाद गुरुङ
५२. राजेन्द्र शलभ
५३. हुतराम वैद्य
५४. वसुन्धरा भुसाल
५५. शोभा गौतम
५६. अमृता बास्तोला
५७. कृष्णमुरारि गौतम (चट्याङ मास्टर)
५८. पूर्णहरि अमात्य
५९. उज्ज्वल शेरचन
६०. जगतबहादुर गुरुङ
६१. किशोरलाल मानन्धर
६२. शम्भु गुरागाईं
६३. हरिवंश किरांत
६४. दिलेन्द्रराज श्रेष्ठ
६५. शीला सैजु
६६. शेषरमण शर्मा