यूरोप-अमेरिकाबाट योग र ध्यान गर्न पोखरा
प्राकृतिक सौन्दर्य, हिमशृंखला, तालतलैया र पदयात्रामा रमाउन पोखरा पुग्ने संसारभरका पर्यटकलाई लोभ्याउने नयाँ माध्यम बनेको छ, योग र ध्यान।
नेदरल्यान्ड्सकी हाना एक प्रख्यात कम्पनीमा ‘डेस्क जब’ गर्छिन्। दिनभर एकै ठाउँमा बसेर गर्नुपर्ने कामले हानालाई शारीरिक र मानसिक रूपमा थकित बनाउँछ। थकाइ मार्न घुमफिरमा निस्किन्छिन्।
कोभिड-१९ महामारी कम हुँदै गएपछि हानाले नेपाल आउने निधो गरिन्। पोखरा पुगेपछि भने उनको दैनिकी नै फेरियो, थकाइ नै मेटियो। “पोखराको हावापानी, प्रकृति, हिमालले मलाई तान्यो,” हाना भन्छिन्।
पछिल्लो तीन वर्षयता त हानाको जीवनशैली नै परिवर्तन भएको छ। त्यसको कारक हो, योग र ध्यान।
२०७८ सालतिर पहिलो पटक नेपाल आएकी हाना पोखरा पुगेर ट्रेकिङ गइन् र योगको कक्षा लिइन्। नेदरल्यान्ड्स पुगेर निरन्तर योगाभ्यास गरिन्। योग कक्षा लिनकै लागि अहिले तेस्रो पटक पोखरा आइपुगेकी छन्। नेपाल बसाइको पूरै समय योग सिक्न र पोखरा नजीकका ठाउँ घुमफिरमै बिताइरहेकी हाना भन्छिन्, “पोखरा यति सुन्दर र शान्त छ कि मैले योग गर्न पोखरा नै रोजें।”
योगाभ्यास र ध्यान गर्न थालेपछि उनले आफूमा परिवर्तन आएको महसूस गरेकी छन्। काममा एकाग्रता, मनमा शान्ति र व्यवहारमा सहनशीलता बढेको उनको अनुभव छ। त्यसैले त योग र ध्यान गर्नकै लागि नेदरल्यान्ड्सबाट तेस्रो पटक पोखरा आइपुगेकी छन्।
हाना जस्तै विदेशी पर्यटक योग र ध्यान गर्न पोखरामा खुलेका योग सेन्टर, योग रिट्रिटमा आइरहेका छन्। पर्यटकीय सिजनमा योग गर्न आउने पर्यटकले पोखराका योग सेन्टर भरिभराउ हुन्छन्। पर्यटककेन्द्रित भएर पोखराको लेकसाइडदेखि सेदी हुँदै भकुन्डेसम्मै योग कक्षा सञ्चालन गर्ने थुप्रै योग सेन्टर खुलेका छन्।
त्यस्तै, केही होटल, रिसोर्ट र व्यक्तिगत रूपमा पनि योगका कक्षा सञ्चालन भइरहेका छन्, पर्यटकलाई लक्षित गरेर। योग र ध्यानको महत्त्व र प्रचार बढ्दै गएको वेला विदेशी पर्यटकका लागि योग गर्न रोजाइमा परेको छ, पोखरा।
योगको पर्याय बनाउने प्रयत्न
काठमाडौंका महेश्वरमान श्रेष्ठ सानैदेखि बिरामी परिरहन्थे। अस्पताल, औषधिमूलो गर्दा केही बिसेक त लाग्थ्यो, तर साता-महीना दिनमा फेरि बिसन्चो भइहाल्थ्यो। सधैं च्यापिराख्ने बिरामीले नै उनलाई अध्यात्मको बाटोमा डोर्यायो। “योगाभ्यास र ध्यानले दिनप्रतिदिन स्वस्थ महसूस गर्न थालें,” श्रेष्ठ सम्झिन्छन्।
त्यसपछि नै हो, उनले योग र ध्यानको बाटो रोजेको। पछिल्लो ३५ वर्षदेखि नियमित योगाभ्यास र शिक्षणमा तल्लीन छन्।
यति वेला भने श्रेष्ठ काठमाडौं छोडेर पोखरामा ध्यानमग्न छन्। उनी १५ वर्षदेखि पोखरामै योग सिकाइरहेका छन्, त्यो पनि विदेशी पर्यटकलाई।
पोखराको सेदीमा रहेको पूर्ण योग रिट्रिट सेन्टरमा शुरूआतदेखि नै योग प्रशिक्षकका रूपमा आबद्ध छन्। “पोखरा ट्रेकिङको प्रस्थान र अन्त्यको पनि ‘पोइन्ट’ भएकाले ट्रेक जानुअघिको तयारी र आएपछि आनन्द खोज्न पर्यटकले योग गर्छन्,” प्रशिक्षक श्रेष्ठ भन्छन्, “पर्यटकका लागि योग भनेको ‘एक्सरसाइज’ र ‘स्ट्रेचिङ’ गर्नु हो।”
विश्वमा नै योगबारे चर्चा बढ्दै जानुले पनि योगप्रति विदेशी आकर्षित भइरहेको उनी सुनाउँछन्। नेपाल र भारतमा परम्परागत योगबारे बुझ्न र शिक्षा लिनका लागि पनि विदेशी पर्यटक आउने गरेको बताउँछन्। “पोखराको हावापानी अन्यत्रभन्दा स्वच्छ छ, प्रकृतिको नजीक पनि छ। त्यसैले पनि पर्यटक पोखरामा नै योग सिक्न आउँछन्,” श्रेष्ठ भन्छन्।
यस्तै बुझाइ छ, अर्का योग प्रशिक्षक डा. ऋषिराज लम्सालको। उनले पोखरामा योग प्रशिक्षण गराउन थालेको वर्षौं भयो। “अध्यात्मको नजीक प्रकृति हुन्छ, पोखरा प्रकृतिले हराभरा छ। त्यसका कारण पनि अध्यात्मको खोजीमा पोखरा आउनेहरू थुप्रै हुन्छन्,” लम्साल भन्छन्।
योग र ध्यानकै क्रममा उनी नेपालका ४२ जिल्ला पुगेका छन्। हजारौंलाई योगाभ्यास गराएका छन्, सिकाएका छन्। आफू पुगेका ठाउँमध्ये सबैभन्दा मिलेको भौगोलिक बनावट पोखराकै रहेको उनको ठम्याइ छ। “हिमाल, नदी, फाँट, डाँडाकाँडा, फराकिलो मैदान, तालतलैया सबथोक मिलेको छ,” डा. लम्साल थप्छन्, “प्राकृतिक सौन्दर्यले नै अध्यात्मतिर लागेका व्यक्तिलाई पोखराले तान्छ।”
उनलाई योग र ध्यानले सानै छँदा तानेको होइन। बाल्यकालमा त त्यतातिर लगाव नै थिएन। २४ वर्षअघि हो, एक विदेशी पर्यटकले ध्यानबारे नसोधेको भए उनी अध्यात्मको दुनियाँमा छिर्ने थिएनन्।
त्यति खेर उनी काठमाडौंमा ट्रेकिङ तथा ट्राभल्स कम्पनीमा काम गर्थे। त्यही दौरान विदेशी पर्यटकलाई लिएर कास्कीको पुनहिल पुगे। पुनहिलको प्राकृतिक सौन्दर्यबाट मोहित विदेशी पर्यटक योग र ध्यान गर्न थाले। उनी भने एक छेउमा उभिएर यताउता नियालिरहे।
त्यसपछि एक विदेशी पर्यटकले उनलाई योग र ध्यानबारे सोधे। लम्सालले आफूलाई थाहा नभएको जवाफ दिए।
ती विदेशीले उनको कुरा नपत्याई अर्को प्रश्न गरे, “बुद्धले ध्यानको शिक्षालाई विश्वभर फैलाए, नेपालमा जन्मिएको तिमीलाई ध्यानबारे थाहा छैन?”
बिहानपख पुनहिलको रोमाञ्चक पर्यावरणमा विदेशीसँगको त्यो संवादले दुःखी बनाएको उनी सम्झिन्छन्। काठमाडौं फर्किए लगत्तै ध्यान र योग शिक्षा लिनका लागि खोजबिन गर्न थाले। योग गर्न विदेशी पर्यटक पोखरा आएको देखेर उनी पनि पोखरै हुइँकिए। अहिले पोखरामा विदेशी पर्यटकका लागि दैनिक योग कक्षा सञ्चालन गरिरहेका उनी योग र ध्यान गर्दा विदेशी पर्यटक प्रफुल्ल हुने गरेको सुनाउँछन्।
त्यही आत्मसन्तुष्टि र शान्तिका लागि संसारभरका पर्यटक पोखरा पुग्छन्। जहाँ उनीहरूलाई प्राकृतिक सौन्दर्यसँगै योग र ध्यानले कामको थकान र दैनिकको धपेडीबाट छुट्कारा दिन्छ। विदेशीको रोजाइमा पर्न थालेपछि पोखरेली पनि योग र ध्यानतिर नजिकिंदै गएका छन्। तिनैमध्ये एक हुन्, दीपा बस्नेत।
अलि मोटाएपछि दुब्लाउन योगको संसारमा छिरेकी थिइन् बस्नेत। योग र यसभित्रका विविध पाटोमा रस बस्दै गएपछि उनले यसमै पढाइ शुरू गरिन्। अहिले योगमै विद्यावारिधि गरिरहेकी बस्नेत भन्छिन्, “पहिले योगका आसनमा मात्र बढी जोड दिन्थें, योग बुझ्दै गएपछि यसबारे ज्ञान बढाउन अध्ययन पनि गर्न थालेकी छु।”
दुब्लाउने उद्देश्य लिएर योग गर्दागर्दै उनी प्रशिक्षक बनेकी छन्। तीन वर्षदेखि योग प्रशिक्षण दिइरहेकी उनी पोखरालाई योगको शहरका रूपमा विकास गर्नुपर्ने बताउँछिन्। त्यसका लागि घर घरमा योगाभ्यास गर्ने बानीको विकास गराउनुपर्ने उनको भनाइ छ।
कसरी योगको शहर बनाउन सकिन्छ? “सानैदेखि बालबालिकालाई विद्यालयस्तरमा योग सिकाउने, योगलाई पाठ्यक्रमका रूपमा ल्याउने, घर घरमा योगाभ्यास गर्ने, आयुर्वेद उपचार विधि र योगलाई मिलाएर लैजाने गर्नुपर्छ,” बस्नेत थप्छिन्, “पोखरासँगै गण्डकी क्षेत्रको अध्यात्मबारे अध्ययन अनुसन्धान गर्नुपर्छ।”
यससँगै विश्वविद्यालयमा पनि योग शिक्षा समावेश गर्नुपर्ने उनको भनाइ छ। यी सबैथोक गरेपछि बल्ल पोखरा योग शहरका रूपमा विकसित हुने बताउँदै अनुसन्धाता समेत रहेकी योग प्रशिक्षक बस्नेत भन्छिन्, “योग र ध्यानको प्रचारले पर्यटक पोखरा आउँछन्, योग सिक्छन्। योग पर्यटनकै रूपमा विकास हुन्छ।”
पोखरासँगै आसपासका पर्यटकीय गन्तव्यलाई पनि योग र ध्यानस्थलका रूपमा विकास गर्न सकिने योग साधकहरू बताउँछन्। जसरी योग भन्ने बित्तिकै भारतको ऋषिकेशको नाम आउँछ, त्यसरी नै पोखरालाई पनि चिनाउन सकिने योग प्रशिक्षक राजकर्म योगीको विश्वास छ।
योग साधनाले नै उनी राजकर्म योगीका रूपमा परिचित बनेका हुन्। खासमा उनको नाम एकराज रोकाया हो। उनी पोखरास्थित कर्मयोगी योग स्कूलका निर्देशक तथा योग प्रशिक्षक हुन्। गत ६ वर्षदेखि सञ्चालनमा रहेको स्कूलमा विदेशीसँगै स्वदेशी पर्यटक लक्षित योग कक्षा सञ्चालन हुन्छन्।
खासमा उनलाई पनि योगप्रति खासै चासो थिएन। उनी कामका लागि नेपाल छोडेर विदेश गए। लामो समयको विदेश बसाइँमा आफ्नो अस्तित्वको खोज गर्ने हुटहुटी चलेको सुनाउँछन्।
नेपाल फर्कने बित्तिकै योग र ध्यानको अभ्यास शुरू गरे। त्यही क्रममा पोखराले लोभ्याएको उनी बताउँछन्। त्यसपछि भने उनले योग र ध्यानका लागि पोखरालाई नै रोजे। योग स्कूल खोलेर बसेका उनी अबको समय भनेको नै योग र ध्यान पर्यटनको रहेको बताउँछन्। पोखराको प्रकृति योग र ध्यानका लागि उपयुक्त रहेको उनको निष्कर्ष छ।
“अहिले योग भन्ने बित्तिकै भारतको ऋषिकेश पहिलो नम्बरमा आउँछ, त्यहाँ गंगा नदी छ, माथि केदारेश्वर छ,” योग साधक राजकर्म योगी भन्छन्, “हाम्रो वरपर यति धेरै हिमाल छन्, मुक्तिनाथ लगायत तपोभूमि छन्। अब योग पर्यटनलाई प्रवर्द्धन गर्नु जरूरी छ।”
पछिल्लो समय पोखरामा योग र ध्यानसँग सम्बन्धित क्रियाकलाप पनि बढ्दै गएका छन्। गत वर्षको चैतमा दोस्रो अन्तर्राष्ट्रिय योग महोत्सव भएको थियो। जसमा ५० भन्दा बढी विदेशी देशका पर्यटकले सहभागिता जनाएका थिए।
यस्तै, आगामी असोजमा पोखरामै चारदिने अन्तर्राष्ट्रिय नेपाल योग महोत्सवको आयोजना हुँदै छ। यसमा पनि विदेशी नाम चलेका योग प्रशिक्षक, संगीतकर्मी सहभागी हुने भएका छन्। यसले पनि अन्तर्राष्ट्रिय स्तरमा पोखरालाई योग र ध्यान स्थलका रूपमा चिनाउन सहयोग पुग्ने योग साधकको विश्वास छ।
सरकारी पहलको खाँचो
काठमाडौंका मनोहर श्रेष्ठले सन् २००० मा नेपाल योग ट्रेक डट कम वेबसाइटको डोमेन लिएका थिए। यो पहिलो योग ट्रेक वेबसाइट भएको श्रेष्ठको दाबी छ। २४ वर्षदेखि व्यावसायिक रूपमा नै योग पर्यटनको क्षेत्रमा काम गरिरहेका श्रेष्ठको अनुभव छ, “योग पर्यटन प्रवर्द्धनमा सरकारको चासो शून्य छ।”
नेपालमा योग ट्रेकको थालनी उनी र उनका साथी योग प्रशिक्षक महेश्वरमान श्रेष्ठले गरेका थिए। नजीकका डाँडाकाँडामा विदेशी पर्यटकलाई हिंडाउने, अनि बिहान-बेलुकी योग गर्ने नै ‘योग ट्रेक’ हो। योग ट्रेकपछि योग स्टुडियो, योग रिट्रिटको उद्यम पनि श्रेष्ठले शुरूआत गरे।
योग र ध्यानको बाटामा भने उनका बुबाले हिंडाएका हुन्। चिकित्सक भए पनि बुबाले सन्तानलाई सकभर दबाई खान दिएनन्। प्राकृतिक उपचार पद्धतिमै केन्द्रित हुँदा योग र ध्यानतिर लाग्न प्रेरणा मिलेको श्रेष्ठ सुनाउँछन्।
सानोमा उनी पनि बिरामी परिरहन्थे। बिसन्चोले वर्षमा दुई-तीन महीना त स्कूलको हाजिरी नै छुट्थ्यो। जब युवा उमेरमा पुगे बुवा र घरको माहोलले अध्यात्ममा प्रवेश गराएको उनी बताउँछन्। “योग, ध्यान, रेकीको अभ्यास गर्न थालें। त्यसपछि बिरामी हुन पनि छोडें,” उनी भन्छन्।
योगको निरन्तर अभ्याससँगै योगसँग सम्बन्धित कम्पनी नै शुरू गरे। सन् २००९ मा आएर पोखराको लेकसाइडमा योग स्टुडियो खोले, जसको नाम थियो पूर्ण योग रिट्रिट सेन्टर। अहिले पोखराको सेदी र भकुन्डेमा रिट्रिट सेन्टर सञ्चालनमा छन्।
पोखरा र योग पर्यटनसँग नजीक रहेका श्रेष्ठ सरकारसँग पोखराको योग पर्यटनलाई लिएर दूरदृष्टि नरहेको गुनासो गर्छन्। योग र ध्यान पर्यटनको प्रशस्त सम्भावना बोकेको पोखरामा सोचे अनुरूप पर्यटक भित्र्याउन नसकिएको उनी बताउँछन्। उनी भन्छन्, “पोखरालाई प्रकृतिले साथ दिएको छ। प्रकृतिको संरक्षण गर्नु जरूरी छ, तब न योग पर्यटनको प्रवर्द्धन गर्न सकिन्छ।”
उनी अर्को एक समस्या निराकरणका लागि पनि योग र ध्यानमा जोड दिन आवश्यक भएको बताउँछन्। त्यो हो- डिप्रेशन। “हाम्रोमा कोभिड-१९ को महामारीभन्दा अगावै डिप्रेशन लगायत मानसिक समस्या बढ्दै गएका थिए। यो महामारीका कारणले केही वर्षमा मानसिक समस्याले झन् विकराल रूप लिन्छ,” श्रेष्ठ थप्छन्, “डिप्रेशन लगायत मानसिक समस्याका लागि योग र ध्यान महत्त्वपूर्ण समाधानका उपाय हुन्।”
योग र साधनाका लागि प्रकृति प्रमुख भएको उनको अनुभव छ। त्यसका लागि पोखरा उपयुक्त स्थान रहेको र प्रकृति संरक्षणमा जोड दिनुपर्ने उनी बताउँछन्। “अध्यात्म साधनाका लागि प्रकृति चाहिन्छ, प्रकृतिको संरक्षण गर्नुपर्छ,” योग साधक श्रेष्ठ भन्छन्, “योग र ध्यानको केन्द्र बनाउन पोखराको यो सौन्दर्य, प्रकृतिलाई बचाउनुपर्छ।”
योगी डा. लम्साल पनि योगलाई अन्तर्राष्ट्रिय रूपमा प्रचार गराउन नेपालले पर्याप्त प्रयास गर्न नसकेको गुनासो गर्छन्। भारतले शुरूआत गरेको अन्तर्राष्ट्रिय योग दिवसको विचार पहिले नेपालबाट नै अध्यात्ममा काम गरिरहेका संघसंस्था तथा व्यक्तिले सरकारसँग उठाएको उनी बताउँछन्। त्यति वेला सरकारले बेवास्ता गरेका कारण अहिले योग भन्ने बित्तिकै भारतको प्रचार हुने गरेको उनको दुखेसो छ।
अब नेपालले ध्यान दिवसमा जोड दिनुपर्ने उनको भनाइ छ। “बुद्ध नेपालमा जन्मिएर ध्यानको विकास भएका कारण नेपालले अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउनका लागि संयुक्त राष्ट्रसंघमा पहल गर्नुपर्छ, त्यो भयो भने विश्वभरबाट ध्यानको गन्तव्य नेपाल बन्न सक्छ,” डा. लम्साल भन्छन्।
अहिले राष्ट्रिय रूपमा अध्यात्मसँग सम्बन्धित संघसंस्थाले बुद्ध पूर्णिमाको दिनलाई ध्यान दिवसका रूपमा मनाउँदै आएका छन्। त्यसैलाई अन्तर्राष्ट्रिय ध्यान दिवसका रूपमा मनाउन पहल गर्न सकिने योग साधकहरूको भनाइ छ।
पर्यटनसँग सम्बन्धित कुनै पनि पाटोमा तीनै तहका सरकार संवेदनशील नरहेको पर्यटन विज्ञ वासुदेव त्रिपाठी बताउँछन्। स्थानीय र प्रदेश सरकारले पनि ध्यान दिने हो भने पोखरालाई योग र ध्यानका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उनी बताउँछन्। तीनै तहका सरकार जिम्मेवार हुनुपर्ने बताउँदै पर्यटन विज्ञ त्रिपाठी भन्छन्, “पोखरा प्राकृतिक हिसाबले महत्त्वपूर्ण ठाउँ र पर्यटकलाई प्रकृति मन पर्ने भएकाले योगका लागि प्रशस्त अवसर छन्।”
पोखरा पर्यटन परिषद्का उपाध्यक्ष कृष्ण भण्डारी पनि योगलाई पोखराको पर्यायका रूपमा विकास गर्नुपर्ने बताउँछन्। अहिले योग विश्वभरका लागि नै चासोको विषय बनेको उल्लेख गर्दै पोखरालाई योग र ध्यान केन्द्रका रूपमा विकास गर्ने सकिने सम्भाव्यतालाई गम्भीर रूपमा लिनुपर्ने भण्डारीको भनाइ छ।
मापदण्ड र नियमन आवश्यक
सरकारले चासो नदिएकै कारण पोखरामा योगसँग सम्बन्धित मनपरी गतिविधि पनि उत्तिकै बढेका छन्। मापदण्ड विना योग सेन्टर खुलिरहेका छन्। विदेशी पर्यटकले नै आफूखुशी योग कक्षा सञ्चालन गर्ने, योग ट्रेक गर्ने पनि गरिरहेका छन्। जसका लागि उनीहरूले कर तिर्नु पर्दैन न कसैले नियमन गर्छ।
योग प्रशिक्षक महेश्वरमान श्रेष्ठ अहिले पोखराको लेकसाइडभरि नै छ्याप्तछ्याप्ती योग प्रशिक्षण भइरहेको सुनाउँदै मापदण्ड र नियमन नभएको बताउँछन्। उनी २१ दिन वा तीन महीनाको तालीम लिएर कुनै स्कूल तथा कम्पनीबाट प्रमाणपत्र लिएर सीधै प्रशिक्षकका रूपमा काम गर्दा गलत योगाभ्यास भइरहेको बताउँछन्। “प्रमाणपत्र लिइसकेपछि कम्तीमा दुई वर्ष नियमित स्वअभ्यास गरिनुपर्छ,” श्रेष्ठ भन्छन्, “सरकारले यसबारे कडाइ गर्नु जरूरी छ। नत्र योग सिकेर जाने विदेशीको नेपालप्रति नराम्रो छाप बस्न सक्छ।”
त्यस्तै, योग सिकेका विदेशीले उतैबाट विद्यार्थी ल्याउने र सीधै योग कक्षा, योग ट्रेक गर्दा स्थानीय व्यवसायी मर्कामा पर्ने राजकर्म योगी बताउँछन्। “विदेशीले योग र ध्यान गराउँदा कर तिर्दैनन्, यहाँको पैसा सीधै बाहिर गइरहेको छ,” योगी भन्छन्, “यो खुला रूपमा भइरहेको छ, तर कसैले रोक्न सकेको छैन।”
पोखरामा योग प्रशिक्षक, सेन्टरको मापदण्ड तय गर्नुपर्ने सरोकारवाला पनि बताउँछन्। नेपाल पर्यटन बोर्ड, पोखराका प्रमुख नवीन पोख्रेल योग पर्यटनको सम्भावनासँगै व्यवस्थित पनि बनाउनुपर्ने बताउँछन्। पोखरेल भन्छन्, “योग र ध्यान प्रशिक्षणलाई व्यवस्थित र नियमन गर्न मापदण्ड तय गरिनुपर्छ।”