नारायणगोपालको हालै भेटिएको डायरी : ढुंगा खान्छु, तर चाकडी गर्दिनँ
२०३० को दशकपछि सफलताको शिखर चुमेका नारायणगोपालको हालै भेटिएको डायरीले एउटा कालखण्डमा उनको जीवन बेरोजगारी, आर्थिक अभाव र चरम निराशामा रहेको देखाउँछ। पैसा नहुँदा परिवारका सदस्यले हेपेको र एक कप चिया समेत खान नपाएको पीडा पोखेका छन्।
मलाई नसोध कहाँ दुख्छ घाउ
म जे छु ठीकै छु बिथोल्न नआऊ।
नारायणगोपाल भन्नासाथ संगीतपारखीको मनमगजमा प्रणय, वियोग र वैराग्यका भाका गुन्जिन थालिहाल्छन्। उनले स्वर भरेका विरही गीतहरूमा धेरैले आफ्नो भावना गाँसेर तृप्ति भेट्छन्।
स्वरसम्राट्को दर्द भरिएका गीत सुनिरहँदा हामी शायदै सोच्छौं, उनको जीवनमा पनि यस्तै पीडा र व्यथा होलान्।
तर हालै भेटिएको नारायणगोपालको डायरीले एक समय उनीभित्र अभाव, बेवास्ता र तिरस्कारले दिएको गहिरो घाउ रहेको बताउँछ। जसमा जागीरको खोजीमा भौंतारिएकोदेखि स्वाभिमानी शिर कसैसामु झुक्न नसकेकोसम्म बयान छ। सांगीतिक यात्राको एउटा कालखण्डमा चरम आर्थिक अभावले उनलाई कुन हदको नकारात्मक विचारसम्म डोर्याएको थियो, उनको जीवनका अँध्यारा पन्ना डायरीमा भेटिन्छ।
अर्थात् उपेक्षा, असहयोग र अपमानको ज्वालामा खारिएर उनी ‘स्वरसम्राट्’ बनेका रहेछन्।
काठमाडौंको महाराजगन्जस्थित नारायणगोपालको घरलाई संग्रहालयका रूपमा विकास गर्न पछिल्लो समय काम भइरहेको छ। यसका लागि नारायणगोपाल संगीत कोषले उनीसँग सम्बन्धित सामग्रीको खोजी, संकलन र अभिलेखीकरण गरिरहेको छ। यसै क्रममा उनले दैनिकी लेखेको एउटा नोटबूक भेटिएको हो। यो डायरी २०२६ सालदेखि २०३३ सालसम्मको हुन सक्ने अनुमान गरिएको छ।
२०३० र २०४० को दशकमा नारायणगोपालको सांगीतिक र व्यक्तिगत जीवनले सफलता चुमेको देखिन्छ। नारायणका दौंतरी गीतकार नगेन्द्र थापाको सम्झनामा ती समयमा ‘नारान’ का गीतहरू रेडियोमा नगुन्जिने नेपाली घरहरू शायदै थिए। तर त्यसअघिको उनको विगत निकै संघर्षपूर्ण, अभावग्रस्त र निराशामय थियो। उनले डायरीमा तिनै कठिन समय लिपिबद्ध गरेका छन्।
जागीरका लागि भगवान् पुकारा
डायरीले २०२० को दशकमा उनको जीवन भोगाइ कष्टप्रद रहेको देखाउँछ। कतिसम्म भने, उनले आफ्नो जीवन व्यर्थ भएको र आफूलाई बाँच्न मन नभएको लेखेका छन्।
डायरीमा उनले मिति लेख्ने गरेको देखिंदैन, डायरीमै छापिएको मितिको तल घटनाक्रम लेखेका छन्। डायरीको शुरूआत नै निराशाबाट गरेका छन्। ‘२०२६ साल वैशाख १ गते आइतबार’ अंकित पृष्ठमा उनले लेखेका छन्-
‘नयाँ वर्ष भएर के हुन्छ र? मान्छे त जम्मै उही हो। जे होस् नयाँ वर्षको शुभकामना!’
यसको केही पानापछि उनले आफू जागीरको खोजी गरिरहेको तर कसैको चाकडी गर्न नसकेर नपाएको लेखेका छन्। उनले शुरूमा कला र संगीतसँग जोडिएकै ठाउँमा जागीर खान प्रयास गरेको देखिन्छ। २०२६ साल जेठ ११ अंकित मितिमा लेखिए अनुसार उनले त्यो दिन बिहानै थापा भन्ने व्यक्तिलाई भेटेका रहेछन् र तिनले जागीरको आश्वासन दिएछन्।
नारायणगोपालले पछिल्लो १० महीनादेखि संस्कृति विभागमा स. निर्देशकको पदमा जागीर खान विभागका मानिसहरूसँग भेटघाट गरिरहेको तर त्यसले काम नगरेको दिक्दारी पनि व्यक्त गरेका छन्। चाकडी नगर्ने आफ्नो स्वाभिमानी गुणको परिचय दिंदै उनी लेख्छन्–
‘शायद मलाई मन पर्दैन क्यारे अधिकारी वर्ग, कारण मैले उनीहरूलाई चाकडी गरिनँ। ढुंगा खान्छु, चाकडी गर्दिनँ।’
नगेन्द्रको भनाइमा नारायणले थापालाई भेटें भन्नुको अर्थ सांस्कृतिक संस्थानमा पकड भएका राजदरबार निकटका मुकुन्दशमशेर थापा वा किरणशमशेर थापा हुन सक्छन्।
उनका अनुसार त्यस वेला सांस्कृतिक संस्थानमा दरबारको चासो थियो। “दरबारको इच्छा विना त्यहाँ कसैको नियुक्ति हुँदैनथ्यो र नारायणले दरबारको चाकडी नगरेकाले जागीर पाउन कठिन भएको बताएको हुनुपर्छ,” नगेन्द्र अड्कल काट्छन्।
नारायणगोपाल २०२४ सालमा भारतको बरोडामा शास्त्रीय संगीत पढेर फर्केका थिए। तर फर्किएको लामो समयसम्म उनी बेरोजगार रहे। शास्त्रीय संगीतको अनुभवपछि उनले पाश्चात्य संगीतको पनि गहिरो अध्ययन गरेको पत्नी पेमला गुरुवाचार्यले संस्मरणमा लेखेकी छन्।
नारायणगोपालले २०१६ सालदेखि नै गाउन शुरू गरेका हुन्। बागीना पत्रिकाको नारायणगोपाल स्मृति अंकमा संगीतकार एवम् लेखक बुलु मुकारुङको लेख अनुसार २०१६ देखि २०२५ सालसम्म उनका ३२ वटा गीत रेडियो नेपालबाट प्रसारण भइसकेका थिए। केही गीत हिट पनि भएका थिए। तर उनी रेडियो नेपालका ‘जागीरे कलाकार’ थिएनन्। प्रतिगीत पाँच रुपैयाँदेखि १० रुपैयाँ मात्र पाउँथे। यसैले चर्चित गायक भए पनि नारायणगोपालले आर्थिक अभाव भोग्नुपरेको थियो।
पाँच दशकअघि सांगीतिक क्षेत्रको अवस्थाबारे मुकारुङ भन्छन्, “अहिले जस्तो एउटा गीत हिट हुनासाथ देश-विदेशमा मेला, महोत्सव र कन्सर्टमा गाउन पाउने र पैसा कमाउने अवस्था थिएन।”
गीतसंगीतमा लागेर गुजारा नचलेपछि गीत गाउनु नै बेकार रहेको सोचमा पनि नारायणगोपाल पुगेको देखिन्छ। जागीर नखाँदा उनले परिवारबाटै गाली र हेलाहोचो खेप्नुपरेको रहेछ। डायरीमा उनी लेख्छन्-
‘आमाबाबु दुवै मिलेर खुब गाली गर्यो। यत्रो भएर पनि जागीर खान नसक्नु लाजको कुरो हो। साँच्चै म लज्जित छु। कसलाई भनूँ म आफ्नो व्यथा? कल्ले बुझिदेला मेरो ‘म’ लाई? घरबार सब छाडेर हिंड्न मन लाग्छ पहाडतिर। गीत गाउनु पनि बेकार जस्तो लागेर आउँछ। हामीलाई समाजका ठेकेदारहरूले शोषण गरेका छन्। हामी असहाय छौं।’
नगेन्द्रका अनुसार यो समयमा बरोडाबाट फर्किएपछि नारायणगोपाल काठमाडौंको किलागलस्थित घरमै थिए। त्यस वेला उनका बुबा सितारवादक आशागोपाल गुरुवाचार्यको पनि जागीर थिएन। जेठो दाइ छुट्टिएर बस्न थालेका थिए। नारायणगोपाल माहिला छोरा थिए। उनीभन्दा मुनि भाइहरू पनि थिए। परिवारको आशा र भरोसा उनी नै भएकाले जागीर खानै पर्ने ठूलो दबाबमा थिए।
त्यस वेला उनलाई आर्थिक सहायता गर्ने कोही नभएको र जागीर खान भौतारिंदा पनि नपाएपछि उनी अत्यन्तै निराश भएको नगेन्द्र सम्झन्छन्।
नारायणगोपालले जागीर नपाएकै कारण निराश भएको डायरीका धेरै ठाउँमा लेखेका छन्। आफ्नो आर्थिक अभावलाई उनले ‘सत्य र इमानदारीको नतीजा’ भनेका छन्। अभावमा जिउनुपर्दा उनी आफूलाई छिटै लैजान ईश्वर पुकार्ने अवस्थासम्म पुगेको देखिन्छ। वेदनामिश्रित यी भावना पढ्दा लाग्छ, उनले यी कुरा आँसुकै मसीले लेखेका हुन्।
आर्थिक संकटबारे उनले एक ठाउँमा लेखेका छन्-
‘जुत्ता पनि स्वर्गीय हुन लागेछ। दुई जोर लुगा पनि फाट्न लागिसके। बिंडी खानलाई पनि पैसा छैन। हे ईश्वर! सत्य र इमानदारीको नतीजा यस्तै हुँदो रहेछ भने मलाई छिटै लैजाऊ तिम्रो घरमा। मेरो घर, समाज, साथीहरू सबै सबैको अपमानको पात्र बनेको छु म। आज म गरीब भएर मामूली मान्छेले पनि जोरी खोज्ने गर्छ। भाइबहिनीले त हेला गर्छ मलाई। म के गरूँ?’
अभावकै कारण सबैबाट हेलाको पात्र बनेका उनले कुनै वेला राम्रो आम्दानी गर्न सके ‘लुगा कसरी लगाउनुपर्छ भन्ने कुरा पनि देखाउँछु’ भनी प्रण गरेका छन्।
भनिन्छ, डायरी लेखन आफैंसँगको इमानदार अभिव्यक्ति हो। नारायणगोपालको डायरीमा जीवनका कठोरतम भोगाइ पढ्दा त्यस्तै इमानदारी भेटिन्छ। उनले भगवान् सम्झँदा जागीर मिलोस् भन्ने कामना बारम्बार गरेको लेखेका छन्। बूढो भइसक्दा पनि जागीर खान नसकेको र विवाह नगरेको भनी सबैले खिल्ली उडाएको भन्दै बह पोखेका छन्।
लेखेका छन्-
‘म बूढो भएँ रे। सबैले त्यस्तै भन्छन्। विवाह छिटो गर्नुपर्यो भन्छन् सबैले। जागीर खान सकेन यत्रो लाठे भएर पनि, आमाले गुनासो गर्दै थिइन् आज पनि।’
जागीर मिलाइदिन्छु भन्नेहरू प्रायः सबैलाई भेटेको तर कतैबाट काम नभएको पीडा कहेका छन्। ‘काकाजी’ भन्ने व्यक्तिलाई उनले पटक पटक भेटेका छन्। अहिले निर्वाचन आयोग रहेको कान्तिपथमा पहिले होटल रोयल हुँदा उनले जागीरकै लागि प्रचार विभागका हाकिमहरूलाई पनि भेटे, तर काम भएन।
लामो प्रयास गर्दा पनि गीत-संगीत क्षेत्रमा जागीर नपाएपछि उनले अन्य विकल्प पनि हेरे। कृषि विकास ब्यांकमा कार्यालय प्रबन्धक पदको जागीर खुलेपछि त्यसका लागि परीक्षा दिने निधो गरे। परीक्षा दिन रत्नराज्यलक्ष्मी कन्या महाविद्यालयमा पुगे। परीक्षा हलमा १०० भन्दा बढी परीक्षार्थी रहेको र आफूलाई देख्नासाथ सबैले आपसमा खासखुस गरेको भन्दै उनी डायरीमा लेख्छन्–
‘सबैले मलाई नै हेरेर खासखुस कुरा गरेको सुन्छु। म लज्जित हुन्छु र नबसीकनै फर्कन्छु।’
सार्वजनिक ठाउँमा गायकका रूपमा उनलाई सबैले चिन्थे, प्रशंसकहरूले चर्चा गर्थे। तर उनको व्यथा आफैंसँग थियो। आर्थिक संकटले उनलाई भित्रभित्रै खाइरहेको थियो।
डायरीमा नारायणगोपालले आफ्नो प्रेमसम्बन्ध र विवाहको विषयमा पनि लेखेका छन्। २०२२ सालमा दार्जीलिङकी पेमला लामासँग उनको भेट भएपछि उनीहरूबीच चिठी आदानप्रदान हुन थाल्यो। पत्रमित्रताबाट नजिकिंदै उनीहरू प्रेमी-प्रेमिका भए।
पेमलासँग प्रेम र विवाहको कुरा उनले चिठीबाटै गरेको देखिन्छ।
२०२६ सालदेखि लेखिएको डायरीको मध्यपृष्ठमा उनले लेखेका छन्-
‘पेमुलाई चिठी लेखें। हेरूँ, कहिलेसम्म प्रत्युत्तर पाउने हो।’
अर्को दिन लेखेका छन्-
‘विवाहको बारेमा उनी खुशी छिन्। उनीसँग अलग रहन पनि एक असम्भव जत्तिकै छ। घरमा पनि ठूलो विरोध छ। के गरूँ म?’
पेमलासँगको विवाह अन्तरजातीय हुने भएकाले उनले परिवारबाट विरोध खेप्नुपरेको थियो। तर पारिवारिक असहमतिबीच २०२७ फागुनमा पेमलासँग दार्जीलिङको सुकिया पोखरीमा विवाह गरे।
यो विवाहलाई नारायणगोपालको घरले नस्विकारेपछि उनीहरू पोखरा गएर कवि भूपी शेरचनको घरमा ६ महीना बसेका थिए।
विद्रोही गायक
डायरीमा नारायणगोपालले देशमा नेपाली संगीतको खराब प्रवृत्तिबारे आलोचना पनि गरेका छन्। संगीत के हो भनेर कसैले नबुझेको, सबै जना गायक, संगीतकार र गीतकार भएको टिप्पणी उनले गरेका छन्। एउटा गीत लेखेर, गाएर र संगीत भरेर कोही गीतकार, गायक र संगीतकार नहुने उनको ठोकुवा छ। लेख्छन्-
‘ताक परे तिवारी नत्र गोतामे। यहाँ सबै गायक, सबै संगीतकार, सबै गीतकार.......आहा! ..नेपाली संगीत हाय ! हाय ! भारतीयहरूले कस्तो हाँसी उडाउँछ, रेडियोका गीत सुनेर। नेपालीहरूले फि. संगीत (भारतीय) लाई कहिल्यै जित्न सक्दैन। यो मेरो चुनौती भो नेपालीलाई।’
उनले समाज, सरकार, रेडियो र संस्कृति विभागले आफूमाथि शोषण गरेको आरोप पनि लगाएका छन्। उनले लेखेका छन्-
‘लाटाको देशमा गाँडा तन्नेरी झैं नेपाली संगीत केही मूर्खहरूका लागि त ठीकै होला, तर वास्तविकता संगीत के हो, यहाँ कसैले बुझेको छैन।’
उनले त्यस वेलाका स्थापित केही संगीतकार र गायकको नामै तोकेर आक्रोश पोखेका छन्। उनीहरू फटाहा भएको र उनीहरूलाई केही नआउने दाबी गरेका छन्। उनले लेखेका छन्-
‘मूर्ख नेपालीहरूलाई यस्तै ठीक छन्।’
त्यस वेलाका स्थापित कलाकारको नाम लिएर आक्रोश पोख्नु नारायणगोपालको सांगीतिक विद्रोह भएको संगीतकार मुकारुङ बताउँछन्। उनका अनुसार नारायणगोपाल आफूलाई ती गायक सरह अब्बल ठान्थे, तर अरूले रेडियो नेपालमा जागीर पाउँदा आफू चाहिं बेरोजगार बस्नुपरेकाले आक्रोश पोखेका हुन सक्छन्। “तर ती व्यक्तिलाई केही आउँदैन थियो, उनीहरू गायक थिएनन् भन्न त मिल्दैन, किनभने इतिहासमा उनीहरूले गायकको दर्जा पाइसकेका छन्,” मुकारुङ भन्छन्।
संगीतप्रतिको चेतले नारायणगोपाललाई विद्रोही बनाएको र त्यसलाई उनले व्यक्तिगत स्वार्थका लागि प्रयोग नगरेको नगेन्द्र बताउँछन्। उनका अनुसार आफूले अभाव भोगिरहेको अवस्थामा पनि नारायणगोपाल संगीतको विकासबारे सोच्थे। उनको त्यही सोचलाई सम्मान गर्दै २०३० कात्तिकदेखि नारायण, गोपाल योञ्जन र आफू मिलेर बागीना (बाजा, गीत, नाचको संक्षेपीकृत नाम) पत्रिका निकाल्न थालेको नगेन्द्र सुनाउँछन्।
डायरीमा नारायणगोपालले आर्थिक अभावमा पिल्सिँदाको भोगाइ मसिनो गरी खुलेर कहेका छन्। संगीतकर्मीका रूपमा रेडियो नेपाल र संस्कृति विभागले काम नदिएकोमा निरुपाय बनेका उनले अरू जुनसुकै काम गर्न पनि तयार रहेको लेखेका छन्। संगीत क्षेत्र बाहिरको काम गर्दा संगीत छोड्नुपर्ने पीरले उनलाई सताएको देखिन्छ। लेखेका छन्-
‘लुगाफाटासम्म राम्ररी लाउन सकेको छैन। यहाँसम्म कि चुरोट वा चिया पिउनको लागि समेत मसँग पैसा हुँदैन। पैसा विना मान्छेलाई बाँच्न कस्तो गाह्रो पर्दो रहेछ। काम त केही न केही गर्नुपर्ने हो बाँच्नको लागि, तर के काम गर्नु? मेरो काम त गाउनु वा संगीत बनाउनु हो। त्यस्तो कामको लागि वर्षौं कोशिश गर्दा पनि पाएन। रेडियो र संस्कृति विभागले मलाई कुन्नि किन ईर्ष्या गर्छ र त्यहाँ मैले काम पाउँदिनँ। अरू कामको लागि पनि म तयार छु। हालाकी संगीत छोड्नुपर्छ, तर कसलाई भन्ने कसरी भन्ने? म बी.ए. भएर के भो?’
उनले डायरीको पुछारतिर रेडियो नेपालमा गाउने मन नभएको बताएका छन्। उनलाई रेडियो नेपालबाट लक्ष्मण लोहनीले पठाएको चिठी अभद्र रहेको लेखेका छन्। तर चिठीको व्यहोरा खुलाएका छैनन्।
संगीतकार मुकारुङका अनुसार २०३० सालको आसपास नारायणगोपाललाई रेडियो नेपालमा एक्लै पारिएको थियो। उनले गीत रेकर्ड गर्ने वेला वाद्यवादकहरू उपलब्ध हुँदैनथे। त्यस्तो स्थितिमा उनले केही गीत त आफूले हार्मोनियम बजाएर तबलावादकको सहयोगमा पनि रेकर्ड गराएका थिए।
“नारायणगोपाल रेडियो नेपालमा बाह्य गायक भएकाले त्यहाँ उनको उपेक्षा भयो। गाउने वेला वाद्यवादकहरू पनि नभएपछि उनको मन मर्यो,” मुकारुङ भन्छन्।
घमन्डी कि स्वाभिमानी?
रेडियो नेपालप्रति सधैं गुनासो गरेको, गीत छनोटमा कठोर बनेको, सांस्कृतिक संस्थानमा महाप्रबन्धक भएपछि अनुशासन र नीति विरुद्ध काम गर्नेलाई कारबाही गरेको जस्ता पाटो देखाएर नारायणगोपाललाई घमन्डी भन्ने आरोप लागेको पेमलाले बागीनाको नारायणगोपाल स्मृति अंकमा लेखेकी छन्। ‘नारायणगोपालसँगका मेरो बीस वर्ष’ शीर्षकको लेखमा उनी लेख्छिन्-
‘उहाँ आफ्नो निर्णयमा कहिल्यै नडग्ने स्वभावको हुनुहुन्थ्यो। संगीतप्रति समर्पित हुनुहुन्थ्यो। धर्मपुत्र पाल्नुभन्दा संगीत सम्बन्धी विद्यालय खोल्नू भन्नुहुन्थ्यो।’
नारायणगोपाल दम्पती निःसन्तान थिए। उनको अन्तिम इच्छा अनुसार नै निधनपछि नारायणगोपाल संगीत कोष स्थापना गरिएको हो।
नारायणगोपालको स्वाभिमानी व्यक्तित्वलाई नै मानिसहरूले घमन्डको संज्ञा दिएको कोषका अध्यक्ष दीपक केसी बताउँछन्। उनको डायरी पढेपछि उनलाई कसैले घमन्डी नभन्ने केसीको भनाइ छ। “उहाँले डायरीमा लेखेका कुरा पढेपछि संगीतलाई सम्मान नगर्नेहरू नै उहाँका शत्रु रहेछन् भन्ने बुझ्न सकिन्छ। उहाँ त आफूमाथि आरोप खेपेर कलाकारहरूको सम्मान गर्ने स्रष्टा हुनुहुँदो रहेछ,” उनी भन्छन्।
हुन पनि अरू कलाकारप्रतिको सद्भाव र चिन्ता उनको डायरीमा पनि प्रकट भएको छ। तारादेवीलाई दरबारले कम श्रेणीको पदक दिएकोमा असन्तुष्टि प्रकट गर्दै उनले लेखेका छन्-
‘श्री ५ को जन्मोत्सवको उपलक्ष्यमा मान पदकहरू पाउने व्यक्तिहरूको नामावली रेडियोबाट उद्घोषण गरेको रहेछ। चाकडीबाला र राजाका आफन्तहरूले ठूल्ठूला पदहरू प्राप्त गरेका रहेछन्। जबकि नेपालककी प्रिय गायिका तारालाई गो.द.बा पाँचौं श्रेणी मात्र थियो। पाँचौं श्रेणी सबभन्दा तल्लो पदक हो। तारालाई त्यो पदक दिएर एक कलाकारको खिसी उडाएको जस्तो लाग्छ मलाई।’
उनले भारत सरकारले लता मंगेशकर, मोहम्मद रफी, रविशंकर, जगदीश, अशोककुमार आदि कलाकारलाई पद्मश्री र पद्म भूषण जस्ता उच्च सम्मान गरेको प्रसंग पनि जोडेका छन्।
मिति नलेखिएको एक दिनको डायरीमा उनले आफूलाई राजाको पनि कृपा नचाहिने उल्लेख गरेका छन्। राजाको जन्मोत्सव भएको तर आफूलाई निम्तो आए पनि नजाने बताएका छन्। आफूलाई राजदरबारको सदस्य, मन्त्री, अञ्चलाधीश, बक्सिस, नोकरी केही पनि नचाहिएको भन्दै उनले लेखेका छन्-
‘राजाको कृपामा म बाँच्ने हैन। म ढुंगा खाएर बाँच्छु। मलाई मान पदकहरू पनि चाहिएको छैन।’
नारायणगोपालको स्वाभिमानी अडान र प्रस्ट बोल्ने स्वभावले उनलाई अरूको नजरमा घमन्डी बनाएको नगेन्द्र बताउँछन्। “नारान कुनै पार्टीमा आस्था नराख्ने, प्रजातन्त्रप्रेमी, नेपाल र विश्वको इतिहास मुखाग्र भएको, साहित्य र संगीतको गहिरो चेत भएका व्यक्ति थिए,” उनी भन्छन्।
आखिरी पानाहरू
डायरीका अन्तिम पृष्ठसम्म पनि उनले अभावकै चर्चा गरेका छन्। पैसाको फिटफिटी परेपछि मीत गोपाल योञ्जनसँग पनि उनले धेरै पटक सापटी मागेका रहेछन्।
उनले डायरीमा हिसाब राखेका छन्-
‘यसअघि पनि पचास रु. लिएको थिएँ मीतज्यूसँग। आज फेरि २०० रु. लिएको छु सूट बनाउनको लागि। जम्मा २५० रुपैयाँ दिनुपर्नेछ उसलाई मैले।’
विवाह हुनुभन्दा केही समयअघि पनि जीवनप्रति चरम निराशा पोखेका छन्। आफू घरको बोझ बनेको भन्दै बाँच्ने चाहना नै नभएको भन्दै उनले लेखेका छन्-
‘आजभोलि म कहीं जान्नँ। बिहानभरि घरमै अनि खाना अनि सोना अनि जागना अनि बाहर जाना। ... ... ... बस... यही दोहोरिन्छ... मेरो जीवन एक रुखोपना।
मेरो जीवन व्यर्थ जस्तो लाग्छ। म कल्पनामा उड्छु आफू कोठमा बसेर। झ्यालबाट नागार्जुनको डाँडा हेर्दै म रंगीबिरंगी स्वप्रदेशमा पुग्छु। वास्तविकता जब मेरो छेउ आउँछ, म आकाशबाट खस्छु तल.....एकदम। म रुन्छु एक्लै....सान्त्वना पाउँछु एकछिन अनि उही झन् दोहोरिन्छ। म एक बोझ घरको। हे ईश्वर म बाँच्न चाहन्नँ।’
संगीत क्षेत्र सम्बन्धित जागीरको खोजीमा वर्षौं बिताएर पनि नपाएका नारायणगोपाल २०३७ सालमा सांस्कृतिक संस्थानको महाप्रबन्धक भएका थिए। मुकारुङका अनुसार त्यसपछि उनको आर्थिक अवस्था सुध्रिएको थियो। रत्न रेकर्डिङमा पनि उनले एउटा गीत गाएको १०० देखि २०० रुपैयाँ लिन थालेका थिए। “त्यसभन्दा अघिसम्म नारायणगोपाललाई मुश्किल थियो। कलाकार मात्र भएर बाँच्न सकिंदैन भन्ने भाष्य त्यति वेलादेखि नै बनेको थियो,” मुकारुङ भन्छन्।
डायरीमा नारायणगोपालले आफूले गाएका १०० वटाभन्दा बढी गीतका शीर्षक उतारेका छन्। कति पानामा ‘खै के लेखूँ’ मात्र लेखेर पाना खाली छाडिदिएका छन्। डायरी पढेका मुकारुङ यो प्रकाशनमा आएपछि उनको जीवन र संघर्ष पढेर नयाँ पुस्ताका संगीतकर्मीले धैर्य र परिश्रम गर्न सिक्ने बताउँछन्। “स्वरसम्राट् बन्न उनले गरेको तपस्याबारे पढेपछि आजको भोलि नै हिट हुनुपर्छ भन्ने हतारोमा लागेका आजका कलाकारले धेरै कुरा सिक्नेछन्,” उनी भन्छन्।
कोषका अध्यक्ष केसीका अनुसार डायरीलाई पुस्तकका रूपमा प्रकाशन गर्ने योजना छ। “नारायणगोपाल र पेमलाले एकअर्कालाई लेखेका शुरूदेखिकै प्रेमपत्रहरू पनि सुरक्षित छन्। डायरी र प्रेमपत्र एउटै पुस्तकमा समेटेर प्रकाशन गर्नेछौं,” उनी भन्छन्।
(सम्पादन: जीवन कार्की, भाषा: प्रद्युम्न खनाल)