नेपाली मूलका व्यवसायीले सिंगापुरमा बेचे एक खर्बको शेयर
नेपालको पुरानो व्यावसायिक घराना खेतान समूहका एक सदस्यले सिंगापुरस्थित कम्पनीमा रहेको शेयर एक खर्ब रुपैयाँमा बेचेका छन्।
सीपी खेतानले गोर्खा ब्रुअरी र कार्ल्सबर्ग इन्डियामा रहेको शेयर डेनमार्कको कार्ल्सबर्ग समूहलाई ७४ करोड ४० लाख अमेरिकी डलर (करीब एक खर्ब रुपैयाँ)मा बिक्री गर्न सम्झौता गरेका हुन्।
कार्ल्सबर्ग समूहले जारी गरेको विज्ञप्तिमा कार्ल्सबर्ग साउथएशिया पीटीईमा रहेको ३३.३३ प्रतिशत शेयर कार्ल्सबर्ग साउथएशिया पीटी, सिंगापुर (खेतान समूह अन्तर्गतको कम्पनी)बाट खरीद गर्न सम्झौता गरेको जनाएको छ। व्यावसायिक घराना खेतान समूहका सदस्य सीपी खेतानको कार्ल्सबर्ग साउथएशिया पीटीई (सिंगापुर)ले यो शेयर बिक्री गरेको हो।
व्यवसायी राजेन्द्र खेतानका भाइ सीपी लामो समयदेखि सिंगापुर बस्दै आएका छन्। उनी गैरआवासीय नेपाली हुन्।
यो सम्झौतासँगै नेपाल र भारतको कार्ल्सबर्गको सम्पूर्ण स्वामित्व कार्ल्सबर्ग समूह अन्तर्गत पुगेको छ। नेपालको गोर्खा ब्रुअरीमा कार्ल्सबर्ग साउथएशिया प्रालिको ९० प्रतिशत शेयर स्वामित्व छ। बाँकी झन्डै १० प्रतिशतमध्ये अधिकांश शेयर राजेन्द्र खेतानको र थोरै हिस्सा अन्य व्यवसायीको छ। नयाँ सम्झौतासँगै गोर्खा ब्रुअरीमा रहेको राजेन्द्र खेतानको शेयर पनि कार्ल्सबर्ग समूहले खरीद गरेको छ।
डेढ वर्षअघि नै शेयर खरीदबिक्रीको प्रक्रिया शुरू भए पनि विभिन्न विषयमा मतान्तर भएर कानूनी झमेला परेको थियो। अन्ततोगत्वा दुवै कम्पनीले शेयर खरीदबिक्रीलाई टुंगो लगाएका हुन्। यद्यपि किनबेचको सबै रकम हस्तान्तरण हुन तीनदेखि पाँच वर्ष लाग्ने अनुमान गरिएको छ।
नेपालको बियर बजारमा गोर्खा ब्रुअरीले उत्पादन गर्ने बियरको हिस्सा धेरै छ।