काठमाडौंको गेस्ट हाउसमा बाजुराका युवक र युवती मृत भेटिए
काठमाडौं महानगरपालिका-९, गौशालामा रहेको होटल झर्ना गेस्ट हाउसमा बाजुराको त्रिवेणीका युवक र युवती मृत भेटिएका छन्।
त्रिवेणी नगरपालिकाका २३ वर्षीय भरतबहादुर सार्की र १९ वर्षीया करिश्मा सार्की मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। करिश्मा घाँटी काटिएको अवस्थामा र भरत सिलिङको पंखामा झुन्डिएको अवस्थामा भेटिएका हुन्।
घटनास्थलको प्रकृति हेर्दा युवतीको हत्या गरेर युवकले आत्महत्या गरेको देखिएको एसपी अधिकारीको भनाइ छ। उनीहरू साउन १५ गतेदेखि गेस्ट हाउसमा बस्दै आएका थिए।
शुक्रबार दिउँसो १२ बजेसम्म पनि खाना खान नआएपछि गेस्ट हाउसका कर्मचारी बोलाउन कोठामा गएका थिए। दुवै जना नबोलेपछि दिउँसो १ बजेतिर प्रहरीलाई खबर आएको थियो। प्रहरीले ढोका फोड्दा दुवै मृत भेटिएको एसपी अधिकारीले बताए।