गुरुदेव कामत : गायनका गतिशील व्यक्तित्व
सादा जीवन, सरल व्यवहार र उच्च परिश्रमले गायक कामतलाई स्मरणीयका साथै स्तुत्य बनाएको हो।
नेपाली संगीत आज यति उचाइमा पुग्नु वा व्यावसायिक बन्नु अथवा पेशागत हुनुमा कैयन् संगीत साधकादिको योगदान छ। इतिहास उल्टाउँदा लिच्छविकाल, मल्लकाल तथा शाह-राणा युगलाई दृष्टिगत गर्नै पर्छ। नत्र नेपाली संगीत जग-जमीन कहाँबाट उठ्यो पत्तै हुँदैन।
प्राच्यकालका ‘वादित्र गोष्ठी’ संगीतका लागि स्थापित ‘गुठी’ थियो। मध्यकालमा उठेका ‘खल-खेल’, ‘दव-डबली’ यसका केही प्रामाणिक झिल्का-झल्लरहरू हुन्। जसले नेपाली संगीतको कालक्रमिक गोरेटो सुम्सुम्याइरहेको देखिन्छ।
यसो त बौद्धकालीन संगीतको चर्चा-परिचर्या विद्वानादिले विभिन्न लेख, कार्यपत्र वा पुस्तक कृति आदिमा नगरेका होइनन्। हिम, जाम्स् वा स्तुति-श्लोक ‘बुद्धम् शरणम् गच्छामि’ आदि जस्ता लयात्मक भजनादि त्यस वेलाका आनुष्ठानिक गायन संगीत भनिएको देखिन्छ। जसले किरातकाललाई पनि केही अर्थमा झल्को दिने कोशिश गरेको छ।
यसलाई किन यहाँ उल्लेख गर्न खोजियो भने नेपाली संगीतको आरम्भ नै शास्त्रीय वा आधुनिक तत्त्वबाट नभएर लोक वा भजन-कीर्तनशैलीबाट अगाडि बढेको देखिन्छ। जो आधुनिक कालमा आएर विश्वमा प्रचलित पूर्वीय शास्त्रीय संगीत ज्ञान, अभ्यास र प्रयोगद्वारा व्याप्त बन्न पुग्यो। त्यही परम्परा नेपालमा सघन रूपमा उत्तर-मल्लकालीन सांगीतिक युगमा प्रविष्ट भएको मानिन्छ। त्यही प्रचलन-परम्परा वा सांगीतिक घरानाबाट प्रभावित भएका शास्त्रीय गायक गुरुदेव कामत नेपाली शास्त्रीय गायनको विपुल फैलावटमा फैलिएका हुन्।
संगीतकर्मी गुरुदेव कामत सिरहाको पोखरभिन्डामा जन्मेका थिए। निम्नवर्गीय परिवारमा जन्मिएका कामत (केवट)को सानै उमेरमा संगीततर्फ मलिलो झुकाव अनि प्रतिभा देखेर नजिकका नातेदार जगदेव कामतले उनलाई शास्त्रीय संगीतको आरम्भिक खुड्किला सा.रे.ग.म.प.घ.नि. सिकाउने थाले। उनको लगाव र प्रतिभा बढ्न थाल्यो।
बाबु लक्ष्मणदेव कामत र आमा अगरबत्तीदेवी कामतले पनि घरैमा कज्याउन सकेनन्, माया, स्नेह हुँदाहुँदै पनि। कारण आर्थिक नै थियो।
सांगीतिक संकथन
वरिष्ठ संगीतकार भरत लामाका अनुसार नजीकै सिरहामा शास्त्रीय संगीतका प्रकाण्ड उस्ताद नथुनी मिझार (प्रसिद्ध गायक मुरलीधरका पिता)लाई भेटेपछि गुरुदेवको सांगीतिक जीवनले कोल्टे फेर्यो। सांगीतिक जीवनको राजमार्ग खुल्यो। कामतले संगीत र पढाइ-लेखाइ सँगसँगै अघि बढाउन सकेनन्। आर्थिक अवस्था र घरायसी समस्याले तोरी पेल्न थालिसकेको थियो। उनी उस्ताद नथुनी मिझारकै शरणमा आश्रित भए।
त्यति वेला गायक मुरलीधरको प्रसिद्धि चुलिइसकेको थियो। शास्त्रीय गायनमा साधकीय आवाज प्रक्षेपण गर्न मुरलीधर अब्बल बनिसकेका थिए। मुरलीधर आफ्नो पिता नथुनी मिझारका शिष्य र मुरलीधरका शण्ठशिष्य गुरुदेव कामत बने। जसले कामतलाई पेटपाला रोजगारी मिल्नुका साथै गला-गायनमा धारिलो हुन टेवा पुग्यो।
धनीमानी, सामन्त, महासामन्तकहाँ सांगीतिक जल्सा-उत्सव भएका वेला नवोदित गायक गुरुदेव कामत पनि प्रस्तुति लायक हुन थाले। कुनै सांगीतिक जल्सा भयो भने कलाकार कामतले २० रुपैयाँ पाउन थाले। जुन उनको पहिलो पहिलो सांगीतिक कमाइ नै थियो।
उनी नथुनी घरानाका पूर्णकालीन शिष्य-कलाकार बनेपछि शास्त्रीय संगीतमा अनिवार्य रहने अलंकार, आलाप-अंग तथा वादी-संवादी स्वरहरू साथै गला-गायनका हर्कतहरू अनिवार्य जान्नै पर्ने भयो। ताल-तराना अनि बोल-बन्दिस नसिकी भएन। त्यसपछि उनी संगीतमै अहोरात्र लाग्न र खट्न थाले। उनको मन-मुटु अनि मस्तिष्क संगीतको सप्तकोशीमा निरन्तर निरन्तर बग्न थाल्यो।
संगीत नै गति-गन्तव्य अनि दिनचर्या बन्यो उनको। समाजले उनलाई एक गायक, नचुवारे अनि अभिनयकर्ताका रूपमा चिन्न थाल्यो। हुन पनि रात्रिकालीन सम्पन्न हुने बिहेबटुलोमा भररात नै संगीतमा आफ्ना जेजति कला छन्, प्रस्तुत गर्नुपर्थ्यो।
निकै लामो समय ‘नथुनी घराना’बाट दीक्षित हुँदै अघि बढेपछि गायक कामतले संगीत स्वर-साधनाका अंग-अवयवहरू पूर्वांग, उत्तरांग अनि आविर्भाव, तिरोभाव जानेका थिए। यस वेलासम्ममा गायक कामतले बिलम्बित लयमा यमन राग गाउन थालिसकेका थिए। शास्त्रीय रागमा अनिवार्य रहने आरोह-अवरोह, आलाप, स्थायी, अन्तरा, सञ्चारी र आभोग सिके। संगीतमा विश्वास र आधार खडा हुँदै गयो। राग हिण्डोल, राग विभास, शिवरञ्जनी, मिया मल्हार आदि रागका अंग-अलंकारहरू ठम्याउँदै जान थाले।
संगीत कलाका पक्ष-पाटा
कलाकार कामतले आफ्नो पढाइ चटक्कै चुँडाएर चौबाटोमा पुर्याई मन्साए र गायन गलाको लयकारीमा एकोहोरो लहरिन-लहसिन थाले। घरपरिवार तथा अग्रज अविभावकादिले पनि उनको सांगीतिक तरक्की देखेर घरायसी बन्धनबाट मुक्त गरी खुला छोडिदिए। जसले गुरुदेव कामतलाई शास्त्रीय संगीतको अघिल्लो सिंढी उक्लिन सहज हुँदै गयो। उनले संगीतको अग्रगामी छलाङ छोडेनन्। सुललित संगीतभन्दा बाहेक अर्को कुनै कुरा कहिल्यै सोच्नु वा कल्पनु परेन उनले।
बिस्तारै कलाकार कामतको प्रख्याति बढ्दै गयो। सीमापार बिहारबाट पनि खोजी र निम्ता हुन थाल्यो। कलाकारिता पनि रोजगारी र काम नै हो भनेर उनी आफूसँग भएका सबै खाले दक्षता प्रदर्शन गर्न राजी भए। यही क्रममा उनले कहिले नटवारे, कहिले गायक र कहिले वादक त कहिले अभिनेताको भूमिकामा पनि रंगमञ्च तताउन थाले।
त्यस समयमा बिहारतर्फ खूबै नौटंकी कार्यक्रम हुने गर्थ्यो। कलाप्रेमी कामतले नाचे, गीत गाए, नाटक तथा हास्य प्रहेलिकामा पनि उत्रिए। यहि सिलसिलामा कलाकार कामतले राम-लीला, कृष्ण-चरित्र, सलहेस, नटु-नाच, झिझिया आदि भूमिका निर्वाह गर्न सफल रहे। नारीको परिधानमा नाच्दा कलाकार कामतलाई नारी हो कि पुरुष? खुट्याउन दर्शकलाई गाह्रै हुन्थ्यो। कलाका सबै पक्ष-पाटामा उनले अनुभव हासिल गरेका थिए। त्यसले पनि कलाकार कामतलाई रोजगारी र प्रसिद्धि मिलेको थियो, नेपालमा होस् या बिहार-भारततर्फ।
शास्त्रीय संगीतको भोक र अनुरागले गुरुदेव कामतलाई भारत प्रवेश नगरी नहुने गरायो। सपना-विपना संगीतका द्रुत लय, मध्य लय र बिलम्बित लय नभई नहुने भयो। उनले ‘बडोदा-घराना’को खजेडी बिहार, भारतमा करीब ६ वर्ष अनवरत शास्त्रीय गायनको स्वराभ्यास अनुलोम-विलोम गरे।
अनि प्रयाग संगीत समिति इलाहबादबाट शास्त्रीय संगीतको छैटौं वर्षको परीक्षामा समेल भए। आखिर अब्बल दर्जाका गायक कामतलाई प्रथम श्रेणीमा प्रथम ‘संगीत-प्रभाकर’को उपाधि मिल्यो। आवाज र उमेरले उनी वयस्क बनिसकेका थिए।
नेपाल फर्किनुको खुशी
शास्त्रीय संगीतमा मिलेको सफलताको खुशीले उनलाई नेपाल कहिले जाऊँ, कहिले पुगूँ हुन थाल्यो। उनी नेपाल आए र ती ६ वर्षका चुनौतीपूर्ण साथै संघर्षमय बितेका समय वा जीवन कथा-कथन घरपरिवार र वरपरका समाजलाई सुनाए। संगीताचार्यका लागि उनी अभ्यासरत रहे। आँठापाँजो उनी संगीत-उत्तर हुन जाने-आउने गर्थे। घरपरिवारको जोडबल बिहेबारीका निम्ति हरदम रहन थाल्यो र बिहे नगरी सुखै पाएनन्।
त्यसले आफ्ना गुरु, महागुरु र ‘नथुनी घराना’ सँग उनको सम्पर्क विच्छेद हुन गयो। आफू एक्लै हुँदा भन्दा समस्याले झन् बाघपञ्जा हान्न थाले। घरमा जीवनसँगिनी पनि भएपछि व्ययभार थपियो। उसै त विपन्नताबाट भर्खरै उठ्दै गरेका गुरुदेवलाई थप डोको-नाम्लो थपियो।
आफ्नो सुपुत्रको प्रतिभा-प्रसिद्धि देखेर बुबाआमाले पनि संगीततर्फ लाग्न सदाका लागि स्वतन्त्र छोडिदिए। अब उनी अब्बल दर्जाका गायक बनिसकेका थिए। स्थानीय स्कूल तथा अन्य कार्यक्रममा हार्मोनियम बजाएर गीत गाउन, परिआउँदा नाच्नु र हास्य शैलीका नाटक गरेर स्थानीय परिवेशलाई हँसाउनु कलाकार कामतको दैनिकी त भयो, तर आर्थिक रूपले पारिवारिक जीवन चल्छ र भन्ने आशंका बढ्न थाल्यो। अवस्था जर्जर हुँदै गयो।
बिहे, व्रतबन्ध, सरस्वतीपूजा, स्कूलकै वार्षिकोत्सव आदि सांस्कृतिक कार्यक्रम उनका आयआर्जन अथवा जीविकोपार्जनका स्रोत हुन थाले। वरपरबाट गायन सिक्न आउने रौसेहरूबाट मात्र जीवन नचल्ने भयो। एउटा दक्ष कलाकार अभावले पिल्सिंदै बाँचिरहेको अर्का शिक्षित अनि समाजवादी सोचले अभिप्रेरित गायक-संगीतकार भरत लामाले नजिकैबाट त्यो दारुण दृश्य अवलोकन गरिरहेका थिए। अवस्था नाजुक हुन थालेपछि कलाकार लामाको मनमा असह्य उछालहरू आए। यो प्रतिभालाई कतै स्थापित गर्नै पर्छ भन्ने मनमा सोचे।
संगीत-अवसरको खोजी
एक दिन संगीतकर्मी भरत लामाले छिमेकी लोकबहादुर मर्स्यांगी मगरलाई बोलाएर भने, “ए भाइ! गुरुदेव कामतलाई अहिल्यै लिएर आऊ त। म आजै उसलाई काठमाडौं लिएर जान्छु। त्यसले दुःख पाउन थाल्यो गाउँमा।”
लोकबहादुर पनि साइकल लिएर तुरुन्तै कलाकार कामतलाई लिन दौडिए। केही समयपछि गुरुदेव साइकलको पछाडि बसेर आइपुगे। अगुवा कलाकार लामालाई पूर्वीय शैलीको सांगीतिक ढोग चढाए।
एक शिक्षित व्यक्तिले अभावले पिल्सिँदै गरेका अर्का समस्यायुक्त व्यक्तिलाई सम्झाउनु, सपना देखाउनु केही बेर लागेन। लामाका आशा र उमंग लाग्दा कुराले कामत भविष्यको सुदूर-छितिजको सुन्दर अनि सुनौलो कल्पनामा उड्न थाले। कुराकानी मिल्यो। त्यही साँझ रात्रिबसमा दुवै जना काठमाडौं रमाना भए। गुरुदेवको पहिलो अनि एक भरोसायुक्त अभिभावकका साथ सांगीतिक यात्रा थियो त्यो।
गायक लामाको कोठा घट्टेकुलोमा थियो। जेठा-बाठा गायक लामासँगै गुरुदेव रहन थाले। गायक लामाले रेडियो नेपालमा २०४० सालअघि नै कतिपय लोकगीत, आधुनिक गीत गाइसकेका थिए। ‘घाँसै काट्नु सान्नानी’, ‘गागानै खोला बाढी है आयो बगायो झिंगटा भन्देऊ सोल्टीलाई’, ‘को हो त्यो वन माली रूपकी रानी’ आदि। जसले कामतलाई भरोसा दिलाएको थियो। यो २०४० को दशकको उत्तरार्द्ध थियो।
कहिले रेडियो नेपाल त कहिले रात्रि गजल रेस्टुराँमा काम खोज्दै हिंड्न थाले दुवै कलाकार। तर लामा डिल्लीबजारको विजय मेमोरियल हाइस्कूलमा अंग्रेजी र गणितका पार्टटाइम शिक्षक थिए। जसले दुवैको रोजीरोटी चल्थ्यो। भूगोलपार्कको एक रेस्टुराँमा गुरुदेवलाई लामाले काम खोजिदिए। तर लामा आफैं पनि त्यस काममा हार्मोनियम वादकका रूपमा जोडिनुपर्यो। काठमाडौं आएको ६ महीनासम्म लामाकै सल्लाह र सहयोगमा गुरुदेव अगाडि बढे। त्यसपछि घरबाट कामतले जहान बालबच्चा पनि ल्याए र गुँड-गोलो छुट्याए।
रेडियो नेपालको वार्षिकोत्सव हुने र आधुनिक, शास्त्रीय आदि गायनमा स्पर्धा हुने भयो। सूचना पाएपछि लामा र कामतको जोडी सांगीतिक समर उत्रियो। नभन्दै गायनमा गुरुदेवले पहिलो इनिङै द्वितीय (२०५१ चैत २०) हुने अवसर प्राप्त गरे। गीत थियो ‘न मर्न सकें न त जिउन सकें, के दियौं सजाय तिमीले मलाई’ (रचना/संगीत भरत लामा)। यसपछि गुरुदेवको सिद्धि-प्रसिद्धि झनै उचालियो। रेडियो नेपालले पुरस्कृत कलाकार गुरुदेव कामतलाई सोझै स्वरपरीक्षा उत्तीर्णको प्रमाणपत्र प्रदान गर्यो। उनले गीत रेकर्डिङका लागि मौका पाए।
गायक कामतका कृति-कर्म
गुरुदेव कामतले गाएका केही गीतहरू ‘बिरानो यो आकाशमा चाँदीको बादल देखेर’ (सुफी शैली), ‘कुन बाटो जाने’ (र.स. भरत लामा), ‘तिमीले दिएका चोट’ (रचना सावित्री राउत), ‘आँसु पिउँदै जिन्दगी’ (संगीत दिनेश सुब्बा), ‘मेरो यति शान्त’ (रचना पुष्पलता आचार्य, संगीत फत्तेमान) आदि अनेकन् आधुनिक गीतका साथै भजन, राष्ट्रिय गीत, शास्त्रीय राग आदि छन्। त्यहीबीचमा उनले ‘गुरुकुल संगीत पाठशाला’ स्थापना गरी सैयौं चेला-चपेटा शिष्यहरू नेपाली संगीतको दुनियाँमा फैलाए।
आधुनिक तथा शास्त्रीय गायक गुरुदेव कामतले करीब चार दशक नेपाली संगीतको उन्नयन र आफ्ना आजीविकाका लागि काम गरे। उनको संगीतमा थुप्रै गायकगायिकाले आधुनिक गीतहरू गाएको पाइन्छ। उनको प्रस्तार भाग-१, क्यासेट प्रकाशित छ। गायक कामतले थुप्रै सम्मान तथा प्रशंसा पनि पाएका छन्। उनले दुई पटक आफ्नो एकल सांगीतिक प्रस्तुति शिष्यहरूका साथ ‘म्युजिकल सोइरी अफ गुरुदेव कामत’ राष्ट्रिय नाचघरमा भव्य रूपमा सम्पन्न गरेका थिए।
स्वभावले मिलनसार अनि मृदुभाषी सुरकर्मी कामत अन्तर्मुखी जस्तो लाग्थ्यो मलाई। रेडियो नेपालको संगीत प्रवर्द्धन समितिमा पनि सदस्य र सदस्यसचिवका हैसियतले सँगै रह्यौं करीब दुई वर्ष जति। स्वर-सुरका पक्का गायक कामतको तार सप्तकका सबै स्वरहरूमा आफ्ना गला-गिरगिट, मुर्की-मूर्च्छना दिन सक्ने क्षमता थियो। तालका आडी-बियालीमा पक्का थिए। उनी नेपालका सुफी शैलीको गायन गर्न सक्ने गायक थिए।
सोख र अन्त्य
प्रसिद्ध गायक भक्तराज आचार्य, गायिका तारादेवी र संगीतकार गोपाल योञ्जन जस्ता अग्रज कलाकारहरू गुरुदेवका मनचुनिन्दा अग्रज सुरकर्मी थिए। संगीतको सिलसिला र सिकन्जामा जोडिएर कामतले भारत, स्वीट्जरल्यान्ड, जर्मनी, दुबई आदि मुलुकको भ्रमण र एकल गायन प्रस्तुति पनि गरेका थिए। हरदम पान खाने आदत थियो। जलपानमा त्यत्ति ध्यान दिंदैनथे। रिस, डाह, ईर्ष्या उनले कहिल्यै व्यक्त गरेको देखिएन।
उनको इहलीला २०१५ असोज १५ गतेदेखि शुरू भएर २०८१ साउन १७ गतेसम्म रहन गयो। उनले नेपाली संगीतलाई पुर्याएको योगदान अविस्मरणीय छ। जो हामी उनका कृति, सुकीर्ति र कर्मद्वारा थाहा पाउँछौं। सादा जीवन, सरल व्यवहार र उच्च परिश्रमले गायक कामतलाई स्मरणीयका साथै स्तुत्य बनाएको हो। नेपाली संगीत जगत्ले हरदम सम्झिरहने कीर्तिशेष नाम नै गुरुदेव कामत हो।