गत आर्थिक वर्ष वैदेशिक अध्ययनमा जानेको संख्यामा नयाँ रेकर्ड कायम भएको छ।
आव २०८०/८१ मा वैदेशिक अध्ययनका लागि अहिलेसम्मकै धेरै अनुमतिपत्र जारी भएको छ। शिक्षा मन्त्रालयका अनुसार गत वर्ष एक लाख १२ हजार ५९३ विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमतिपत्र (नो अब्जेक्शन लेटर) लिएका छन्। आव २०७९/८० मा यस्तो अनुमति लिनेको संख्या एक लाख १० हजार २१७ थियो।
गत वर्ष नेपालीको वैदेशिक अध्ययनको गन्तव्यमा फेरबदल आएको छ। आव २०७९/८० मा वैदेशिक अध्ययनका लागि अनुमति लिएकामध्ये सबैभन्दा धेरै विद्यार्थी अस्ट्रेलिया पुगेका थिए। २८ हजार ७९ जनाले अस्ट्रेलियाका लागि अनुमति लिएका थिए। जापान दोस्रो र क्यानडा तेस्रो नम्बरमा थिए।
तर आव २०८०/८१ मा सर्वाधिक नेपाली विद्यार्थीले जापानमा अध्ययनका लागि अनुमति लिएका छन्। यो वर्ष ३४ हजार ७३१ जनाले जापानका लागि अनुमति लिएका थिए। त्यस्तै, क्यानडाका लागि १५ हजार ९८२ र अस्ट्रेलियाका लागि १४ हजार ३७२ जनाले अध्ययन अनुमतिपत्र लिएका छन्।
यसले बितेको वर्ष अस्ट्रेलियामा अध्ययन अनुमतिपत्र लिने विद्यार्थीको संख्या आधाले घटेको देखाउँछ। अस्ट्रेलियाले भिसामा कडाइ गरेसँगै गत वर्ष त्यहाँ जाने विद्यार्थीको संख्यामा कमी आएको अनुमान छ। जापानमा अध्ययनका लागि अनुमति लिने विद्यार्थीको संख्यामा उल्लेख्य वृद्धि भएको छ।
त्यस्तै, अमेरिकामा अध्ययनका लागि अनुमति पाउनेको संख्या पनि दोब्बरभन्दा पनि धेरै छ। आव २०७९/८० मा चार हजार ९८ जना नेपाली विद्यार्थीले अमेरिकामा अध्ययनका लागि अनुमतिपत्र लिएकामा आव २०८०/८१ मा ११ हजार २६१ जनाले अनुमतिपत्र लिएका छन्।
पछिल्ला वर्षमा नेपाली विद्यार्थीमाझ वैदेशिक अध्ययनको आकर्षण बढ्दो देखिएको छ। पछिल्लो एक दशकमा ६ लाख २८ हजारभन्दा बढी विद्यार्थीले वैदेशिक अध्ययनको अनुमति लिएका छन्। वैदेशिक अध्ययनमा गएकामध्ये धेरैजसो स्थायी रूपमा विदेशमा बस्ने गरेको बताइन्छ। एक दशकअघि बर्सेनि ३० हजारको हाराहारीमा मात्रै नेपाली विद्यार्थी वैदेशिक अध्ययनका लागि जाने गरेकोमा अहिले त्यो संख्या चार गुणाले बढिसकेको छ।
वैदेशिक अध्ययनका लागि विद्यार्थी जाने क्रम बढेसँगै देशबाट बाहिरिने रकम पनि उल्लेख्य बढेको छ। नेपाल राष्ट्र ब्यांकका अनुसार गत आव २०८०/८१ को जेठसम्म (११ महीना)मा वैदेशिक अध्ययनका लागि जाने नेपाली विद्यार्थीले एक खर्ब १७ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा लगेका छन्। आव २०७९/८० मा वैदेशिक अध्ययनका लागि नेपालबाट एक खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो।
एक दशकअघि वैदेशिक अध्ययनमा जाने विद्यार्थीले सरदरमा पाँच लाख ५४ हजार रुपैयाँ लैजान्थे। अहिले प्रतिविद्यार्थी खर्च ११ लाख ३४ हजार रुपैयाँ पुगेको छ।