काठमाडौं महानगरमा श्रम ब्यांक मार्फत रोजगारी
काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)ले ल्याएको ‘श्रम ब्यांक’ योजनाले वर्ष दिनमा ९०० युवालाई रोजगारी उपलब्ध गराएको छ।
काठमाडौं महानगरपालिकाको ‘रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि’ तथा ‘श्रम ब्यांक’ स्वर्णिम योजना अन्तर्गत धेरैले रोजगारी पाएका छन्।
काठमाडौंको बालाजुकी २५ वर्षीया लक्ष्मी कुइँकेलका धेरैजसो साथी वैदेशिक रोजगारीमा विदेश छन्। उनलाई पनि ‘यतै आऊ’ भनिराख्छन्। यता रोजगारी पनि थिएन।
यूरोप जाने तयारीका लागि ब्यूटीपार्लरको काम सिकिरहेकी उनी आमा बिरामी परेपछि भने दोधारमा परिन्। “देश छोडौं त बिरामी आमालाई कसले स्याहार्ला? यतै बसौं त झन् झन् आर्थिक समस्या थपिंदै थियो,” उनी सुनाउँछिन्।
त्यही वेला काठमाडौं महानगरपालिकाले शुरू गरेको ‘श्रम ब्यांक’ बारे जानकारी पाएको उनी बताउँछिन्। गत वैशाखमा रोजगारीका लागि श्रम ब्यांकमा आवेदन दिइन्। छनोट भएको सुनाउँदै उनी भन्छिन्, “श्रम ब्यांककै अफिसमा सहायक कर्मचारीका रूपमा जागीर पाएँ।”
श्रम ब्यांकमा उनको काम हो, अनलाइनबाट आवेदन दिन नजानेर कार्यालयमै पुग्नेहरूलाई फारम भर्न सघाउने, फारम दर्ता गर्ने, परामर्श दिने लगायत। श्रम ब्यांकको नियम अनुसार कर कट्टी गरेर दैनिक ७८१ रुपैयाँका दरले पारिश्रमिक पाएको उनी सुनाउँछिन्। “तीन महीनाको नियुक्ति असारमा सकिएको छ, नवीकरणका लागि निवेदन दिएकी छु,” उनी भन्छिन्।
जिल्ला विकास समिति अन्तर्गत जिल्ला समन्वय समिति, काठमाडौंको प्राविधिक शाखामा करारमा कार्यरत भक्तपुरका श्रीयुक्त ढुंगेल देश संघीयतामा गएसँगै बेरोजगार भए। नयाँ व्यवस्था अनुसार जिल्ला विकास समिति नै रहेन। त्यसपछि साथीहरूको कन्सल्टेन्सीमा काम थालेका उनी कोभिड-१९ पछि त्यो पनि बन्द हुँदा फेरि रोजगारी गुमाउन पुगे।
बेरोजगार भएर घरमै बसिरहेका वेला सामाजिक सञ्जालमा श्रम ब्यांकको सूचना देखे। डिप्लोमा इन सिभिल इन्जिनीयरिङ गरेका उनी छनोट भए। गत भदौदेखि विपद् व्यवस्थापन विभाग अन्तर्गत सरसफाइ कार्यक्रममा सुपरभाइजर भएर काम गरेको उनी सुनाउँछन्। शुरूआतमा तीन महीनाको नियुक्त पाएका उनी भन्छन्, “श्रम ब्यांकले कर्मचारीको काम र आवश्यकता हेरेर नियुक्ति थप गर्छ, मैले पनि असारसम्म काम गरें।”
उनले फेरि नवीकरणका लागि निवेदन दिएका छन्। “मेरो काम हेरेर नियुक्ति थप गरिएको थियो, यसपालि पनि बोलाउनुहुन्छ भन्ने विश्वास छ,” ढुंगेल भन्छन्।
यसरी काठमाडौं महानगरले गत वर्षदेखि सञ्चालन गरेको श्रम ब्यांक योजनामा बेरोजगार युवालाई रोजगारी दिइरहेको छ। यसका लागि महानगरले ‘श्रम ब्यांक सञ्चालन कार्यविधि, २०८०’ ल्याएको छ। संघीय सरकारले ल्याएको रोजगारीको हक सम्बन्धी ऐन, २०७५ मै टेकेर महानगरले कार्यविधि बनाएको हो। ऐनको दफा ८ मा तीनै तहका सरकारले ‘बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगार प्रदान गर्न, आवश्यक रोजगार प्रदान गर्न आवश्यक रोजगार कार्यक्रम सञ्चालन गर्न सक्ने’ व्यवस्था गरेको छ।
श्रम ब्यांक मार्फत महानगरले इच्छुक युवालाई योग्यता अनुसारको रोजगारी मात्रै दिइरहेको छैन, रोजगारदातालाई पनि आवश्यक कर्मचारी उपलब्ध गराइरहेको छ। बेरोजगार युवासँगै रोजगारदाताले पनि श्रम ब्यांकमा कर्मचारीका लागि आवेदन दिन सक्छन्। त्यसका आधारमा श्रम ब्यांकले रोजगारदाता र युवाबीच समन्वय गरिदिन्छ।
श्रम ब्यांकको समन्वयमा रोजगार पाउनेमध्ये एक हुन्, रक्षक लामिछाने। पर्यटन व्यवस्थापनमा स्नातकोत्तर गरिरहेका २७ वर्षीय लामिछानेले आफ्नो योग्यता खुलाएर जागीरका लागि आवेदन दिए।
त्यस्तै, ग्लोबल एक्सप्लोर ट्राभल्स एन्ड टूर प्रालिले पनि कर्मचारी खोजिरहेको थियो। “श्रम ब्यांकले सम्पर्क गराइदियो, अहिले ग्लोबल एक्सप्लोरमा मेनेजरका रूपमा काम गरिरहेको छु,” लामिछाने भन्छन्।
ग्लोबल एक्सप्लोरमा काम गर्न थालेको महीना दिन नाघेको छ। उनी आफ्नो योग्यता र रुचि अनुसारको काम पाएकामा खुशी छन्। यसमा नियुक्ति, तलब लगायत विषयमा कम्पनीसँगै सम्झौता हुन्छ।
श्रम ब्यांक मार्फत रोजगारी पाउन काठमाडौं महानगरकै स्थायी बासिन्दा हुनुपर्छ भन्ने छैन। काठमाडौं बाहिर स्थायी बसोबास भएका नागरिकले पनि रोजगारी पाउने गरेका छन्।
यस्तै, नुवाकोटकी ३४ वर्षीया गंगा श्रेष्ठ श्रम ब्यांक मार्फत काठमाडौंको सरस्वती निकेतन माविमा काम गरिरहेकी छन्। दुई महीनादेखि कार्यालय सहयोगीका रूपमा कार्यरत रहेको श्रेष्ठ बताउँछिन्।
श्रीमान्ले दोस्रो बिहे गरेपछि तीन सन्तानकी आमा श्रेष्ठले आर्थिक समस्या झेल्दै आएकी थिइन्। अरूको घरमा सरसफाइ गरेर छोराछोरी हुर्काइरहेकी उनले श्रम ब्यांक मार्फत स्कूलमा काम पाएकी हुन्। “स्कूलमा कर्मचारी चाहिएको रहेछ, मैले पनि श्रम ब्यांकमा निवेदन दिएकी थिएँ,” श्रेष्ठ भन्छिन्, “श्रम ब्यांकको प्रक्रिया पूरा गरेर स्कूलमा जागीर पाएँ।”
काठमाडौं महानगरले एक वर्षमा श्रम ब्यांक मार्फत ९११ जनालाई रोजगारी दिलाएको छ। उनीहरूमध्ये ५८२ जनाले महानगरकै विभिन्न विभागमा र ३२९ जनाले निजी क्षेत्रमा काम पाएका छन्। “बेरोजगारलाई तत्कालका लागि कम्तीमा १०० दिनको रोजगारी दिने उद्देश्य हो,” महानगरको सामाजिक विकास विभाग प्रमुख विमला कोइराला भन्छिन्।
यसका लागि काठमाडौं महानगरका बासिन्दालाई प्राथमिकतामा राखिएको कोइराला बताउँछिन्। व्यक्तिको स्थिति हेरेर बाहिरबाट आएर काठमाडौंमा बसोबास गरिरहेका बेरोजगारलाई पनि रोजगारी प्रदान गरिएको उनी बताउँछिन्।
श्रम ब्यांकले घरायसीदेखि सरकारी कार्यालयसम्म रोजगारको व्यवस्था गरिरहेको छ। यसमा १२५ वटा कामका लागि आवेदन दिन सकिने व्यवस्था छ। जसमा दक्ष, अर्धदक्ष र अदक्ष गरी तीन तहमा योग्यता छुट्याइन्छ। त्यही अनुसार रोजगारी पाइन्छ। यसमा धेरैजसो निरक्षर व्यक्ति जोडिएको कोइराला बताउँछिन्।
श्रम ब्यांकमा भौतिक रूपमा उपस्थित भएर वा अनलाइनबाट आवेदन दिन सकिन्छ। एक वर्षमा चार हजार ५४५ जनाले आवेदन दिएको महानगरको तथ्यांक छ। जसमा ९०८ जनाले अनलाइन मार्फत र तीन हजार ६३७ जना महानगरमा उपस्थित भएका थिए।
निजी क्षेत्रमा कम्पनीले आवश्यकता अनुसार नियुक्त गर्छ। सरकारी क्षेत्रमा भने १०० दिनका लागि नियुक्त गरिन्छ। काम र आवश्यकता हेरेर अवधि थप गर्न सकिने व्यवस्था रहेको श्रम ब्यांकका फोकल पर्सन पवनकुमार ठाकुर बताउँछन्। उनीहरूलाई पदीय हिसाबले दैनिक पारिश्रमिक दिने गरिएको ठाकुर बताउँछन्।
गत आर्थिक वर्ष २०८०/८१ मा श्रम ब्यांकका लागि महानगरले दुई करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको थियो। त्यसमध्ये एक करोड ११ लाख रुपैयाँ खर्च भएको वित्त विभागका महाशाखा प्रमुख विकास चित्रकार बताउँछन्।
महानगरले चालू आव २०८१/८२ मा पनि यस कार्यक्रमलाई निरन्तरता दिने भएको छ। तीन वर्षको अवधिमा पाँच हजार जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य रहेको ठाकुर बताउँछन्। “स्थायी कर्मचारीको पदपूर्ति भएको हुँदैन। कुनै न कुनै कार्यक्रमका लागि कर्मचारीको अभाव भइरहेको हुन्छ, त्यसैले यो कार्यक्रम चलिरहन्छ,” उनी भन्छन्, “निजी क्षेत्रलाई पनि कर्मचारी आवश्यक पर्दा श्रम ब्यांक मार्फत पठाइने हुँदा निरन्तरता दिन्छौं।”
श्रम ब्यांकमा आवेदन दिएका सबैलाई रोजगारी दिन नसक्दा गुनासो पनि आइरहेको उनी सुनाउँछन्। यस्तै, महानगरमा देशका विभिन्न भूभागबाट मान्छे आउने भएकाले सबैलाई रोजगारी दिन नसकिने उनी बताउँछन्। तथापि थोरै भए पनि राम्रो शुरूआत गरिएको उनको भनाइ छ।