काभा भलिबलमा नेपालको विजयी शुरूआत
काभा वुमन्स नेशन्स लिग भलिबलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा बिहीबार नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा हराएको हो। नेपालले पहिलो सेट २५-१९, दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-१९ ले जितेको छ।
प्रतियोगितामा नेपाल र श्रीलंकासँगै भारत, माल्दिभ्स र इरान सहभागी छन्। भारत र इरानबीच आज साँझ ५ः४५ बजे प्रतिस्पर्धा हुँदै छ।
राउन्ड रोबिन लिगका आधारमा अंकतालिकाको पहिलोदेखि चौथो टोली सेमिफाइनलमा पुग्नेछन् भने पाँचो टोली प्रतियोगिताबाट बाहिरिनेछ। सेमिफाइनलमा शीर्ष टोली र चौथो तथा दोस्रो र तेस्रो स्थानको टोलीबीच प्रतिस्पर्धा हुनेछ।
मध्य एशियाका क्याटेगोरी ‘ए’ र ‘बी’ मा रहेका पाँच देश सहभागी प्रतियोगिताको युवा तथा खेलकूदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका हुन। भलिबल खेललाई सरकारले विद्यालयको प्राथमिक तहदेखि नै प्राथमिकतामा राख्ने चौधरीले बताए।
प्रतियोगिता साउन १७ देखि २३ गतेसम्म सञ्चालन हुनेछ। जगदीश भट्ट प्रमुख प्रशिक्षक र भरत यादव सहायक प्रशिक्षक रहेको नेपालको नेतृत्व अरुणा शाहीले गरेकी छन्।
नेपाली टोली : अरुणा शाही (सेटर), सरस्वती चौधरी (स्पाइकर), उषा भण्डारी (स्पाइकर), पुनम चन्द (स्पाइकर), निरुता ठगुन्ना (स्पाइकर), कामना विष्ट (स्पाइकर), आरती सुवेदी (स्पाइकर), सफिया पुन (मिडल ब्लकर), सुमित्रा रेग्मी (मिडल ब्लकर), संगम महत (मिडल ब्लकर), कविता भट्ट (मिडल ब्लकर), प्रगति नाथ (सेटर), सलिना श्रेष्ठ (लिबेरो) र शान्तिकला तामाङ (लिबेरो)।