कलैतिहासिक कि मूर्तिचोर? कि दुवै?
नेपालका पुराना मूर्ति विदेशी म्यूजियममा पुर्याउने देशी-विदेशीहरूले आफ्नो बचाउमा जेजस्तो तर्क गरे पनि तिनको यो कृत्य विद्यारक्षा नभएर विशुद्ध चोरी हो।
केम्ब्रिज यूनिभर्सिटि प्रेसबाट ३० वर्षदेखि छापिँदै आएको संस्कृतिविषयक सम्पत्तिसम्बन्धी पत्रिकामा पोहर नेपालको संस्कृतिको, खास गरी कलाको इतिहासको खोजीमा अमिट छाप छोडेकी मेअरी शेप्अर्ड स्लसर (वि.सं. १९७५-२०७४)ले नेपाली कलाकृतिको अवैध बेपार गरेको बारे लामो लेख छापियो (इमिलिन स्मिथ र इरिन एल. थम्सन, ‘अ केस् स्टड्इ अफ् अक्याड्इम्इक् फ्यासिल्इटेशन् अफ् द ग्लोबल् इलिस्इट् ट्रेड् इन् कल्चरल् अब्जिक्ट्स्ः मेअरी स्लसर् इन् नेपाल्’, इन्टर्न्याश्अन्अल् जर्नल् अफ् कल्चरल् प्रप्अर्टि ३० ठेली, ई.सं. २०२३, २२-४१ पृ.)।
नेपालसम्बन्धी, खास गरी नृतत्त्व र समाजशास्त्रसम्बन्धी लेखले ठाउँ पाउने गरेको, केही यूरोपियन विद्वत्संस्थाले मिली चलाएको, अहिले अन्लाइनमा मात्र उपलभ्य पत्रिकामा मेअरी शेप्अर्ड स्लसरको महिमामा धब्बा नलागोस् भन्ने अभिप्रायले अनि त्यस लेखको प्रतिवाद गर्ने उद्देश्यले एउटा लेख छापियो (चार्ल्स र्याम्ब्ल, ‘इज् क्यान्सल् कल्चर् कम्इङ् टु हिमालयन् स्टड्इज्? रिमार्क्स् अन् अ रीस्न्ट् क्रिट्इक् अफ् द लाइफ् यान्ड् वर्क् अफ् मेअरी शेप्अर्ड् स्लसर्’, युरोपिअन् बुल्इटिन् अफ् हिमालयन् रिसर्च् ६१ अङ्क, १-८ पृ.)।
कलाकृतिको अवैध बेपार रोक्नमा तत्पर, अपराधशास्त्रका दुइ जना विशेषज्ञले नेपालको रिक्थ अर्थात् चल्तीको भाषामा सम्पदाको सुरक्षामा खायस राखी लेखेको लेखको प्रतिवाद खास गरी नृतत्त्व, भोटभाषा र भोटको पुरावृत्तका विशेषज्ञबाट भएकोले हामी जस्ता विद्याभ्यासीको लागि यी परिचर्चा चाखलाग्दा छन्। त्यसमाथि, यूरोप-अमेरिका पुगेका कलाकृतिका केही अंश फाट्टफुट्ट फर्किन लागेको अवसरमा गैरकानूनी तवरले नेपालबाट बाहिर पुगेका कलाकृति कसले कसरी लग्यो भनी खोजीनिधी हुन लाग्नु संयोग मात्र होइन होला।
वि.सं. २००७ मा नेपालमा प्रजातन्त्र आएपछि यहाँका लेखोट पुस्तक, अभिलेख, मूर्ति आदि पुरावस्तुको चोरी र बिक्री हुने र विदेशिने क्रम बढ्यो। यूरोप-अमेरिकाका, अझ भारतका पनि म्यूजियम र रइसहरूका बैठक नेपालका पुरावस्तुले सजिएका देखिन्छन्। ती पुरावस्तुको प्रदर्शन समयसमयमा बाहिरफेरका ठूल्ठूला शहरमा हुन्छन्। तिनको सूची नाउँ चलेका कलैतिहासिकहरूले तयार पार्छन्। चिल्ला कागतमा ती सूची छापिन्छन् र महँगो मोलमा बेचिन्छन्। पुरावस्तु लिलामीमा राख्न क्रिस्टी’ज र सोथ्बी’ज जस्ता संस्था खडा छन्। चोरिएर, बेचिएर गएका त्यस्ता पुरावस्तुको विषयमा कलैतिहासिकहरू लेख छाप्छन् र त्यस्तै लेखबाट पुरावस्तुको मोल तोक्न मद्दत मिल्छ। यसरी पुरावस्तुको चोरी र चोरिएका पुरावस्तुसम्बन्धी लेखको अन्योन्याश्रित सम्बन्ध छ। ठाडो भाषामा भन्ने हो भने, कलाको इतिहास लेखी धनमान कमाएका मानिसहरू चोरै नभए पनि धेरै अंशमा चोरका मतियार भने हुन्।
अमेरिकामा नेपालका प्राचीन कलाकृतिको प्रदर्शनी गर्ने निधो श्री ५ महेन्द्र (वि.सं. १९७७-२०२८, राज्यकाल वि.सं. २०११-२०२८)को अगुवाइमा भएपछि पुरातत्त्वविभागबाट न्यू योर्कको एशिया हाउस ग्यालरीमा नेपाली कलाकृति पठाइए। कलाकृतिको त्यो प्रदर्शनी प्रसिद्ध कलैतिहासिक स्टेला क्राम्रिश (वि.सं. १९५३-२०५०)को मातहतमा वि.सं. २०२१ को बर्खामा भयो र त्यहाँ देखाइने कलाकृतिको सूचीपत्र त्यही अवसरमा उनीले निकालिन् (दि आर्ट् अफ् नेपाल्, एशिया ससाइइटि, ई.सं. १९६४)।
श्री ५ महेन्द्रको फ्रान्सयात्राको अवसर पारी वि.सं. २०२३ कार्तिकमा प्यारिसमा नेपाली कलाकृतिको प्रदर्शनी गरियो, त्यहाँ देखाइने कलाकृतिको सूचीपत्र पनि निकालियो (नेपालीज् आर्ट्, काठमाडौँः श्री ५ को सरकार पुरातत्त्वविभाग, ई.सं. १९६६)। अनि फेरि वि.सं. २०२३ माघदेखि २०२४ वैशाखसम्म जर्मनीको एस्सेन शहरमा नेपाली कलाकृतिको प्रदर्शनी गरिँदा भारतविद्याका प्रख्यात प्रोफेसर अर्न्स्त वाल्द्स्मिद्त (वि.सं. १९५४-२०४१) र उनकी पत्नी रोज लिओनोर वाल्द्स्मिद्तले त्यहाँ देखाइने कलाकृतिको सूचीपत्र तयार गरेका थिए। त्यही सूचीपत्रको आधारमा ती दम्पतीले तयार गरेको पुस्तक लगत्तैजसो छापियो (नेपाल् : कुन्स्त् आउस् देम् कोनिग्राइख् इम् हिमालय, रेक्लिङ्हाउजेन : फेर्लाग ओरेल बोन्गर्स, ई.सं. १९६७)।
जर्मन भाषामा लेखिएको त्यस पुस्तकको अङ्ग्रेजी उल्था दुइ वर्षपछि बेलायतबाट र भारतबाट एकै चोटि छापियो (डेभिड विल्सनद्वारा अनूदित नेपाल् : आर्ट् ट्रेझ्अर्ज् फ्रम् द हिमालयज्, लण्डन : एलेक बुक्स लिमिटेड, ई.सं. १९६९ = कलकत्ता : अक्स्फोर्ड यान्ड आईबीएच पब्लिशिङ कम्पनि, ई.सं. १९६९)। यसरी नेपाली कलाकृतिको प्रदर्शनी पटक पटक अमेरिकामा र यूरोपमा भएकोले धेरैको दृष्टि हाम्रा कलाकृतितर्फ तानियो।
एउटा मुलुकको कलाकृति उठाई बैठक वा म्यूजियम सजाउने प्रथा चलेकोले एक कुनामा थन्किएर रहेका मूर्ति मात्र होइन, पूजा गरिइरहेका मूर्तिसुद्धा बाँकी नरहन थाले र धार्मिक मूर्तिहरू एकाएक नगदमा बदलिई कलाकृति हुन पुगे। आफूले तयार गरेको, चोरिएका मूर्तिको लगतमा पाश्चात्त्य शैलीका नामुद नेपाली चित्रकार मात्र नभई कलैतिहासिकमा पनि दरिएका लैनसिंह बाङ्गदेल (वि.सं. १९८१-२०५९)ले लेखेअनुसार ‘पुरातत्त्वको दृष्टिले धेरै किम्मती शिलामूर्ति ई.सं.को ६० को दशकको पछिल्लो अवधिदेखि हराउन थाले’ (स्टोलन् इमेज्इज् अफ् नेपाल्, काठमाडौँ : नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान, ई.सं. १९८९, प्रेफ्इस् १४ पृ.बाट मेरो उल्था)।
ई.सं. १९६४ मा अमेरिकामा पहिलो पटक न्यू योर्कको एशिया हाउस ग्यालरीमा नेपाली कलाकृतिको प्रदर्शनी भएपछि अमेरिकन सङ्ग्राहकहरू जुरमुराउन थाले र केही दशाब्दीभित्र उठाउन सकिनेमध्ये धेरैजसो कलाकृति पश्चिमी सङ्ग्रहमा पुगे भनी काठमाडौँमा घरजम गरी बसेका, बेलाइती पत्रकार थोमस बेलले लेखेका छन् (काठ्मान्डू, हरियाणाः र्यान्डम हाउस इन्डिअ, ई.सं. २०१४, २८८-२८९ पृ.)।
यसपछि त पुरावस्तुको निकासी अत्यन्त तीव्र गतिले बढ्यो। ‘कलाकृतिको चोरी अझै भइरहेको छ, ईसवी संवत्को १९७० र १९८० को दशाब्दीमा जस्तो ठूलो अनुपातमा छैन भने यसको खास कारण चोर्न लायकका सामग्री धेरै बाँकी नरहनु नै हो’ (फिलिप एच. पीअर्सद्वारा अनूदित द गड्ज् आर् लीभ्इङ् द कन्ट्रि : आर्ट् थेफ्ट् फ्रम् नेपाल्, ब्याङ्ककः अर्किड प्रेस, ई.सं. १९९८, १२ पृ.बाट मेरो उल्था) भनी नेपालबाट हराएका मूर्तिहरूका आद्य इतिवृत्तकार यूर्गेन शिकले वि.सं. २०५४ मा लेखेको कुरा चाखलाग्दो छ।
थोमस बेलले भने, यूर्गेन शिकले भनेकोभन्दा २० वर्षअगाडि नै मूर्ति चोरी हुन थालेको भनी लेखेका छन्। ‘ईसवी संवत्को १९५० र १९८० को दशाब्दीभित्र काठमाडौँबाट यति बिदि कलाकृति हराए कि केही पनि छोडिएको जस्तो देखिएन’ (काठ्मान्डू, २८२-२८३ पृ.बाट मेरो उल्था) उनी भन्छन्।
नेपालका पुरावस्तुको बहिर्गमनको विरोधमा संशोधन-मण्डलले लेख्न थालेको पनि ६९ वर्ष नाघिसक्यो। पहिलो पटक पुरातत्त्वविभागसँग यस विषयमा भएको मुठभेडको विषयमा पटक पटक लेखिए पनि फेरि एक पटक लेख्नु उपादेय नै होला।
हतियारबन्द सिपाहीको पहरा भएको पाटन दरबारको मूलचोकबाट वि.सं. २०१२ ताका ताम्रपत्रहरू हराउँदा वि.सं. २०१२ माघपूर्णिमामा निस्किएको, लक्ष्मण सत्याल (वि.सं. १९९१-२०७८), ऐश्वर्यधर शर्मा (वि.सं. १९९३-२०७४), अक्रूर कुइँकेल (वि.सं. १९९५-२०३८) र गौतमवज्र वज्राचार्यको इतिहास-संशोधन २१ संख्याको मुखपृष्ठमा यस्तो लेखिएको थियो-
‘पुरातत्त्वका झलमलाउँदा रत्नहरू हराउँदैछन्- अन्धकार बढ्दैछ- बालचन्द्र अन्धकारमा’
राजा योगनरेन्द्र मल्ल (वि.सं. १७२४-१७६२, राज्यकाल वि.सं. १७४१-१७६२)को ने.सं. ८२१ को ताम्रपत्रको पाठ दिइसकेपछि त्यस इतिहास-संशोधनमा यस्तो लेखिएको थियो-
‘यो तामापत्र पाटन मूलचोकको पश्चिम भागमा टाँसिराखेको थियो। पोहर हामीले यो तामापत्र त्यहाँ देखेथ्यौं। अहिले हेर्न जाँदा यो तामापत्र त्यहाँ रहेनछ। पोहर हामीले त्यहाँ देखेकामध्ये तीन चार वटा अरू पनि हराएछन्।’
वि.सं. २०१४ असार १० गते निस्किएको, धनवज्र वज्राचार्य (वि.सं. १९८८-२०५१)को इतिहास-संशोधन ९ संख्यामा राजा मानदेव (निश्चित राज्यकाल वि.सं. ५२१-५६३)की रानी क्षेमसुन्दरीले स्थापना गरेको शिवलिङ्गको (शक)संवत् ३९० को शिलालेख छपाउँदा पनि त्यही कुरा शब्दान्तरमा यसरी लेखिएको थियो-
‘आजकाल विदेशीका पैसा खान पल्केका केही स्वार्थीहरूले हाम्रो देशको इतिहासको साधनहरू विदेश्याउँदैछन्। त्यस्ता स्वार्थीहरूको कुकर्मले गर्दा धेरै ताम्रपत्रहरू हराउँदैछन्। यसको अलिकता उदाहरण लक्ष्मण-ऐश्वर्यधर-अक्रूर-गौतमवज्रहरूको इतिहास-संशोधन २१ संख्यामा परेको छ। यी गह्रुगा ढुङ्गा विदेशीको दलालहरूले बोक्न नसक्नु पनि हाम्रो देशको सौभाग्य हो।’
त्यसपछि पुरातत्त्वविभागबाट का.मु. डाइरेक्टर जनकलाल शर्मा (वि.सं. १९७८-२०५६)ले हस्ताक्षर गरेको, वि.सं. २०१४ साउन ३० गतेको चिठी धनवज्र वज्राचार्यलाई आयो। धनवज्रको भर्खरै माथि चर्चा गरिएको इतिहास-संशोधनबाट ‘आजकाल विदेशीका पैसा खान पल्केका केही स्वार्थीहरूले हाम्रो देशको इतिहासका साधनहरू विदेश्याउँदैछन्’ भन्ने वाक्यबाट उठेको पूरै कण्डिका सारी ‘यस संबन्धमा कुन कुन स्वार्थीले कुन कुन कुकर्म गरे तपाईँले आफ्ना पुस्तकमा दिनु भएको पूरा आधारहरूको उल्लेख गरी यस विभागलाई तीन दिन भित्र पठाई दिनु होला भन्ने अनुरोध छ’ भनी त्यस चिठीमा लेखिएको थियो।
यसको भोलिपल्टै ‘देशका पुरातत्त्वका वस्तुको रक्षा गर्ने काम पुरातत्त्वविभागको हो। चोर पत्ता लगाउने काम पुलीसविभागको हो। त्यस कारण पुरातत्त्वविभाग र पुलीसविभाग मिली त्यस्ता स्वार्थी पत्ता लाउनेछन् भन्ने आशा छ’ भन्ने बेहोराको जवाफ धनवज्रले पठाए। यसको दुइ हप्तामा जनकलालले हस्ताक्षर गरेको अर्को पत्र पुरातत्त्वविभागबाट आयो। त्यसमा ‘शिक्षामन्त्रालयको ... पत्रको निर्देशानुसार तपाई लाई सोधनी गरी पठाएकोमा तपाइँले दिनुभएको ... उत्तरपत्र शिक्षा सेक्रेटरीज्यू छेउ पेशहुँदा पुनः निम्न प्रकारको सोधनी भै आएकोले लेख्ने काम भएको छ’ भनी लेखिएकोबाट तात्कालिक शिक्षासेक्रेटरी केशरबहादुर खत्री क्षत्री (वि.सं. १९६४-२०५४)ले अह्राएकाले पुरातत्त्वविभागबाट धनवज्रलाई चिठी पठाइएको रहेछ भन्ने बुझिन्छ।
यसको जवाफमा धनवज्रले निकै लामो चिठी पुरातत्त्वविभागमा पठाए। यसरी यस्तो चिठीपत्र झन्डै एक महीनाको अन्तरालभित्र पुरातत्त्वविभाग र धनवज्रको बीचमा २ पटकसम्म भएको देखिन्छ (नयराज पन्त, ‘श्रीमान् यदुनाथ खनालज्यूले आफ्नो विद्वत्ता देखाउने समय आएको छ’, पूर्णिमा ३० पूर्णाङ्क, २०३०, ८९-९७ पृ.)। आखिर केही नलागेपछि पुरातत्त्वविभागलाई चूप लाग्न कर लाग्यो। यस्तो अवस्था किन आयो भन्ने कुरा खुलाउन अब केही लेख्नुपरेको छ।
विदेशीहरू नेपालमा खोजी गर्न आउन थालेदेखि नै नेपालीहरू उनीहरूका सहायक भई बस्ने परम्परा भएको र त्यसको विरोधमा नयराज पन्त (वि.सं. १९७०-२०५९) उत्रेकाले जूजेप्पे तुच्चि (वि.सं. १९५१-२०४०) र उनका चेला रेन्यरो न्योलिका पुस्तक प्रकाशित हुनुभन्दा अगाडिबाटै संशोधन-मण्डल र तुच्चिको संस्था इस्मेओको बीचमा ‘शीतयुद्ध’ चलिसकेको थियो। यसको प्रमाणको रूपमा वि.सं. २०१२ मा धनवज्र वज्राचार्य र ज्ञानमणि नेपाल (वि.सं. १९८९-२०८१)को नाउँमा छापिएको इतिहास-संशोधन ५ संख्यामा केशरबहादुर खत्री क्षत्रीको लेखको खण्डन गर्दा त्यसको मुखपृष्ठमा लेखिएको यस्तो विवरणतर्फ औंल्याउन सकिन्छ-
‘श्रीकेशरवहादुर खत्री क्षत्री एम. ए. ले फैलाउन खोज्नुभएको भ्रमको निराकरण
हामीले सप्रमाण खण्डन गरेका उहाँका उक्तिलाई सिद्ध गर्ने प्रमाण उहाँसँग छ वा उहाँले “महापुरुष तथा निष्पक्ष इतिहासकार” भनी प्रख्यापन गरिनुभएको श्रीजिशेप टुचीसँग छ भने पनि सो लिई हामीसंग शास्त्रार्थ गर्न आउनुहोला।’
लिच्छविकालका शिलालेख प्रकाशित गर्न मेजर केशरबहादुरलाई राणाशासनमै तुच्चिले प्रेरित गरेका थिए भन्ने कुरा खुद केशरबहादुरको पुस्तकमा छापिएको, उनको ‘परिचय’बाट थाहा पाइन्छ (केशरबहादुर के.सी., द जुडिश्अल् कस्टम्ज् अफ् नेपाल्, काठमाडौँः रत्नपुस्तकभण्डार, ई.सं. १९७१, ‘अबाउट् द अथर्’, १३ पृ.)। अभिसमयालंकारमा विमुक्तिसेनको टीकाको लेखोट पुस्तकको फोटो मेजर केशरबहादुरलाई दिनुभएमा उनले मकहाँ पठाइदिनेछन् (दिनेशराज पन्त, ‘हेमराज पण्डितज्यूलाई जूसेप्पे तुच्चिले पठाएका चार अप्रकाशित पत्र’, पूर्णिमा ८० पूर्णाङ्क, २०४८, ५२ पृ.) भनी ई.सं. १९५३ नोभेम्बर १० तारीख तदनुसार वि.सं. २०१० कार्तिक २५ गतेको दिन तुच्चिले हेमराज पण्डित (वि.सं. १९३५-२०१०)लाई लेखेकाले तुच्चिको सेवामा नेपालसरकारको शिक्षासेक्रेटरी भइसकेका केशरबहादुर लागिरहेको देखिन्छ।
लिच्छविकालका शिलालेख पढ्न केशरबहादुर सक्थे कि सक्थेनन्, मलाई थाहा छैन। उनी नेपालसरकारको माथिल्लो ओहदामा भएकाले र इस्मेओको पैसाको पनि पौल भएकोले उनले अभिलेख पढ्ने काममा केही अनुभव भएका श्रीनाथ पाँडे (वि.सं. १९७७-?), पूर्णहर्ष वज्राचार्य (वि.सं. १९७९-२०६९) र हेमराज शाक्य (वि.सं. १९८३-२०६६)बाट काम लिएका थिए। त्यसमाथि, वि.सं. १९९६ देखि २००२ सम्म काम गरी लिच्छविकालका शिलालेखका मूलपाठ, उल्था र व्याख्यासमेत हाली नयराज पन्तले तयार पारेको, अप्रकाशित पुस्तकमा केशरबहादुरको भित्रिया हुन पुगेका (ज्ञानमणि नेपाल, मेरो गुरुकुलीय शिक्षा र सहपाठी, काठमाडौँः ज्ञानगुन प्रकाशन, २०५४, १७५ पृ.), नयराजका मामा अर्थात् कान्छा मावली बाजेका छोरा श्रीनाथ पाँडेको पनि पहुँच थियो। यी सबै कारणले गर्दा इस्मेओमा लिच्छवि-शिलालेखको राम्रो सङ्ग्रह भयो।
अनि वि.सं. २०१३ मा जूजेप्पे तुच्चिका चेला रेन्यरो न्योलिको लिच्छविकालका शिलालेखको सङ्ग्रह (नेपालीज् इन्स्क्रिप्शन्ज् इन् गुप्त क्यार्अक्टर्ज् १-२ भाग, रोमः इस्मेओ, ई.सं. १९५६) प्रकाशित भयो। लिच्छविकालका, अघिबाट छापिइसकेका र छापिन बाँकी गरी ९२ वटा शिलालेख त्यस पुस्तकमा समेटिएका छन्। तीमध्ये भगवान्लाल इन्द्रजी (वि.सं. १८९६-१९४४)ले प्रकाश गरेका १५ वटा, सेसिल बेन्डल (वि.सं. १९१३-१९६२)ले प्रकाश गरेका ४ वटा र सिल्विं लेवि (वि.सं. १९१९-१९९२)ले प्रकाश गरेका २१ वटा गरी ३९ वटाभन्दा बाहेकका ५३ वटा शिलालेख पढेको श्रेय न्योलिले आफैंले लिने कोशिश त्यहाँ गरेका छन्।
परन्तु बाबुराम आचार्य (वि.सं. १९४४-२०२९), नयराज पन्त, नरहरिनाथ (वि.सं. १९७१-२०५९) आदि नेपालीले प्रकाशित गरिसकेका १३ वटा शिलालेख पनि न्योलिको पुस्तकमा परेकाले वास्तवमा उनले पहिलोपल्ट प्रकाशित गरेका शिलालेख ४० वटा मात्रै हुन्। ती १३ वटा शिलालेखलाई ‘अहिलेसम्म अप्रकाशित’ को रूपमा देखाई टिप्पणीमा चाहिँ ‘यसैबीच केही उत्कीर्ण लेख ई.सं. १९५३ मा काठमाडौँबाट छापिएको मासिक पत्रिका संस्कृत-संदेशमा नेपाली पण्डितहरूले प्रकाशित गरेका छन्’ (नेपालीज् इन्स्क्रिप्शन्ज् इन् गुप्त क्यार्अक्टर्ज्, १ भागमा तुच्चिको प्रेफ्इस् ९ पृ.बाट मेरो उल्था) भनी लेखिएकोले नेपालीहरूले गरेको अन्वेषणलाई त्यहाँ दोस्रो दर्जाको ठहर्याइएको देखिन्छ।
न्योलिको त्यस पुस्तकको प्रस्तावनामा तुच्चिले यस्तो लेखेका छन्-
‘यी उत्कीर्ण लेख खोज्ने श्रेय महामहिमा केशरबहादुरलाई छ। यसद्वारा नेपालका विगत कीर्तिमा विरल अनुरागको दृष्टान्त उहाँले आफ्ना देशवासीहरूको अगाडि राख्नुभएको छ। ... यस मुलुकका स्मृतिको लागि निःस्पृह प्रेमको उही भावनाले यस दृष्टान्तको अनुसरण अरूहरूले गरून् भन्ने मेरो इच्छा छ। ... महामहिमा केशरबहादुरले पठाउनुभएका शिलालेखका छापाको आधारमा डा. रेन्यरो न्योलिले यो पुस्तक तयार गरेका हुन्। महामहिमा केशरबहादुरले दया गरी मद्दत नगर्नुभएको भए यो ठेली कहिल्यै प्रकाशित हुन नसक्ने हुनाले मैले उहाँलाई फेरि पनि आखिरमा धन्यवाद दिनुपर्छ।’
(नेपालीज् इन्स्क्रिप्शन्ज् इन् गुप्त क्यार्अक्टर्ज्, १ भागमा प्रेफ्इस् १० पृ.बाट मेरो उल्था)
यसबाट लिच्छविकालका शिलालेखको खोजीको विषयमा केशरबहादुर र उनका सहयोगीहरूको भूमिकाबारे माथि लेखिएको कुराको पुष्टि हुन्छ। त्यति मात्र होइन, त्यस पुस्तकलाई ‘डेड्इकेट्इड् टु एच्. ई. केशर् बहादुर् याज् अ ग्रेट्फुल् होम्इज्’ अर्थात् ‘कृतज्ञ भई गरिएको अभिवन्दनको रूपमा महामहिमा केशरबहादुरलाई समर्पण गरिएको’ भनी त्यस पुस्तकमा लेखिएकोले त्यससँग केशरबहादुर कतिसम्म जोडिएका रहेछन् भन्ने स्पष्ट हुन्छ।
‘विदेशीका पैसा खान पल्केका स्वार्थी’ भनी केशरबहादुरतर्फ इङ्गित गरी वि.सं. २०१४ असारमा धनवज्रले त्यो इतिहास-संशोधन निकाल्दासम्म संशोधन-मण्डलवालाहरूले न्योलिले सम्पादन गरेको लिच्छविकालका शिलालेखको सङ्ग्रह वि.सं. २०१३ मै छापिइसकेको भए पनि देखेका थिएनन्। तर केशरबहादुरको क्रियाकलापसँग अनभिज्ञ नभएकाले त्यस्तो लेख्ने आँट उनीहरूलाई आएको थियो। यसैले चोरको खुट्टा काट् भन्दा खुट्टा उचाले झैँ गरी शिक्षा सेक्रेटरीको पदमा विराजमान केशरबहादुरले आफ्नो मातहतको पुरातत्त्वविभागमार्फत धनवज्रसँग स्पष्टीकरण मागी पत्र लेखाए। पुरातत्त्वविभागबाट भएको यस्तो चिठीपत्रको निहितार्थ धनवज्रको लेखाइबाट उतर्सिएका केशरबहादुरले उनलाई तर्साई ‘पुलीस केस’ खडा गर्नु थियो भन्ने देखिन्छ।
एक जना अमेरिकन अधिकृतकी गृहिणीको हैसियतले वि.सं. २०२२ मा यहाँ आउँदा वाशिङ्टनको स्मिथ्सोनियन इन्स्टिट्युशनको अवैतनिक कर्मचारीको रूपमा त्यस संस्थाको लागि नृतत्त्वसम्बन्धी सामग्री किन्ने आदेशपत्र पनि सँगै लिएर आएकी (ई.सं. २०१० फेब्रुअरी १९ तारीखमा मेअरी स्लसरले नील्स गुत्शोलाई लेखेको, तारागाउँ म्यूजियमको वेब्साइटमा पोस्ट गरिएको चिठी) मेअरी स्लसरले क्रमशः हात लामो पार्दै गई कलावस्तुको निकै सङ्ग्रह गरिन्। यससम्बन्धी केही कुरा उनीले ई.सं. २००३ मे १९ तारीखमा अन्लाइन पत्रिका एशियन् आर्ट्मा पोस्ट गरिएको, आफ्नो ‘कन्सर्भेशन् नोट्स् अन् सम् नेपालीज् पेन्ट्इङ्ज्’ भन्ने लेखमा लेखेकी छन्। त्यही लेखको एक अंशको उद्धरण थोमस बेलले पनि गरेका छन् (काठ्मान्डू, २८४-२८६ पृ.)।
नेपाल् मण्डलः अ कल्चरल् स्टड्इ अफ् द काठ्मान्डू भ्याल्इ (मेअरी शेप्अर्ड स्लसर, प्रिन्स्टनः यूनिभर्सिटि प्रेस, ई.सं. १९८२) जस्तो नेपाली कलाको इतिहाससम्बन्धी उत्तम ग्रन्थ मात्र होइन, त्यस्तै अरू अरू कृतिकी रचयित्रीले कलाकृति किनेर लगेको र फेरि अरूलाई बेचेको कुरासम्म एशियन् आर्ट्को माथि चर्चा गरिएको लेखमा उनी आफैँले बकेकी छिन्। नेपालमा खराब अवस्थामा रहेको कलाकृतिलाई ललितकलासम्बन्धी भर्जिनियाको म्यूजियममा सम्मान दिई राखिएको छ भनी स्लसरले वकालत गरेकीले कलाकृतिको गैरकानूनी निकासीमा बल मिलेको छ।
यो त कुनै आगममा रहेको, हाल रुबिन म्यूजियममा पुगेको हाथ द्यःको चित्र र मुकुण्डोको विषयमा गौतमवज्र वज्राचार्यले पितृदेवताको ‘यो दुर्लभ चित्र र भव्य मुकुण्डो पाएर रुबिन म्यूजियम धन्य भएको छ’ (नेपालीज् सीज्न्ज: रेन् यान्ड् रिट्युअल्, न्यू योर्कः रुबिन म्यूजियम अफ आर्ट, ई.सं. २०१६, १५९ पृ.बाट मेरो उल्था) भनी लेखेको जस्तो भयो।
अमेरिकाका कलैतिहासिकहरू नै काठमाडौँका कलाकृति लुट्न सिकाउँछन् भनी कमलप्रकाश मल्ल (वि.सं. १९९३-२०७५)ले एक जना विदेशी विद्वान्लाई ई.सं. १९८४ मा पठाएको चिठीमा लेखिएको कुरा (डेभिड सासून, ‘दि यान्टिक्विटिज् अफ् नेपाल्ः इट् इज् टाइम् टु स्टार्ट लिस्नइङ् टु कम्यूनिटिज् हूज् पोजेसन्ज् ह्याभ् बिकम् अब्जिक्ट्स् अफ् इन्टर्न्याश्अन्अल् कन्सम्प्शन्’, कल्चरल् सर्भाइभ्अल् क्वार्टर्लि १५ ठेली, ३ सङ्ख्या, ई.सं. १९९१ बाट मेरो उल्था) पनि यस प्रसङ्गमा चाखलाग्दो छ।
प्रतापादित्य पाल नेपाली कलाको इतिहासका ठूला विद्वान् हुन् र उनले नेपालका मूर्ति र चित्रको विषयमा छुट्टाछुट्टै ठेली मात्र नलेखी भारतीय कलाका विभिन्न पक्षमा कैयन् पुस्तक र लेख पनि लेखेको कुरा पुराविद्यामा चाख राख्ने हामीलाई थाहा छ। आफू लस एन्जेलस काउन्टि म्यूजियमको इन्-चार्ज भइरहेकै वेलामा ई.सं. १९८८ मा पालले एक जना पत्रकारलाई भनेको कुराको थोमस बेलले आफ्नो काठ्मान्डूमा गरेको उद्धरण पनि यस प्रसङ्गमा चाखलाग्दो छ- ‘जे पाइन्छ, त्यही किनेर तपाईँ सङ्ग्रह बनाउनुहुन्छ। संयोगवश बजारमा आएको कुनै कलाकृति चोरीसोरी भएर आएको होइन भन्ने हामीलाई लागेमा र त्यो किन्न सक्ने सामर्थ्य आफूमा भएमा हामी किन्छौँ।
कुनै कलाकृति किन्नुभन्दा अगाडि त्यो चोरिएको होइन भन्ने ग्यारन्टी बेच्नेले दिनुपर्छ भन्ने उम्मेद हामीले गरेका हुन्छौँ। यही एउटा कुरामा मात्र हामी सावधान हुन सक्छौँ। करको विषयमा राम्रो विचार गर्ने मान्छेले म्यूजियमलाई कुनै कलाकृति दिन खोज्यो भने उसले त्यो कहाँ पायो, त्यो हाम्रो चासो होइन। जुन देशको कलाकृति हो, त्यो त्यहीँ रहनुपर्छ भन्ने मेरो रोजाइ छ। तर त्यस्ता कलाकृति भएका मुलुकका सरकारको नै यस विषयमा राम्रो नीति हुनुपर्छ। तर सरकारका प्रमुखहरूको नै यसमा चाख छैन भने कलाकृति बाहिर गए जाऊन्। तपाईँ के गर्न सक्नुहुन्छ?’ (काठ्मान्डू , २८९ पृ.बाट मेरो उल्था)।
नचोरीकन र भन्सार नछलीकन पुराना कलाकृति बाहिर कसरी पुग्छन्? पालले जे भने, त्यो त भनाइ मात्र हो। हाम्रा जति कलाकृति बाहिर पुगेका छन्, ती चोरबाटोबाट नै पुगेका हुन्।
हाम्रा मन्दिरसुद्धा विदेशी पैसाले जीर्णोद्धार भइरहेको यस जमानामा काठ्मान्डू भ्याल्इ प्रिजर्भेशन ट्रस्टको लाइब्रेरीमा कलाकृतिको लिलामीका थरीथरीका सूचीपत्र राखिने (काठ्मान्डू, २८७ पृ.) गरेकोबाट के सन्देश मिल्छ भनी बढी कोट्ट्याइरहनु नपर्ला।
पुरावस्तुको सुरक्षा गर्ने नेपालीको इच्छा र हैसियत नभएकोले सुरक्षाको लागि ती वस्तु बाहिर जानु बेठीक होइन भन्ने तर्क पनि बराबर नसुनिने होइन। त्यस्तो तर्क मुखर भई स्लसरले वारंवार गरेकी छन्। उनीले १४ वर्षभन्दा अगाडि गरेको यस्तै तर्क १० वर्षअगाडि मात्र खोलिएको भए पनि विदेशीहरूको आशीर्वादले फले-फुलेको म्यूजियमको वेब्साइटबाट यहाँ उद्धरण गर्नुपरेको छ-
‘कलाकृतिको रक्षा गर्ने मेरा कोशिशको विषयमा तपाईँले सोध्नुभएको प्रश्नको विषयमा म के भनूँ? मेरो दृष्टिमा स्याहारसुसार नभएर देशभित्र नष्ट भइरहेका नेपाली चित्र देशबाहिर लगी धेरै खर्च लगाएर जान्ने मान्छेद्वारा तिनको जीर्णोद्धार गरेर र कलासम्बन्धी अमेरिकन म्यूजियमको सुरक्षित अवस्थामा राखेर मैले ठीक गरेँ भन्ने मेरो विचार छ। देशबाहिर गइसकेको एउटा बिलम्पौ सुरक्षित पार्न मैले मदत गरेँ, नत्र भने यसका चित्रलाई अलग अलग काटी कलाको बजारमा लग्नै आँटिएको थियो। यसको जीर्णोद्धार जान्ने मान्छेद्वारा गरियो र यो अहिले ललितकलासम्बन्धी भर्जिनियाको म्यूजियममा नेपालको शानदार कलाको प्रमाणको रूपमा हेर्न सकिन्छ।
धेरै देशको साझा राष्ट्रवादी दृष्टिअनुसार, नेपाली भूमि छोड्नुभन्दा ती चित्रहरू यहीँ कुहिनु नै राम्रो हो भनी नेपालीहरू बहस गर्छन्। अब प्रश्न उठ्छ, हामीमध्ये को ठीक छ? तपाईँलाई राम्रै थाहा छ, यस्ता वस्तुलाई विदेशमा सुरक्षापूर्वक राख्नु राम्रो कि जुन देशको हो त्यहीँ असुरक्षित अवस्थामा छोड्नु राम्रो हो भन्ने प्रश्न सार्वदेशिक हो र यसको समाधान हुन सक्दैन जस्तो देखिन्छ। यसमा मलाई निकै चासो लागेकोले एशियन् आर्ट्मा पोस्ट गरिएको, तपाईँले चर्चा गर्नुभएको लेखमा, अर्इएन्टेशन्ज् ३६ ठेली ४ अङ्क (ई.सं. २००५ मे, ७१-७४ पृ.)मा प्रकाशित ‘टर्न्इङ् अ ब्लाइन्ड् आइ’ भन्ने लेखमा र अन्यत्र मैले लेखेकी छु।’
(ई.सं. २०१० फेब्रुअरी १९ मा स्लसरले नील्स गुत्शोलाई लेखेको चिठीबाट मेरो उल्था)।
स्लसर मात्र होइन, उनीकी दिदी पनि अवैध तवरले कलाकृति किन्ने गर्थिन् भन्ने कुरा रुबिन म्यूजियममा सङ्ग्रह भएका कलाकृतिको प्रबन्ध र दर्तासम्बन्धी कामको प्रमुखले स्लसर बितेपछि उनीलाई श्रद्धाञ्जलि दिँदा लेखेको तलको वाक्यबाट स्पष्ट हुन्छ-
‘अण्डरग्य्राजुएट र ग्य्राजुएट तहमा कलेतिहास पढ्दा नेपाली कलाद्वारा मोहित भई मैले मेअरी स्लसरका नेपालसम्बन्धी कृति उत्साहपूर्वक पढेँ। यसको वर्षौँपछि, मेअरीलाई भेट्ने र उनीलाई ग्यालरीमा घुमाउने तिम्रो इच्छा छ कि भनी मलाई रुबिन म्यूजियमका डाइरेक्टरले सोद्धा म सन्न भएँ र अलिकति छक्क पनि परेँ। त्यस सङ्ग्रहमा रहेको, मलाई मन पर्ने कलाकृतिमध्ये एउटा, तेह्रौँ शताब्दीमा नेपालमा बनेको, महिषासुरमर्दिनी दुर्गाको काँसको मूर्तिअगाडि हामी उभिरहँदा ई.सं. १९६७ मा स्लसरकी दिदी उनीलाई भेट्न काठमाडौँ आएको वेलामा कसरी यो मूर्ति दिदीले हात पारेकी थिइन् भन्ने कुरा मेअरीले मलाई भन्न थाल्दा म स्तब्ध भएँ।
दिदी यहाँ भएको वेलामा मकहाँ एक दिन साँझपख मूर्ति बेच्ने एक जना केही कलाकृति लिई आए, ती कलाकृतिमध्ये दुर्गाको मूर्ति पनि थियो, धूलो चन्दन टीका र नैवेद्य जमेर जमठ भएको त्यो मूर्ति कुनै घरको पूजाकोठाबाट सीधै उठाएर ल्याएको हुनुपर्छ, बेच्नेले हजार डलर माग्दा जमानकमान गर्दै जाँदा तीन-चार सय डलरमा झर्ने देखियो, तर मलाई झट्का लाग्ने गरी दिदीले विचारै नपुर्याईकन म लिन्छु भनी उत्तिखेर पूरै पैसा तिर्नुभयो, दिदीले त्यो मूर्ति क्लिभ्ल्याण्डमा ल्याउनुभयो, यसलाई राम्रोसँग राखेको हुँदो हो त यो मूर्ति शानदार हो भनी मेअरीले भनिन्।
दिदी बितिसकेपछि त्यस मूर्तिसम्बन्धी आफ्नो अनुभव लेखेर र संरक्षण हुनुभन्दा अगाडिका र संरक्षण भइसकेपछिका त्यस मूर्तिका फोटा आफ्नो सङ्ग्रहबाट मेअरीले मलाई पठाइन्। यस्तो गौरवशाली मूर्ति कसरी हात पर्यो र यो मूर्ति कहाँको हो भन्ने विषयमा दृष्टसाक्षीले गरेको बयान सुन्नु दुवैलाई अर्थात् रुबिन म्यूजियमको सङ्ग्रहको लागि र खुद मेरो करीअरको लागि पनि मुख्य अंश हो।’
(मिसेल बेनेट सिमोरेला, ‘रिमेम्बर्इङ् स्कल्अर्ज् अफ् नेपालीज् आर्ट् मेअरी स्लसर् यान्ड् डिना बाङ्दे्ल्’, ई.सं. २०१७ सेप्टेम्बर २२ मा रुबिन म्यूजियमको वेब्साइटमा गरिएको पोष्ट)।
पूर्व र दक्षिणपूर्व एसिया, हिमालयक्षेत्र, भारतीय उपमहाद्वीप र मध्यपूर्वका कलाकृतिको विषयमा ५५ वर्ष यतादेखि हङ्कङबाट छापिँदै आएको अर्इएन्टेशन्ज् भन्ने द्वैमासिक पत्रिका खास गरी कलाकृतिको बेपार र सङ्ग्रह गर्नेहरूको लागि निकालिने गरेकोमा सन्देह छैन। बजार हेरी लेखिएका, स्लसरका लेख त्यस पत्रिकामा बराबर छापिने गरेकोमा पनि इमिलिन स्मिथ र इरिन एल. थम्सनले औँला ठड्याएको (इन्टर्न्याश्अन्अल् जर्नल् अफ् कल्चरल् प्रप्अर्टि ३० ठेली, २३ पृ.)लाई बेठीक भन्न मिल्दैन।
मैले अन्त लेखे जस्तै, ‘धर्मविरोधेन परद्रव्येच्छा’ (गौतमसूत्रवृत्ति ४।१।३) अर्थात् ‘नियममा बाधा पर्ने गरी अरूको आलमालको इच्छा गर्नुलाई लोभ भनिन्छ’ भनी हाम्रो शास्त्रमा ‘लोभ’को परिभाषा गरिएको छ। नेपालका मूर्ति, पुस्तक आदि पुरावस्तुको चोरी र बिक्री लोभकै खेल हुन्, तिनको विद्यारक्षासँग केही सम्बन्ध छैन’ (‘पुरावस्तुको चोरी र बिक्री’, राजधानी दैनिक, २०७०।१।१५।१, ७ पृ.)। त्यसैले जुन जुन विद्वान् र विदुषीहरूले यस्तो काम गरे, उनीहरूले आफ्नो बचोटको लागि जेजस्तो तर्क गरे पनि मूलतः त्यस्तो काम उनीहरूले लोभले गाँजेरै गरेका हुन्। यसैले यस विषयमा मेअरी स्लसरलाई बचाउने प्रयत्नको कुनै तुक छैन।
यो पनि पढ्नुहोस् :