जग्गा कब्जा गर्न मिटरब्याजपीडितको हत्या
धनुषाको धनुषाधाम नगरपालिका-३, मंगलपुरमा कुटपिट घटनामा ज्यान गुमाएका भोगेन्द्र ठाकुरको मिटरब्याजीले हत्या गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
जग्गा खरीद गर्दा भोगेन्द्रले गाउँकै शिवजी यादवबाट तीन लाख रुपैयाँ ऋण लिएका थिए। उनले ६ लाखमा स्थानीय भैरव महतोबाट जग्गा किनेका थिए। त्यति वेला शिवजीकै नाममा जग्गा पास गरिएको थियो। ऋण तिरेपछि भोगेन्द्रको नाममा नामसारी गर्ने सहमति भएको थियो।
त्यो ऋणको ब्याज गरेर पटक पटक गरी करीब नौ लाख रुपैयाँ शिवजीलाई तिरेको परिवारजन बताउँछन्। त्यति गर्दा पनि शिवजीले जग्गा फिर्ता गरेका थिएनन्। बरु पैसा दिनुपर्ने बताउँदै आएका थिए।
स्थानीय बासिन्दाका अनुसार भोगेन्द्रको हत्या गरेर जग्गा हड्पने योजनामा शिवजी लागेका थिए। त्यही क्रममा पछिल्लो पटक कुटपिटको घटना भएको मिटरब्याजपीडित संघर्ष समितिका अध्यक्ष मनोज पासमानले बताए।
साउन १४ गते पनि निहुँ खोजेर झगडा गरेको उनले बताए। भोगेन्द्रकी पत्नी चान्दा ठाकुर नुहाइरहेको वेला नागेश्वरकुमार मुखियाले मोबाइलबाट भिडिओ खिच्न खोजेका थिए। भोगेन्द्रले त्यसको विरोध गर्दा झगडा भएको थियो।
त्यसपछि सबै मिलेर कुटपिट गरेको पासमानले बताए। गम्भीर घाइते भएका भोगेन्द्र र चान्दीलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। अस्पताल पुर्याए लगत्तै चिकित्सकले भोगेन्द्रलाई मृत घोषणा गरेका थिए। चान्दाको भने उपचार भइरहेको छ।
योजनाबद्ध रूपमा भोगेन्द्रको हत्या गरेको भन्दै मधेश प्रदेशका मिटरब्याजपीडित जनकपुरधाम पुगेका छन्। उनीहरूले पीडितलाई न्याय र दोषीलाई कारबाही नहुँदासम्म शव नबुझ्ने बताएका छन्।
मिटरब्याजपीडित संघर्ष समितिका अध्यक्ष मनोजले घटनामा संलग्न रहेका शिवजी यादव, मुकेश मुखिया, सुरजी मुखिया, नागेश्वर मुखिया, मनिष मुखियालाई पक्राउ नगरेसम्म शव नबुझ्ने बताए।
जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन अवालेले घटनामा संग्लन रहेको अभियोगमा केहीलाई पक्राउ गरिएको बताए। पक्राउ गरिएका व्यक्तिको नाम सार्वजनिक गरिएको छैन।
मिटरब्याजसँग जोडिएको यस घटनाको सबै कोणबाट अनुसन्धान भइरहेको डीएसपी अवालेले बताए। “सामान्य विवाद मात्रै होइन, मिटरब्याजको विषय पनि जोडिएको छ,” उनले भने, “मृतककी श्रीमती घाइते छन्। उनीसँग पनि बयान लिएर अनुसन्धान अगाडि बढाउँछौं।”