मापसे जस्तै ज्यानमारा लापसे
मापसे जस्तै लापसेका कारण पनि सडक दुर्घटनामा ज्यान गइरहेको छ, तर स्रोतसाधनको अभावले पर्याप्त जाँच हुन सकेको छैन।
२०८० फागुन २७ गते बिहान साढे १० बजेतिर प्रदेश ३-०१-००५ ख ९७५५ नम्बरको यात्रुवाहक बसले काेटेश्वरमा ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरी नायब निरीक्षक (सई) टोपबहादुर खत्रीलाई ठक्कर दियो। सई खत्रीको टाउकामा गहिरो चोट लाग्यो। माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा त्यही दिन अपराह्न ज्यान गयो।
ठक्कर दिने बस धनुषाको जनकनन्दिनी गाउँपालिकाका ३० वर्षीय नवराज गिरी पछिल्लो समय काठमाडौंमा जुनेली यातायातको बस हाँक्थे। पाँच वर्षदेखि चक्रपथमा बस हाँकीरहेका गिरीको पिसाब परीक्षण गर्दा गाँजा खाएको देखिएको थियो।
दुर्घटनाको अघिल्लो साँझ पशुपतिनाथ मन्दिर घुम्न जाँदा एक जना साधुसँग मागेर गाँजा खाएको उनकाे दाबी थियाे। गिरी विरुद्ध लागूऔषध सेवन गरेको, लापरवाहीपूर्वक सवारी चलाएर ज्यान लिएको कसूरमा मुद्दा दर्ता भएको थियो।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले गत असार ४ मा गिरीलाई लागूऔषधको कसूरमा दुई महीना कैद सजाय सुनाएको छ। लागूऔषध (नियन्त्रण) ऐन अनुसार लागूपदार्थ सेवनकर्तालाई एक महीनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
तर उनी यसअघि पनि दुई पटक चोरी अभियोगमा कसूरदार ठहरिएकाले एक महीना कैद सजाय थपिएको जिल्ला अदालतका स्रेस्तेदार रामु शर्मा बताउँछन्।
ट्राफिक प्रहरीले अनाहकमा ज्यान गुमाएको यो घटनाले देखाउँछ- मादक पदार्थ सेवन (मापसे) मात्र होइन, लागूपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउँदा पनि गम्भीर दुर्घटना निम्तिइरहेको छ। लापसेकै कारण यस्तै अर्को डरलाग्दो दुर्घटना भयो, साउन ७ गते काठमाडौंमा।
कुलेश्वरमा बा.११ च ५९१६ नम्बरको कार सडक छोडेर पेटीमा चढ्दा पैदल हिंडिरहेका तीन जना घाइते भए। विपरीत दिशाको लेन हुँदै सडक पेटीमा उक्लिएर कारले पैदल यात्रीलाई किचेको प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी बताउँछन्।
कारले किच्दा हाल डल्लुमा बस्दै आएका भारतको मोतिहारीका प्रियंशु कुमार, भोला कुमार र श्यामबाबु ठाकुर घाइते भएका हुन्। तीनै जनाको बल्खुस्थित वयोधा अस्पतालमा उपचार भइरहेको प्रहरी वृत्त, कालीमाटीका प्रहरी नायब उपरीक्षक (डीएसपी) रूपक खड्का बताउँछन्।
१८ वर्षीय प्रियंशुको टाउकामा गहिरो चोट लागेको छ। आईसीयूमा राखिएका उनलाई साउन १४ गते मात्रै वार्डमा सारिएको अनुसन्धान अधिकृत प्रहरी हवल्दार राजु चौधरी बताउँछन्। खुट्टामा चोट लागेका १९ वर्षीय श्यामबाबुको साउन १५ गते शल्यक्रिया गरिएको छ। त्यस्तै, २५ वर्षीय भोला कुमारको पनि खुट्टाको शल्यक्रिया गर्नुपर्ने भएको छ।
कार चालक ४८ वर्षीय भूपेन्द्र श्रेष्ठले ‘बेन्जोज’ खाएर कार चलाएको परीक्षणबाट पुष्टि भएको छ। बेन्जोज भनिने ‘बेन्जोडाइजेपाइन’ लागूपदार्थ ‘एन्जाइटी’ र यससँग सम्बन्धित मानसिक समस्याको उपचारमा प्रयोग गरिन्छ। उनको साथबाट बेन्जोज पनि बरामद गरिएको प्रहरीको भनाइ छ। श्रेष्ठ अहिले अनुसन्धानका लागि न्यायिक हिरासतमा छन्।
प्रहरीका अनुसार उनले चलाएको कार पैदल यात्रीलाई ठक्कर दिएर सडकछेउको कुलो बनाउन राखेको सिमेन्टको ब्लकमा बजारिएको थियो। कारको अगाडिको भाग कच्याककुचुक भएको छ।
लागूपदार्थ सेवन गर्दै आएका उनी यसअघि सानेपास्थित स्पार्क नेपाल संस्थाको सुधारगृहमा बसेको देखिएको प्रहरी अनुसन्धानमा खुलेको छ। क्रमशः कम डोजको लागूऔषध दिंदै दुर्व्यसन छुटाउन चिकित्सकले ‘नाइट्रोभेट-१०’ औषधि सेवन गर्न सिफारिश गरेका थिए। उनले भने ‘बेन्जोज’ खाएर गाडी चलाएको प्रहरीको भनाइ छ।
मापसेमा कडाइ भएपछि गाडी चालकले लापसे गर्न थालेको प्रहरीको अनुसन्धानमा देखिएको छ। मापसे जस्तै लापसे पनि सडक दुर्घटनाको मूल कारण बन्दै गएको प्रहरीको भनाइ छ।
मापसेका कारण उपत्यकामा बर्सेनि ६०० भन्दा बढी सडक दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ। दुर्घटनाको तेस्रो ठूलो कारण मापसे रहेको प्रहरी अभिलेख छ। सडक दुर्घटनापछि मापसे जाँच अनिवार्य भए पनि लापसे जाँच गरिंदैन। जसले गर्दा लापसेकै कारण भएका दुर्घटनाको भिन्दै अभिलेख छैन।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोले साउन ११ मा काठमाडौं भित्रिने मुख्य नाका थानकोटमा परीक्षण गर्दा ६ जना चालकले लापसे गरेर गाडी हाँकेको भेटिएको थियो। उनीहरू मालवाहक र यात्रुवाहक गाडीका चालक थिए। छोटो-लामो सबै खाले रूटका चालकले लापसे गरेको पाइएको उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवन श्रेष्ठ बताउँछन्।
पछिल्लो समय प्रहरीले गरिरहेको जाँचमा सबै खाले रूटमा चल्ने सवारीसाधनदेखि मालवाहक, यात्रुवाहक, निजी सवारीसाधनका चालकसम्मले लापसे गरेको पाइएको छ। मापसे जस्तै लापसेको पनि गाडी चालकमा लत बसेको देखिएकाले सार्वजनिक बसमा जाँच गर्न थालिएको एसएसपी श्रेष्ठ बताउँछन्। “एउटा चालकको गल्तीले धेरै मानिसको ज्यान जोखिममा पर्ने भएकाले सार्वजनिक बसमा केन्द्रित भएका हौं,” उनी भन्छन्, “तर शंका लागेमा सबैलाई जाँच्छौं।”
काठमाडौं उपत्यकामा मात्रै गत आर्थिक वर्षमा लापसे गरेका १९२ चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीको तथ्यांक छ। आव २०७९/८० मा लापसे गर्दा कारबाही पर्नेको संख्या १४९ थियो। काठमाडौं उपत्यकामा लापसे जाँच हुन थालेको २०७९ सालदेखि मात्र हो। उपत्यका बाहिर भने दशकअघिदेखि नै लापसे जाँच हुँदै आएको छ। यद्यपि उपत्यका बाहिरको लापसेको तथ्यांक प्रहरीसँग छैन।
लापसे जाँच कठिन
लापसेको जाँच मापसेभन्दा केही गाह्रो छ। यसका लागि छुट्टै किट हुन्छ। शंका लागेको व्यक्तिको पिसाब लापसे जाँच्ने ‘किट’ मा राखेपछि ‘नेगेटिभ’ वा ‘पोजेटिभ’ संकेत आउँछ।
एसएसपी श्रेष्ठका अनुसार जाँच्ने टोलीमा स्वास्थ्यकर्मी पनि हुनुपर्छ। त्यसैले प्रक्रियागत हिसाबले पनि मापसेभन्दा लापसे जाँच केही कठिन छ। “मापसे त ड्यूटीमा खटिएको व्यक्तिले जाँच्न सक्छ, तर लापसे जाँच्न प्राविधिक जनशक्ति चाहिन्छ,” उनी भन्छन्।
लापसे जाँच्ने किट एक पटक प्रयोग गरेपछि फेरि प्रयोग गर्न मिल्दैन। एउटा किटको ७०० रुपैयाँसम्म पर्छ। महँगो भएकाले प्रहरीसँग पर्याप्त किट पनि छैन। गत वर्ष उपत्यकामा जम्माजम्मी हजार किट मात्रै थिए। यस हिसाबले गत वर्ष काठमाडौं उपत्यकामा हजार जनामा मात्रै लापसे जाँच गरियो। जबकि ४० हजार जनामा मापसे परीक्षण गरिएको थियो।
लापसे जाँच खर्चिलो भएकाले पनि पुग्दो उपकरण प्रहरीसँग नभएको एसएसपी श्रेष्ठ बताउँछन्। “तैपनि हरेक वर्ष जाँच बढाउँदै लगिरहेका छौं,” उनी भन्छन्।
काठमाडौं बाहिर पनि लापसे गरेर गाडी चलाएको पाइएको छ। २०८० साउनदेखि पुससम्म लापसे गरेर गाडी चलाउने कोशीमा २८, गण्डकीमा ८८, लुम्बिनीमा २० र सुदूरपश्चिम प्रदेशमा २५ जनालाई कारबाही गरिएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ।
लापसेमा सीधै मुद्दा
मापसे गरेका चालकले जरिवाना तिर्नुपर्छ। तर लापसे गरेका चालकलाई ट्राफिक प्रहरीले लागूऔषध सेवन (नियन्त्रण) ऐन अनुसारको कसूरमा कारबाहीका लागि मुद्दा चलाउन अरू प्रहरी युनिटमा पठाउँछ। कानूनले वर्जित गरेको लागूऔषध सेवनको अभियोग अदालतमा मुद्दा दर्ता गरिन्छ।
अहिलेसम्म अधिकांश चालकले गाँजा सेवन गरेको भेटिएको प्रहरीको भनाइ छ। केही निजी सवारी चालकले भने हेरोइन समेत खाएको भेटिएको एसएसपी श्रेष्ठ बताउँछन्। तर हेरोइन सेवनकर्ता अपवादका रूपमा भेटिन्छन्।
गाँजा सेवनकर्तालाई एक महीनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। अदालतले चालकलाई दुर्घटनामा कसैको ज्यान गएको छैन भने अक्सर धरौटी लिएर छोडिदिने गरेको छ। तीन वर्षभन्दा कम कैद सजाय हुने मुद्दामा अदालतले धरौटीमा छोड्छ।
धरौटीमा छुटेपछि पनि कतिपय चालकले फेरि लापसे गरेको पाइएको एसएसपी श्रेष्ठ बताउँछन्। “अझ बढी जाँच गर्ने हो भने लापसे नियन्त्रण प्रभावकारी हुने ठानेका छौं,” उनी भन्छन्, “यसका लागि स्रोतसाधन पर्याप्त हुनुपर्यो।”