एक्लोपनमा निस्सासिएकी युवती
जापानी लेखक मिएको कावाकामीले उनका अघिल्ला पुस्तकहरूमा झैं अल द लभर्स इन द नाइटमा मानवीय संवेदनाका सूक्ष्म पाटा प्रस्तुत गरेकी छन्।
गत १० मेमा बूकर पुरस्कारको वेबसाइटमा एउटा लेख प्रकाशित छ, ‘कोरिया र जापानका आख्यान अंग्रेजीभाषी पाठकमाझ किन यति धेरै लोकप्रिय छन्’ शीर्षकमा। यसको एउटा कारण खुट्याउँदै लेखमा सेराह साफी लेख्छिन्, ‘जापानी लेखकहरू मानवीय संवेदनाका त्यस्ता पाटाबारे बोल्छन्, जुन हामी बेवास्ता गरिदिन्छौं।’
लेखमा उनले जापानी लेखक मिएको कावाकामीको पनि नाम लिएकी छिन्। मिएको कवि तथा छोटा कथा र उपन्यास लेख्ने आख्यानकार हुन्। उनले ख्याति भने उपन्यासबाट कमाएकी छिन्। जापानी भाषामा आख्यान लेख्छिन् उनी, तर अंग्रेजी अनुवादका कारण विश्वभरिका पाठकमाझ परिचित छिन्।
आख्यानमा उनी कुनै ठूलो मुद्दा उठाउँदिनन्। सानामसिना कुरा गर्छिन्, जसले पाठकलाई मोहित पार्छन्। सेराहले भने झैं अरूले बेवास्ता गर्ने मानवीय संवेदनाका सूक्ष्म पक्षलाई उनी आख्यानमा प्रस्तुत गर्छिन्।
मिएकोका सन् २०२० मा ब्रेस्ट्स एन्ड एग्स (जापानी भाषामा सन् २०१९ मा) र २०२१ मा हेभन (जापानीमा २००९ मा) उपन्यास प्रकाशन भएका थिए। यी दुई उपन्यासले नै उनलाई विश्वका पाठकमाझ पुर्याए। हेभन त द बूकर पुरस्कार २०२२ को संक्षिप्त सूचीमा पनि परेको थियो।
उनको पछिल्लो उपन्यास हो, अल द लभर्स इन द नाइट। जापानी भाषामा सन् २०११ मा प्रकाशित यो पुस्तक अंग्रेजीभाषी पाठकका लागि २०२२ मा मात्र आयो। पुस्तकको शीर्षकले प्रेमीहरूको कुरा गरे पनि उपन्यास प्रेमकथा होइन। यो त्यस्तो कथा हो, जहाँ लेखक मिएकोले अविवाहित र असामाजिक प्रकृतिकी एक युवती पात्र मार्फत एकान्त र निजात्मकताको सूक्ष्म पत्र केलाएकी छन्।
उपन्यास ३० वर्ष काटेकी युवती फुयुकोको कथा हो। टोक्यो शहरमा एक्लै बस्छिन् उनी, जहाँ नयाँ सम्बन्ध बनाउन सजिलो छैन। उनको जीवनमा एक्लोपन बाहेक केही छैन। कुनै अमुक प्रकाशकका लागि भाषा सम्पादनको काम गर्ने उनको आफ्नो सम्पादक हिजिरी बाहेक अरू कसैसँग नियमित सम्पर्क छैन।
प्रायः मानिस झैं फुयुको पनि उमेरको एक कठिन परिस्थितिमा छिन्। उमेरको तीस वसन्तले उनको जीवनमा आफू को हुँ र के चाहन्छु भन्न सक्ने अवस्थामा त पुर्याएको छ, त्योसँगै जीवनबारे धेरै तनाव पनि थपिदिएको छ। एक हिसाबमा उनी जीवनको संक्रमणकालमा छिन्। गरिरहेको काममा उनी खुशी छैनन्। एक्ली छिन्, तर एक्लोपनमा रमाउन सकेकी छैनन्। उनलाई गहिरिएर हेर्दा उनीसँग जीवनको निस्सारताको अध्याय देखिन्छ। तर उनको उपस्थितिलाई हामी निस्सार भन्न सक्दैनौं।
उपन्यासको शुरूआतमै फुयुको भन्छिन्, “रात किन यति सुन्दर हुन्छ थाहा छ? किनकि यसले हामीलाई रुने स्वतन्त्रता दिन्छ।” लेखकले दिएको रातको विम्बले कथानकबारे धेरै कुरा बोल्छ। तीन दशक नाघिसक्दा प्रेम कहिल्यै अनुभूत नगरेकी उनका लागि शायद रात त्यस्तो समय हो, जहाँ उनी आफूलाई खुलेर पोख्न सक्छिन्।
उपन्यासमा धेरै पात्र छैनन्। फुयुकोसँगै काम गर्ने अर्की पात्र छिन्, हिजिरी। उनीहरू समान उमेरका भए पनि फुयुकोभन्दा हिजिरी धेरै फरक छिन्। कामको उही परिस्थितिमा अल्झिए पनि फुयुकोको जस्तो उनको जीवन एक्लो छैन। उनले प्रेमलाई बुझेकी छिन् र प्रेमबाट बाहिर निस्किएकी पनि छिन्। उनी भन्छिन्, “कसैलाई मन पराउनु, माया गर्नु राम्रो कुरा हो, तर त्यो अनुभूति दोहोरो नै हुनुपर्छ भन्ने छैन।” जीवनका प्रशस्त अनुभवले उनलाई जीवनप्रति सम्यक् दृष्टि राख्न सक्ने परिपक्वता दिए झैं लाग्छ।
एक्लो र एकसुरले बाँचिरहेकी फुयुकोको जीवन आफूभन्दा दोब्बर बढी उमेरका मिटिसुसाकासँगको भेटपछि बदलिन्छ। जीवन र आफैंलाई हेर्ने दृष्टिकोणमा बिस्तारै परिवर्तन आउँछ। उनी मिटिसुसाकालाई मन पराउन थाल्छिन्। उनलाई आफू प्रेममा परेको महसूस हुन्छ। यो बिछट्टै नयाँ अनुभूतिसँगै उनले आफूमा त्यस्ता परिवर्तन भेट्छिन्, जुन विगतमा कहिल्यै थिएन।
कहिल्यै राम्रो नलाग्ने आफ्नो शरीर अब उनलाई आकर्षक लाग्छ। सीधा रेखामा बगेको नीरस र अँध्यारो जीवनमा रोमाञ्च, तरंग र उज्यालो छाउँछ। तर त्यो खुशी उनको जीवनमा लामो समय टिक्दैन। एकतर्फी प्रेम अन्ततः एकोहोरो नै बनेर टुंगिन्छ। उनी भन्छिन्, “अब उज्यालो गएको छ। म आफ्ना आँखा बिस्तारै चिम्लने कोशिश गर्छु, लाग्छ यो क्षणिक हो, फेरि अर्को बिहानी केही उज्यालो बोकेर आउनेछ।” उनको यो अभिव्यक्तिमा प्रेमको अनुभूतिले उनमा ल्याएको परिवर्तन देख्न सकिन्छ।
उपन्यासकार मिएको कावाकामीको काम अघिल्ला उपन्यासमा जस्तै यसमा पनि चामत्कारिक र मनोहारी छ। भाषा-शैलीसँगै विषयवस्तुले पनि मन जित्छ। जसरी उनले फुयुकोको जीवनको एक्लोपन र प्रेमको अनुभूतिपछि आएको फरकपन देखाएकी छन्, त्यसमा आफूलाई जोडेर पाठक मीठो गरी कुतकुतिन सक्छन्।
लेखकले दुई पात्र फुयुको र हिजिरी मार्फत जीवनका दुई आयाम देखाएकी छन्, जुन गहिरो र कवितात्मक लाग्छ। उही उमेरका महिला भए पनि उनीहरू दुई भिन्न व्यक्तित्वका छन्। हिजिरीमा जीवनप्रतिको बुझाइ छ, भोगाइले दिएको परिपक्वता छ। श्रीमान् विना नै उनी आमा बन्दै छिन्, जुन तत्कालीन जापानी समाजका लागि पाच्य छैन। तर उनले समाजलाई होइन, आफैंलाई केन्द्रमा राखेकी छिन्, आफ्नै खुशीलाई प्राथमिकता दिएकी छिन्। उनले जीवन भरपूर आनन्द लिंदै जिएको देखिन्छ। तर फुयुकोको जीवन यसको ठीक विपरीत छ। उनमा अनुभव र अनुभूतिबाट जीवनमा आउने स्थिरताको कमी छ।
लेखक मिएको कावाकामीले उनका अघिल्ला पुस्तकहरूमा झैं अल द लभर्स इन द नाइटमा पनि जीवनका मसिना पाटा प्रस्तुत गरेकी छन्। स्त्रीत्वबारे विभिन्न आख्यानमा प्रशस्त लेखिए पनि उनले फुयुको र हिजिरी मार्फत स्त्रीत्वका ससाना पक्षबारे गहिराइमा बोलेकी छिन्। एक जना असामाजिक छिन्, अर्की सामाजिक। एकले जीवन जिउन जाने झैं लाग्छ, अर्कोले नजाने झैं। एउटै उमेरका भए पनि एकले अर्कोलाई भन्न मिल्ने जीवनका बेग्लाबेग्लै कथानक छन्।
मिएकोका अघिल्ला आख्यानमा झैं यसमा पनि समाजले नरुचाएका पात्रहरूका कुरा भनिएको छ। यस अर्थमा उपन्यासले समाजको त्यो तप्काबारे बोल्छ, जसबारे बोल्न हामी अझै पनि हिचकिचाउँछौं।