देशभरका दर्जन स्थानमा अत्यधिक वर्षा, कहाँ कति?
पछिल्लो २४ घण्टामा देशभरका एक दर्जन स्थानमा अत्यधिक वर्षा भएको छ।
गए रातिदेखिको अविरल वर्षाले काठमाडौं उपत्यकाको जनजीवन प्रभावित बनेको छ। बल्खु खोलाले बगाउँदा काठमाडौंमा एक जनाको ज्यान गएको छ।
यस्तै, वर्षाका कारण भोजपुरको इखुवा खोलामा आएको बाढीले १४.५ मेगावाटको निर्माणाधीन माथिल्लो इखुवा खोला जलविद्युत् आयोजनामा क्षति पुर्याएको छ। बाढीले बगाउँदा उक्त आयोजनामा कार्यरत दुई जना हराइरहेका छन्। देशका अन्य कैयौं क्षेत्रमा बाढीपहिरो र डुबानले जनजीवन प्रभावित छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बितेको २४ घण्टामा देशका एक दर्जन स्थानमा धेरै भारी वर्षा भएको छ। विभागले २४ घण्टाको अवधिमा १०० मिलिमिटर वा सोभन्दा बढी तथा २०० मिलिमिटरभन्दा कम वर्षा हुने स्थितिलाई धेरै भारी वर्षा भएको मान्छ।
बितेको २४ घण्टामा रुपन्देहीको तिलोत्तमा, चितवनको शक्तिखोर, सिन्धुपाल्चोकको मानेखर्क, बाराको कालापानी, दाङको लमही जस्ता स्थानमा १०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। काठमाडौंको सुन्दरीजलस्थित धाप बाँधमा रहेको स्टेशनले पनि पछिल्लो २४ घण्टामा १०८.२ मिलिमिटर वर्षा भएको देखाएको छ।
त्यसैगरी, ७६ स्थानमा भारी वर्षा मापन भएको छ। २४ घण्टाको अवधिमा ५० मिलिमिटर वा सोभन्दा बढी तर १०० मिलिमिटरभन्दा कम पानी परेमा त्यसलाई भारी वर्षा मानिन्छ।
काठमाडौं, ललितपुर, भक्तपुरका विभिन्न स्थानमा डुबान भए पनि मंगलबार राति परेको पानी असाध्यै ठूलो भने होइन। २४ घण्टामा बूढानीलकण्ठमा ९०.८ मिलिमिटर, कपनमा ७४ मिलिमिटर, कीर्तिपुरमा ६५ मिलिमिटर, बबरमहलमा ५२.२ मिलिमिटर र नैकापमा ६१.४ मिलिमिटर वर्षा भएको छ।
यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा भइरहेको छ। नेपालमा वर्षा मापन हुन थालेको ७७ वर्षयताकै ठूलो वर्षा असार २४ र २५ मा कञ्चनपुरमा रेकर्ड भएको थियो।
त्यति वेला २४ घण्टाको अवधिमा दोधारामा ६२४ मिलिमिटर पानी परेको देखिएको थियो। २४ घण्टाको अवधिमा नेपालमा यति धेरै वर्षा यसअघि कतै पनि रेकर्ड गरिएको थिएन।
नेपालमा मनसुन अवधिमा सरदरमा एक हजार ४७२ मिलिमिटर वर्षा हुन्छ। मनसुनको मध्यतिर पुग्दा ५८.६ प्रतिशत वर्षा भइसकेको विभागले जनाएको छ।