बल्खु खोलाले बगाउँदा एक जनाको मृत्यु
काठमाडौंको बल्खु खोलामा आएको बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ।
बल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरूप महतोको शव भेटिएको प्रहरीले जनाएको छ। सुकुम्बासी टोलमा बस्दै आएका महतोको बाढीमा परी मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीले बताए।
उनको परिवार प्रहरीको सम्पर्कमा आएको छ। परिवारजनलाई शव बुझाउन लागिएको मैनालीले बताए।
काठमाडौं उपत्यकामा मंगलबार राति मुसलधारे वर्षा भएपछि बागमती नदीसँगै हनुमन्ते, मनोहरा, धोबीखोला, गोदावरी, विष्णुमती, नक्खु, बल्खु खोलामा बाढी आएको छ। जल सतहले खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
खोला किनारका सडक र बस्तीमा बाढी पसेको छ। कतिपय बस्ती डुबानमा परेको प्रवक्ता मैनालीले बताए।