बाँदरबारे माननीयको अफवाह
सांसद रुक्मणी बराइलीले काठमाडौंका बाँदर उठाएर आसपासका जिल्लामा छोडेको गलत हल्ला फैलाएकी छन्।
साउन १५ मा बसेकाे प्रतिनिधि सभा बैठकमा सांसद रुक्मणी राना बराइलीले स्वयम्भू र पशुपतिका बाँदर कन्टेनरका कन्टेनर ओसारेर आसपासका जिल्लामा छोडिदिएको आरोप लगाइन्। उनले भनिन्, “बाँदरले किसानका बालीनाली नष्ट मात्र नगरी केटाकेटी, बूढाबूढी र महिलालाई पनि दु:ख दिंदै आएका छन्। त्यसरी छोडिएको बाँदरले काभ्रे, पाँचखालकी जमुना लुइँटेललाई घाइते बनाएको छ।”
के सांसद बराइलीले भने जस्तै स्वयम्भू र पशुपतिका बाँदरलाई काठमाडौं आसपासका जिल्लामा छोडिएकै हो?
बाँदरलाई एक ठाउँबाट अर्को ठाउँ लगेर छोडेको हल्ला विभिन्न समयमा फैलिने गरे पनि त्यसमा कुनै सत्यता नभएको बाँदरविज्ञ मुकेश चालिसे बताउँछन्। उनी भन्छन्, “गाउँ गाउँमा यसो भन्ने गरेको मैले पनि सुनेको छु, तर यो सम्भव कुरा नै होइन। बाँदर चिच्याउने/चिथोर्ने प्रकृतिको हुनाले सजिलै समात्न सकिंदैन।”
यसै पनि पशुपति र स्वयम्भूको हकमा झनै सम्भावना छैन। त्यहाँ संरक्षण गरेर राखिएको छ। बाँदरलाई यसरी ओसारपसार गर्न कानूनले रोक लगाएको चालिसे बताउँछन्। “वन कार्यालय, प्रहरी प्रशासन छ, कसरी रातारात बाँदरलाई अर्को ठाउँमा लान सकिन्छ?” चालिसे प्रश्न गर्छन्।
बाँदरविज्ञ सविना कोइराला पनि चालिसेको भनाइप्रति सहमत छिन्। कोइरालाका अनुसार कानूनले नै वर्जित गरेकाले बाँदरलाई ओसारपसार गर्न सहज छैन। पशुपति र स्वयम्भूका बाँदर रोगी र ठूलो भएको उनी बताउँछिन्। शहरसँग घुलमिल छन्। जंगलमा बस्न पनि सक्दैनन्। कसैले वैज्ञानिक अध्ययन नै नगरेकाले बाँदर एक ठाउँबाट अर्को ठाउँमा छोडिदिएको हल्ला गलत भएको उनको दाबी छ।
कहिले नदेखेको बाँदर एक्कासि गाउँमा देख्दा फलानो ठाउँबाट ल्याइएको भन्ने गरेको काेइराला बताउँछिन्। “केही समयअघि पशुपतिमा पुगेकी थिएँ। मैले यसबारे पनि बुझेकी थिएँ। त्यहाँ कि संख्या घट्नुपर्यो? त्यहाँ आस्थाका रूपमा बाँदरको संरक्षण गरिएको छ। कुनै तथ्यांक र अध्ययन विना बाँदरको विषयमा हल्ला फैलाइएको छ,” उनी भन्छिन्।
याे पनि पढ्नुहाेस्
किन बुझ्ने बाँदर?
कसरी व्यवस्थापन गर्ने मानव-बाँदर द्वन्द्व?
‘रुख काटेर बाँदर आतंक कम हुँदैन’
यसकारण घरमा पाल्न सकिँदैन बाँदर
किसानको शत्रु बाँदर