बागमतीका मुख्यमन्त्रीको पक्षमा ६४ र विपक्षमा ३५ मत
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका छन्।
साउन ८ मा मुख्यमन्त्री नियुक्त भएका लामाले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुरूप विश्वासकाे मत लिएका हुन्।
मुख्यमन्त्री लामाले प्रदेश सभामा राखेकाे विश्वासकाे मतकाे पक्षमा ६४ मत तथा विपक्षमा ३५ मत परेकाे थियो। तटस्थमा तीन मत परेकाे थियाे।
नेपाली कांग्रेसका ३७ र एमालेका २७ सांसदले विश्वासकाे मतकाे पक्षमा मतदान गरेका थिए।
त्यस्तै, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राप्रपा र हाम्राे नेपाली पार्टीका सांसदहरूले विपक्षमा मतदान गरेका हुन्।
त्यसपछि सभामुख भुवनकुमार पाठकले विश्वासकाे मत सम्बन्धी प्रस्ताव बहुमतले पारित भएकाे घोषणा गरेका थिए। बागमती प्रदेश सभामा सात दलका ११० सांसद रहेकामा मंगलबारकाे बैठकमा १०३ जना सदस्य उपस्थित थिए।
मंगलबारकाे बैठकमा विशेष र शून्य समय नहुने सभामुख पाठकले जानकारी गराए लगत्तै मख्यमन्त्री लामाले आफ्नो धारणा सहित विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए। विश्वासको मत सम्बन्धी प्रस्तावमाथि नेपाली कांग्रेसका नेता रामकृष्ण चित्रकार, नेकपा (एमाले)का संसदीय दलका नेता जगन्नाथ थपलियाले विश्वासकाे मतकाे पक्षमा रहेकाे धारणा राखेका थिए।
यसैगरी, नेकपा (माओवादी केन्द्र)का युवराज दुलालले नयाँ मुख्यमन्त्री र सरकारलाई बधाई दिंदै सुशासनका लागि बनेकाे नयाँ गठनबन्धनकाे सरकारले मन्त्रीकाे संख्या बढाउने र नियुक्ति गरिएका मन्त्रीले शपथ खान नपाउनु हास्यास्पद भएकाे बताए। उनले माओवादी केन्द्र रचनात्मक प्रतिपक्षकाे भूमिकामा रहने बताउँदै विश्वासकाे मतकाे विपक्षमा रहेकाे जानकारी दिए।
यसैगरी, राप्रपा संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री लामाको विश्वासको मत सम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिंदै विपक्षमा मतदान गर्ने बताए। संविधान संशोधनको स्पष्ट खाका नबनेकाले राप्रपा वर्तमान गठबन्धन सरकारलाई सघाउने पक्षमा नरहेको उनको भनाइ थियो। नेकपा (एकीकृत समाजवादी)का कृष्ण पोखरेलले विश्वासकाे मतकाे विपक्षमा रहने जानकारी दिए।
यस्तै, नेमकिपा विश्वासको मतको प्रस्तावमा तटस्थ बसेकाे छ। संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले विगतदेखि नै प्रतिपक्षको भूमिकामा रहेकाले यस पटक पनि प्रतिपक्षमा रहने बताए।