म रक्षामन्त्री भएका वेला भ्रष्टाचार गरेका प्रधानसेनापतिलाई जागीरबाट निकालिदिएँ : माधव नेपाल
पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफू रक्षामन्त्री भएका वेला भ्रष्टाचार गरेका प्रधानसेनापतिलाई पदबाट बर्खास्त गरेको बताएका छन्।
काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, “म कडा रक्षामन्त्री थिएँ, प्रधानसेनापतिलाई जागीरबाट निकालिदिएँ, भ्रष्टाचार गरेको हुनाले।”
राजा वीरेन्द्रले एक पटकलाई माफी दिनुस् न भन्दाभन्दै आफूले प्रधानसेनापतिलाई बर्खास्त गरेको पूर्व प्रधानमन्त्री नेपालकाे भनाइ छ। “त्यो वेलामा राजा वीरेन्द्र थिए, वीरेन्द्रले एक पटक माफ दिइदिनुस् न त भने, मैले भनें– माफी दिन सकिंदैन, यस्ता मान्छेलाई राखेर सेनाको इज्जत बढ्न सक्दैन,” उनले कार्यक्रममा भने।
२०४८ जेठ १ गतेदेखि २०५२ साल वैशाख २१ गतेसम्म गडुलशमशेर राणा प्रधानसेनापति थिए। भ्रष्टाचारको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका थिए।
पूर्व प्रधानमन्त्री नेपाल २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारमा उपप्रधान, रक्षा तथा परराष्ट्रमन्त्री थिए।