प्रकाश मानव अधिकार पुरस्कार पूर्णिमाया लामालाई प्रदान गरिने
प्रकाश मानव अधिकार पुरस्कार काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका-९, दाप्चाकी ६२ वर्षीया पूर्णिमाया लामालाई प्रदान गरिने भएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को कार्यसमिति बैठकले यस वर्षको प्रकाश मानव अधिकार पुरस्कार लामालाई प्रदान गर्ने निर्णय गरेको हो। इन्सेकका सल्लाहकार तथा संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिको सिफारिशका आधारमा लामालाई पुरस्कार दिने निर्णय भएको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले जनाएका छन्।
इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको २०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा भएको थाई एअर दुर्घटनामा निधन भएको थियो। नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेले पुर्याएको योगदानको स्मरण गर्दै इन्सेकले ‘प्रकाश मानव अधिकार पुरस्कार’ प्रदान गर्दै आएको छ।
राजनीतिक, शैक्षिक, स्वास्थ्य तथा सामाजिक लगायत क्षेत्रबाट अधिकारउन्मुख चेतनामा आधारित भएर विशिष्ट योगदान गरेका व्यक्तित्वलाई पुरस्कार प्रदान गरिंदै आएको छ। यसअघि वरिष्ठ पत्रकार विनयकुमार कसजू, वरिष्ठ समाजसेवी दयावीरसिंह कंसाकार, डा. गौरीशंकरलाल दास, दलित अधिकारकर्मी रामरतिदेवी राम, महिला अधिकारकर्मी वसन्तीदेवी झा, वरिष्ठ पत्रकार नारायण शर्मा, रुकैया खातुन लगायत २९ जनाले पुरस्कार पाइसकेका छन्।
३०औं पुरस्कार लामालाई प्रदान गरिने भएको हो। उनी संक्रमणकालीन न्यायका लागि संघर्षरत छिन्। लामाले न्यायका लागि गरिरहेको सम्झौताहीन संघर्षको सम्मान गर्दै पुरस्कार प्रदान गर्ने निर्णय गरिएको जनाइएको छ। यस वर्षको पुरस्कारका लागि ५८ जनाको नाम आएको थियो।
प्रकाश स्मृति दिवसको अवसरमा साउन १६ गते ललितपुरको प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)मा विशेष कार्यक्रमबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानपत्र सहित पुरस्कार हस्तान्तरण गर्ने इन्सेकले जनाएको छ। पुरस्कारको राशि ५० हजार रुपैयाँ छ।