तौल घटाउने औषधि खाँदा ज्यानै जाने जोखिम
तौल घटाउने औषधि खाँदा कतिपय व्यक्ति एक्कासि बिरामी परेर आईसीयूमा पुगेका छन् भने जथाभावी प्रयोगले ज्यानै जान सक्ने चेतावनी चिकित्सकले दिएका छन्।
व्यायाम गर्न अल्छी मान्ने काठमाडौंकी २५ वर्षीया सविना (नाम परिवर्तन)लाई केही मोटाएको महसूस भइरहेको थियो। साथीहरूसँग भेटघाट हुँदा पनि उनी अरूभन्दा केही मोटी भएको कुराकानी हुन्थ्यो।
कसरी तौल घटाउने भन्ने सोचिरहेका वेला सामाजिक सञ्जालमा एउटा विज्ञापन देखिन्, गार्सिनिया कम्बोजियाको। यसको सेवनले व्यायाम र खानेकुरामा कमी नै नगरी तौल घटाउन सकिने बताइएको थियो।
निकै खुशी भएकी उनले तत्कालै अनलाइन किनमेल बजार दराजमा गएर ‘अर्डर’ गरिन्। त्यसमै दिइएको सल्लाह अनुसार हरेक दिन तीन वटा चक्की खाना थालिन्, खाना खानुभन्दा दुई घन्टाअघि।
औषधि खान थालेको केही दिनमै समस्या देखियो। “चक्की खाँदा वाकवाकी लाग्ने, दिसा बस्न गाह्रो हुन थाल्यो। तर यस्तै हुने होला भनेर वास्तै गरिनन्,” उनी सुनाउँछिन्।
समस्या देखिएको विषयमा घरपरिवारलाई पनि जानकारी दिइनन्। औषधि खाइरहिन्। “दिन प्रतिदिन गाह्रो हुँदै गयो। साह्रै भएपछि अस्पताल भर्ना भएँ,” सविना भन्छिन्, “स्वास्थ्य जाँच गर्दा त कलेजो पूरै बिग्रिइसकेको रहेछ।”
चिकित्सकहरूले ‘भाइरल हेपाटाइटिस’ र ‘ड्रग इन्डियुस लिभर इन्जुरी’ भइसकेको बताए। सामान्य शय्यामा उपचार गरेर पुगेन, सघन उपचार कक्ष आईसीयू)मै राखियो। रगत जाँच गर्दा ‘लिड पोइजनिङ’ भएको पनि पाइयो।
यस्तै समस्या काठमाडौंको कपुरधाराकी ३६ वर्षीया राधा (नाम परिवर्तन)ले पनि बेहोर्नुपरिरहेको छ। अनलाइन मार्फत तौल घटाउने औषधि किनेकी उनले घरमा कसैलाई थाहै दिइनन्। खाना खानु आधा घन्टाअघि हर्बल चक्की खाइन्। शुरूआतमा औषधि गन्हाउन थाल्यो। एक सातामै छोडिन्।
तौल घटाउनु थियो। त्यसैले गन्हाउँदा गन्हाउँदै पनि केही दिनपछि पुनः चक्की खान शुरू गरिन्। लगातार २० दिनसम्म औषधि खाँदा त पेट दुख्न, वाकवाकी लाग्न र कब्जियत हुन थाल्यो।
समस्या बढ्दै गयो। पेटको दुखाइ सहनै नसकिने भएपछि ललितपुरको पाटन अस्पतालमा भर्ना भइन्। चार दिनसम्म अस्पतालमा स्वास्थ्य जाँच गर्दा पनि रोग पत्ता लागेन। त्यसपछि नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा रिफर गरियो। हाल मेडिसिटी अस्पतालमा उपचारत उनी भन्छिन्, “तौल घटाउने औषधिले बिरामी बनायो।”
उनको रगतमा पनि ‘लिड पोइजनिङ’ देखिएको छ। एक सातादेखि उपचाररत राधाको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।
यस्तै समस्या लिएर ३४ वर्षीया कला पुन बुटवलबाट काठमाडौंको मेडिसिटी अस्पतालमा पुगेकी छन्। तौल घटाउन गार्सिनिया कम्बोजिया खाँदा समस्या भएको कला बताउँछिन्। “मेरो साथीले तौल घटाउने औषधि पाइन्छ, अनलाइन अर्डर गर्न लागेको भनेपछि मेरा लागि पनि मगाउन भनेकी थिएँ,” उपचाररत उनी भन्छिन्, “दुवैले औषधि खान थाल्यौं।”
कलाले १० दिनसम्म औषधि खाइन्। त्यसपछि एक्कासि पेट दुख्न थालेको उनी सुनाउँछिन्। स्वास्थ्य समस्या देखिएपछि बुटवलकै क्लिनिकमा गइन्। झाडापखाल र बान्ता नरोकिएपछि बुटवलबाट काठमाडौं मोडेल अस्पताल भर्ना गरियो। स्वास्थ्य परीक्षण गर्दा ‘लिड पोइजनिङ’ भएको देखियो। मोडल अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकले मेडिसिटी अस्पतालमा रिफर गरेका हुन्।
औषधि ल्याउने साथीलाई तीन दिनमै जन्डिस देखिएको कला सुनाउँछिन्। त्यसपछि उनले औषधि खान छाडिन्। साथीले छोडे पनि कलाले भने खाइराखिन्। “त्यही वेलामा नै औषधिले असर गरेको थाहा पाएको भए आज अस्पताल भर्ना हुनुपर्ने थिएन,” उनी भन्छिन्।
पछिल्लो समय अस्पताल भर्ना हुनेको संख्या बढ्दै गएको छ। विशेष गरेर काठमाडौंका धेरैजसो अस्पतालमा तौल घटाउने औषधि खाँदा बिरामी परेका व्यक्ति भेटिन थालेका छन्।
अल्का अस्पतालमा मात्रै एक वर्षमा ‘लिड पोइजनिङ’ भएका १६ जना बिरामीलाई निको पारी घर पठाएको त्यहाँ कार्यरत हेपाटोलोजिस्ट तथा इन्डोस्कोपिस्ट डा. अनन्त श्रेष्ठले जनाएका छन्। जसमध्ये तीन जना भरखरै उपचार गरेर गएका छन्। डा. श्रेष्ठले सामाजिक सञ्जाल फेसबूकमै यसबारे लेखेका छन्। त्यस्तै, किस्ट, सिभिल र वीर अस्पतालमा पनि ‘लिड पोइजनिङ’ का बिरामी उपचार गरिरहेका छन्।
नेपाल मेडिसिटी अस्पतालमा पनि बिरामीको संख्या बढ्दै गएको छ। अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजिस्ट एवं कलेजोरोग विशेषज्ञ डा. निरज जोशीले ‘लिड पोइजनिङ’ ले नेपालमा महामारीको रूप लिन लागेको जनाएका छन्। “तौल घटाउने हर्बल औषधि भन्दै बजारमा निकै मार्केटिङ गरिएको छ। यसका कारण कब्जियत हुने, पेट दुख्ने तथा कलेजोमा नै खराबी देखिएको छ,” डा. जोशीले फेसबूकमा लेखेका छन्।
यस्ता औषधि सेवन गर्दा ज्यानै जान सक्ने जोखिम डा. जोशीले औंल्याएका छन्। उनले यस्ता औषधि सेवन नगर्न सचेत गराएका छन्।
गार्सिनिया कम्बोजिया नामक हर्बल औषधि बजारमा छ्यापछ्याप्ती पाइन्छ। तौल घटाउने भनेपछि बिक्रीवितरण पनि राम्रैसँग भइरहेको छ। सामाजिक सञ्जाल मार्फत व्यापक प्रचारप्रसार भइरहेको छ। तौल घटाउने भन्दै औषधि खाएका महिला भने बिरामी परिरहेका छन्।
यस्तो समस्या वीरगन्जमा पनि देखिएको छ। वीरगन्जस्थित ग्यास्ट्रो एन्ड लिभर क्लिनिक, इन्डोस्कोपी सेन्टरका ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. राकेशकुमार झा केही दिनयता मात्रै चार जना युवती वाकवाकी लाग्ने, कब्जियत हुने र रक्तचाप घटबढ हुने समस्या देखिएर उपचार खोज्न आएको बताउँछन्। बजारमा पाइने तौल घटाउने औषधि सेवन गर्दा चारै जनामा समस्या देखिएको पाइएको डा. झा बताउँछन्। “सबै खालका हर्बल औषधिमा ‘लिड’ को मात्रा ज्यादा हुन्छ, जसले शरीरमा असर पार्छ,” डा. झा भन्छन्।
यसबारे अध्ययन गरेका डा. झाका अनुसार ‘फ्रन्टियर्स इन फर्माकोलोजी’ मा प्रकाशित अनुसन्धानमूलक लेखमा हर्बल औषधिमा ‘लिभ-५’ नामक लिड हुने र जुन कलेजाका लागि निकै विषाक्त हुने उल्लेख गरिएको छ। यस्ता औषधि विना रोकटोक नेपाल भित्रिने गरेको उनी बताउँछन्। “मैले यस्तो औषधि कसरी नेपाल भित्रिन्छ भनेर खोजेको थिएँ, तर न आयुर्वेद विभागमा दर्ता हुुन्छन् न त औषधि व्यवस्था विभागमा,” डा. झा भन्छन्, “यी औषधि ‘सप्लिमेन्ट’ का रूपमा प्रयोग गरिने भएकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट दर्ता भई नेपाल भित्रिन्छन्।”
यसरी नेपाल भित्रिनेमा गार्सिनिया कम्बोजिया पनि एक हो। यो औषधिको सामाजिक सञ्चालमा निकै प्रचार गरिएको छ। विशेषतः सामाजिक सञ्जालका इन्फ्लुएन्सरलाई नै यो औषधिको प्रचार गर्न लगाइएको छ। आफूले फलो गरेका इन्फ्लुएन्सरबाट नै औषधि सेवन गरेर तौल घटेको भिडिओमा आएपछि यसप्रति विश्वास बढेको औषधि प्रयोगकर्ताको भनाइ छ।
पछिल्लो समय निकै चर्चित बनेको यो औषधि अनलाइन बजारमा सजिलै उपलब्ध छ। कतिपय अनलाइनमा यो औषधि खाएर तौल घटेको भन्ने समाचार र समीक्षा आएकाले पनि धेरै जना आकर्षित भएका छन्। जसले उनीहरूलाई अस्पताल पुर्याएको छ।
पोषणविद् पनि यो औषधिको जथाभावी प्रयोग स्वास्थ्यका लागि हानिकारक भएको बताउँछन्। “गार्सिनिया कम्बोजिया नामक यो औषधि नेपालमा नै बनाइएको रहेछ, जसमा एचसीए (हाइड्रोसिसाइट्रिक एसिड) तत्त्व पाइने रहेछ,” पोषणविद् रुजु खड्का भन्छिन्, “यो तत्त्व ट्रपिकल फल हो। यो फलले शरीरमा बोसो बन्न र भोक लाग्न दिंदैन। यसका कारण तौल नबढ्ने हो।”
तर यसको प्रयोग कसले गर्ने र कसरी गर्ने भन्ने कुनै पनि आधार नभएको खड्का बताउँछिन्। यस्ता औषधि खाद्य विभागमा दर्ता गरेर ल्याउन पाइने भए पनि कसरी सेवन गर्ने भन्ने यकीन नहुँदा जथाभावी प्रयोग भइरहेको र समस्या निम्तिएको उनको भनाइ छ। “कुनै पनि औषधि चिकित्सकको सल्लाह विना प्रयोग गर्नु हुँदैन,” खड्का भन्छिन्, “मेडिकल औषधि प्रयोग गर्दा यसको असरबारे जानकारी हुन्छ, तर आयुर्वेद तथा हर्बल औषधिको पर्याप्त अध्ययन नभएका कारण यसको असरबारे जानकारी नभएकाले यो खानुस् भनेर सल्लाह दिंदैनौं।”
हर्बल औषधि भनिए पनि गार्सिनिया कम्बोजियाबारे आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग पनि जानकार छैन। विभागका महानिर्देशक डा. प्रदीप केसी यो औषधि आयुर्वेदसँग सम्बन्धित नभएको बताउँछन्। “यो औषधिको उत्पादन कुनै अमेरिकामा त कुनै नेपालमै भएको रहेछ, तर यसमा प्रयोग भएका जडीबुटी नेपालमा पाइँदैनन्,” उनी भन्छन्, “विदेशी औषधि भनेपछि नेपालीहरूले विश्वास गरी खाइहाल्छन्। यो त खानु हुँदैन, तुरुन्त बन्द गरिनुपर्छ।”
त्यस्तै, औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल गार्सिनिया कम्बोजियाबारे अनुसन्धान गरिरहेको बताउँछन्। “हामीले टीम बनाएर यसको विस्तृत विवरण निकाल्न लागेका छौं,” ढकाल भन्छन्, “पूर्ण विवरण आएपछि मात्र यसबारे जानकारी दिन सक्छौं।
नानो फूड्स नेपाल प्रालिले उत्पादन गरिरहेको गार्सिनिया कम्बोजियालाई जीटीएम हर्बल प्रालिले बजारीकरण गरिरहेको छ। यसले आफ्नो उत्पादनमा रजिस्ट्रेशन नम्बरसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुमति लिएको भन्दै ‘जीडीएफटीक्यू’ नम्बर पनि राखेको छ।
यस कम्पनीले ‘डिपार्टमेन्ट अफ फूड टेक्नोलोजी एन्ड क्वालिटी कन्ट्रोल (डीएफटीक्यूसी)’ भनेर ‘जीडीएफटीक्यू’ राखेको छ। विभागकी महानिर्देशक डा. मनिता जोशी वैद्य भन्छिन्, “मैले पनि देखें, डीएफटीक्यूसीको अगाडि ‘जी’ थपेर राखेको छ, त्यो हाम्रो नाम होइन।”
यस विषयमा विभाग अन्तर्गतको सप्लिमेन्ट महाशाखाबाट जानकारी लिएर थप कदम चालिने उनको भनाइ छ। “सबै कुरा थाहा छैन, सप्लिमेन्टमा सोधपुछ गरेर एक्सन लिन्छौं,” डा. वैद्य भन्छिन्।
अमेरिकाको ‘फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)’ ले भने सात वर्षअघि नै गार्सिनिया कम्बोजियाको प्रयोग नगर्न आग्रह गरेको थियो। एफडीएले सन् २०१७ मा सूचना जारी गरी यसको प्रयोग गर्ने केही व्यक्तिमा कलेजो सम्बन्धी गम्भीर समस्या देखिएको भन्दै सचेत गराएको थियो।