आयुक्तमा सिफारिश कृष्णमान प्रधानले नाम फिर्ता लिंदै
निर्वाचन आयोगको आयुक्तमा सिफारिश भएका कृष्णमान प्रधानले नाम फिर्ता लिने भएका छन्।
प्रधानले यौनशोषण गरेकाे उजुरी संसदीय विशेष सुनुवाइ समितिमा परेकाे छ। प्रधान नाम फिर्ता लिन तयार भएको संसदीय सुनुवाइ समितिका एक सदस्यले बताए। “कृष्णमान प्रधानले नाम फिर्ता लिन्छु भन्नुभएको छ,” ती सांसदले हिमालखबरसँग भने।
संवैधानिक परिषद्ले असार २ गते प्रधानको नाम सिफारिश गरेको थियो। अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय गर्न सोमबार बिहान साढे ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको थियो।
प्रधानले सन् २०१९ देखि २०२२ को अवधिमा पटक पटक यौनशोषण गरेको भन्दै पूर्व सहकर्मीले सुनुवाइ समितिमा उजुरी दिएकी थिइन्। यो आरोप प्रधानले पनि अस्वीकार गरेका छैनन्।
आयुक्त बन्न उच्च नैतिक चरित्रको हुनुपर्ने संवैधानिक व्यवस्था छ।
प्रधानकाे नियुक्तिबारे हिमालखबर सम्पादकीय: १५ सांसदलाई एउटै आग्रह