संसदीय सुनुवाइ समितिको बैठक स्थगित
यौनशोषणको आरोप लागेका कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा अनुमोदन गर्ने वा नगर्ने विषयमा निर्णय गर्न बोलाइएको सार्वजनिक सुनुवाइ विशेष समितिको बैठक बस्न सकेन।
सोमबार बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक स्थगन भएको हो।सुनुवाई समितिकी सदस्य ईश्वरी घर्तीले साँझ पाँच बजे बैठक बस्ने सूचना आएको जानकारी दिइन्।
संवैधानिक परिषद्ले असार २ गते प्रधानको नाम सिफारिश गरेको थियो। सन् २०१९ देखि २०२२ को अवधिमा पटक पटक यौनशोषण गरेको भन्दै प्रधानकी पूर्व सहकर्मीले सुनुवाइ समितिमा उजुरी दिएकी थिइन्। यो आरोप प्रधानले पनि अस्वीकार गरेका छैनन्।
आयुक्त बन्न उच्च नैतिक चरित्र हुनुपर्ने संवैधानिक प्रावधान छ। प्रधानको विषयमा कस्तो निर्णय गर्ने भन्नेमा सहमति कायम नहुँदा बैठक बस्न सकेको छैन। सुनुवाइ समितिले ४५ दिनभित्र अस्वीकृत नगरे प्रधानलाई आयुक्तमा नियुक्त गर्ने बाटो खुल्छ।