पोखरामा स्कूल बस दुर्घटना हुँदा आमाछोराको मृत्यु
पोखरामा स्कूल बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २८ जना घाइते छन्।
विद्यार्थी लिएर आउँदै गरेको एलपी देवकोटा मेमोरियल स्कूलको बस सोमबार पोखरा महानगरपालिका-२१, छरछरेमा दुर्घटना भएको हो। दुर्घटनामा ३३ वर्षीया आरती विक र उनका छोरा ६ वर्षीय प्रिन्स विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता वसन्त शर्माले बताए।
पोखरा-२१, क्रिस्तीमा रहेको एलपी देवकोटा मेमोरियल स्कूलको बस विद्यार्थी ल्याउँदै गर्दा सडकबाट ५० मिटर तल खसेको हो। दुर्घटनामा गम्भीर घाइते भएका आरती र प्रिन्सलाई गण्डकी मेडिकल कलेज पुर्याएको थियो। अस्पतालले मृत घोषणा गरेको शर्माले बताए।
आरती स्कूलमै कार्यरत थिइन्। प्रिन्स यूकेजीमा अध्ययनरत थिए।
दुर्घटनामा २८ जना घाइते भएका छन्। बसमा चालक, एक जना स्कूलका कर्मचारी र २८ विद्यार्थी सवार थिए। चालक पनि घाइते छन्। घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।