प्यालेस्टाइनमा इजरायलले गरिरहेको नरसंहार विरुद्ध काठमाडौंमा प्रदर्शन
इजरायलले प्यालेस्टाइनका अस्पताललाई लक्ष्यित गरेर बिरामी, बालबालिका, महिला, ज्येष्ठ नागरिक लगायतमाथि गरिरहेको आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ।
प्यालेस्टाइनमाथि इजरायलले जारी राखेको नरसंहार विरुद्ध राष्ट्रिय क्रान्तिकारी मोर्चाले आइतबार काठमाडौंमा विरोध सभा आयोजना गरेको हो। विरोध सभामा बोल्दै मोर्चाका संयोजक सन्तबहादुर नेपाली, पूर्व सांसद परी थापा, लोकनारायण सुवेदी, मोहन खतिवडा लगायतले प्यालेस्टाइनमा भइरहेको नरसंहार तत्काल रोक्न माग गरे। खासगरी गाजा क्षेत्रमा मानवीय सहायता पुर्याउन उनीहरूले आग्रह गरेका छन्।
प्यालेस्टिनी विद्रोही समूह हमासले २०८० असोज १० मा गाजा क्षेत्रसँग जोडिएको इजरायलमा आक्रमण गर्दा १० नेपाली सहित एक हजार २०० भन्दा बढीको ज्यान गएको थियो। हमासले आक्रमण गर्दा इजरायलमै रहेका कञ्चनपुरका विपिन जोशीको अवस्था हालसम्म अज्ञात छ।
त्यो घटनापछि इजरायलले गाजामा नरसंहार मच्चाइरहेको छ। त्यसयता प्यालेस्टाइनमा मृत्यु हुनेको संख्या कम्तीमा ३९ हजार १७० पुगेको बीबीसीले जनाएको छ।
नेपाल सरकारले भने इजरायलमा नेपाली कामदार पठाउने प्रक्रिया अगाडि बढाएको छ।