सांगीतिक यात्रामा अमेरिका जाँदै नेपथ्य
लोकरक ब्यान्ड नेपथ्यले आउँदो अगस्ट र सेप्टेम्बरमा अमेरिकाका विभिन्न शहरमा कन्सर्ट गर्ने भएको छ।
छैटौं पटक अमेरिकाको सांगीतिक यात्रामा जान लागेको नेपथ्यले त्यहाँका सात वटा शहरमा प्रस्तुति दिनेछ।
ब्यान्डले ३ अगस्टमा कोलोराडोको राजधानी डेनभरमा कन्सर्ट गर्नेछ। यसपछि १० अगस्टमा क्यालिफोर्नियाको सानफ्रान्सिस्को, १७ अगस्टमा ओहायो राज्यको राजधानी कोलम्बस, २४ अगस्टमा टेक्सासको डालास शहर र ३० अगस्टमा न्यूयोर्कको ‘टर्मिनल फाइभ’ मा नेपथ्यले सांगीतिक स्वाद पस्किनेछ।
ब्यान्डले १ सेप्टेम्बरमा मेरिल्यान्ड राज्यको क्यासिनो होटल मेरिल्यान्डमा प्रस्तुति दिनेछ भने अमेरिका यात्राको सातौं तथा अन्तिम कन्सर्ट ७ सेप्टेम्बरमा पेन्सिलभानियाको ह्यारिसवर्गमा हुनेछ।
नेपथ्यले फिनिक्स र वाशिङटन डीसीमा कन्सर्ट गर्ने उद्देश्यले पहिलो पटक सन् २००४ मा अमेरिका यात्रा गरेको थियो। त्यसपछिका वर्षमा ब्यान्डले न्यूयोर्क, सानफ्रान्सिस्को, लस एन्जलस, एटलान्टा, डालास र बोस्टनमा सांगीतिक प्रस्तुति दिइसकेको छ।
यसपालिको अमेरिका यात्राको संयोजन ‘डिजे मोमो इन्टरटेनमेन्ट’ ले गरिरहेको जनाइएको छ। कन्सर्टका लागि नेपथ्यको वेबसाइटबाटै टिकट काट्न सकिने आयोजकले जनाएको छ।