पहिरोले कृषि फार्म र घर बगाउँदा पाँच जना सम्पर्कविहीन
उत्तरी गोर्खामा पहिरोले कृषि फर्म र घर बगाउँदा पाँच जना सम्पर्कविहीन छन् भने दुई जना घाइते भएका छन्।
धार्चे गाउँपालिका-५, सिङ्लाको रेसेमा रहेको जितबहादुर गुरुङको कृषि फार्म र घर पहिरोले बगाएको हो। पहिरोमा परेर जितबहादुरको परिवारका तीन जना सहित पाँच जना हराइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले बताए।
प्रहरीका अनुसार ३७ वर्षीय जितबहादुर, उनका बुबा ६० वर्षीय सोलाल कान्छा गुरुङ र श्रीमती ३५ वर्षीया कान्छी गुरुङ हराइरहेका छन्। त्यस्तै, स्थानीय ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार हराइरहेको डीएसपी श्रेष्ठले बताए।
आइतबार बिहान साढे ३ बजे गएको पहिरोमा परी स्थानीय ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङ घाइते भएका छन्। दुवै जनालाई उपचारका लागि काठमाडौं पठाइएको गोर्खाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए। कैलाश एअरको हेलिकोप्टर मार्फत काठमाडौं पठाइएका दुवै जनाको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
पहिरोमा परी हराइरहेका पाँच जनाको खोजी भइरहेको दाहालले बताए। स्थानीय बासिन्दासँगै नेपाल प्रहरीको टोली खोजबिनमा लागेको छ।