भोटको बाटो ताङतिङदेखि तिमाङ
तिब्बतबाट नुन ल्याउन पुर्खाले हिंडेको ऐतिहासिक भोटको बाटो पदमार्गमा बदलिएको छ भने अब प्रकृति र संस्कृतिमा रमाउँदै यात्रा गर्न सकिने भएको छ।
पश्चिमी पहाडी गाउँका बासिन्दा केही दशकअघिसम्म नुन किन्न हिमाली क्षेत्रसम्म धाउँथे। जहाँ तिब्बतबाट नुन आउँथ्यो। नुन किन्न हिमाली भेगतिर जाँदा भोट जाने भन्थे।
त्यति वेला भोट जानुको अर्थ नुन किन्न जाने भन्ने नै हुन्थ्यो। अझै पनि कतिपय पहाडी गाउँका वृद्धवृद्धा भोट जाँदाका कथा सुनाउँछन्। गण्डकी क्षेत्रमा कास्की, लमजुङ लगायत गुरुङ गाउँका बासिन्दा मनाङ, मुस्ताङसम्म पुग्थे।
पुर्खाले नुन किन्न हिंडेको भोटको बाटामा अब पदयात्रा गर्न पाइने भएको छ। यो ऐतिहासिक बाटालाई ‘गुरुङ सम्पदा पदमार्ग’ नामकरण गरिएको छ। “सडक विस्तारले पदमार्ग हराउँदै गएको वेला नयाँ पदमार्गमा पहिचान गरेका छौं,” गुरुङ पर्यटन व्यवसायी संघ (जिटिन) गण्डकी अध्यक्ष अध्यक्ष किसमकुमारी गुरुङ भन्छिन्, “ऐतिहासिक भोटको बाटाको यात्रा रोमाञ्चक हुनेछ।”
जिटिनले नै यो नयाँ पदमार्ग पहिल्याएको हो। भोटको बाटामा विशेष गरेर गुरुङ समुदायका पुर्खा हिंडेकाले गुरुङ सम्पदा मार्ग नाम दिइएको जिटिनका संस्थापक अध्यक्ष बोबरजंग गुरुङ बताउँछन्। “गुरुङको धर्म, संस्कृति र परम्परालाई पर्यटनसँग जोड्ने गरी नमूना पदमार्गको अवधारणा ल्याएका हौं,” उनी भन्छन्।
मादीदेखि चामे
गण्डकी क्षेत्रमा थपिएको पदमार्ग पर्यटकीय राजधानी रहेको जिल्ला कास्कीबाट शुरू हुन्छ। मादी गाउँपालिकाको ताङतिङबाट प्रारम्भ हुने पदमार्ग मनाङको चामे गाउँपालिकास्थित तिमाङ पुगेर टुंगिन्छ। ताङतिङबाट पैदल तिमाङ पुग्न १० दिन लाग्नेछ। यसलाई चार दिनमा झार्न सकिने वा १२ दिनमा लम्ब्याउन सकिने अध्ययनमा देखिएको छ।
पदमार्गबारे अध्ययन गर्न जिटिन गण्डकीले जेठ अन्तिम साता पहिचान पदयात्रा गरेको थियो। यस यात्रामा ३३ जना सहभागी थिए। जसमा इन्जिनीयर, अन्वेषक, जीपीएस एक्सपर्ट, सञ्चारविज्ञ, पदप्रदर्शक, पर्यटन व्यवसायी र पदयात्री पनि सहभागी थिए। विज्ञ सहितको टोलीले १० दिनमा यात्रा पूरा गरेको थियो।
टोलीले पदमार्गको पहिचानका लागि खोज तथा अनुसन्धान गर्दै भोट जाने पुरानो बाटो पहिल्याएको थियो। यस बाटामा कास्कीको मादी गाउँपालिका, लमजुङको क्होलासोंथर र मर्स्याङ्दी गाउँपालिका तथा मनाङको चामे गाउँपालिका पर्छन्।
यस पदमार्गले प्राकृतिक सुन्दरतासँगै गुरुङ संस्कृति र इतिहास बोकेको अध्ययन टोलीको निष्कर्ष छन्। जिटिनका संस्थापक अध्यक्ष बोबरजंग गुरुङ यही पदमार्गको बाटो भएर गुरुङ समुदायका बस्ती फैलिएको बताउँछन्। “गुरुङ समुदायको उद्गमभूमि भनेर चिनिने क्होलासोंथर पनि यसै मार्ग भएर पुगिन्छ,” उनी भन्छन्, “यस पदमार्गसँगै क्होलाको पुरातात्त्विक महत्त्वका भग्नावशेषको संरक्षण गरे पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिन्छ।”
बाटाका बिसौनी नयाँ गन्तव्य
पुर्खाले हिंडेको भोटको बाटामा पर्ने बिसौनी गण्डकीका अन्य गुरुङ बस्ती जस्तो समृद्ध बनेका छैनन्। प्राकृतिक रूपमा अनुपम र सांस्कृतिक रूपमा धनी हुँदाहुँदै पनि पर्यटकीय गन्तव्यमा परिणत भएका छैनन्। यी बिसौनीलाई नयाँ गन्तव्यमा विकास गर्न सकिने अध्ययनमा देखिएको छ।
यस बाटामा पोखराबाट पर्यटकीय गाउँ ताङतिङ हुँदै क्रपुडाँडा, तप्रो, क्होलासोंथर, ठुलेक, थुर्जु, दुधपोखरी पुगिन्छ। जुन यो पदमार्गको उच्च बिन्दु चार हजार ९१० मिटरमा रहेको गुरुङ देउराली (नामुन पास) हो। त्यहाँबाट डाँफेखर्क हुँदै मनाङको तिमाङ पुगिन्छ।
यो बाटो चल्तीमा आएपछि कास्कीको सिक्लेस, घान्द्रुङ, हेम्जाकोट तथा लमजुङको भुजुङ, घलेगाउँ जस्तै पर्यटकीय गन्तव्य बन्ने जिटिन अध्यक्ष किसमकुमारी गुरुङ बताउँछिन्। “यस पदमार्गमा प्रकृति र संस्कृतिको संगम छ,” उनी भन्छिन्, “नयाँ पदमार्गको पहिचानले गुरुङ सम्पदाको प्रवर्द्धन र पर्यटनका लागि नयाँ अवसर सिर्जना भएको छ।”
त्यसका लागि भने केही काम गर्नुपर्ने अध्ययनले सुझाएको छ। पदमार्गको विकास तथा प्रवर्द्धनका लागि गुरुयोजना नै बनाउनुपर्नेमा जोड दिएको छ। गुरुयोजना बनाउँदा पदमार्गमा रहेका ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका क्षेत्रको संरक्षण गर्नुपर्ने सुझाव दिएको छ।
यस्तै, अहिले पदमार्गको केही स्थानको बाटो मर्मत गर्नुपर्ने, जोखिम कम गर्न आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने सुझाव दिएको जिटिनका महासचिव तुलबहादुर गुरुङ बताउँछन्। “हाल पदमार्गमा होटलको व्यवस्था छैन, पहिलेदेखि नै रहेका धर्मशाला बस्न सकिने अवस्थामा छन्,” उनी भन्छन्, “पदयात्रीको सुरक्षालाई ध्यानमा राखेर पूर्वाधार निर्माण गर्नुपर्छ।”
यसमा गण्डकी प्रदेशको पर्यटन मन्त्रालय, कास्कीको मादी गाउँपालिका, लमजुङ क्होलासोंथार र मर्स्याङ्दी गाउँपालिका तथा मनाङको चामे गाउँपालिकाले सघाउने जनाएका छन्। गण्डकीका आर्थिक मामिलामन्त्री डा. टकराज गुरुङ यो पदमार्ग प्रदेशको पर्यटनका लागि महत्त्वपूर्ण हुने बताउँछन्।
पर्यटन क्षेत्रको विकासका लागि प्रदेशस्तरीय पर्यटन गुरुयोजना बनाउन लागिएको उल्लेख गर्दै त्यसमा यो पदमार्ग पनि समावेश गरिने उनको भनाइ छ। “पछिल्लो समय पदमार्ग मासिंदै गएका छन्, यस्तो वेला नयाँ पदमार्गको पहिचान हुनु खुशीको कुरा हो,” मन्त्री गुरुङ भन्छन्, “यो पदमार्ग गण्डकीको पदयात्रा पर्यटनका लागि मत्त्वपूर्ण बन्नेछ।”