मलाई बाँच्नु छ, केही दिनमै देश छोड्दै छु
मैले उसलाई माफी दिने निर्णय गरें। २३ महीना लामो लडाइँपछि थाकेर यो निर्णयमा पुगेकी हुँ।
मुद्दा दर्ता गर्नुअघि पनि मलाई जे भयो, त्यो अरू कसैलाई नहोस्/नपरोस् भन्ने मनसाय थियो। शायद मैले नबोलेको भए उसले आफ्नो शक्ति प्रयोग गरेर अरूलाई पनि यस्तै गर्न सक्थ्यो। मैले बोल्ने हिम्मत गरें। मैले आफू जिउँदो छु भन्ने महसूस गर्दासम्म लडिरहें।
मैले जति भोगें, त्यसको १० प्रतिशत पनि कसैले भोगेको छ भने त्यो नर्कभन्दा नि बढी छ।
मैले आफ्नो जीवन बाँच्ने निर्णय लिएकी छु। उनीहरूले करोडौं पटक मेरो खुशी मारे पनि मैले माफ गरिदिएँ। उनीहरू पनि बाँचून्।
मैले मानसिक स्वास्थ्यको विचार गरेर यो निर्णय लिएकी हुँ। सबै जनाको भाग मैले बाँचिदिनुपर्छ जस्तो लाग्दैन। मैले सुनेकी थिएँ- मेरा लागि पनि मान्छेहरू छन्, तर खासमा मेरा लागि कोही नै थिएन। मैले मेरो लडाइँ एक्लै नै लडेकी हुँ। अन्तिममा आफ्ना लागि हुने भनेको आफू मात्रै रहेछ।
मैले कसैको दबाबमा परेर मुद्दा दर्ता गरेकी होइन। उसले ममाथि जे गर्यो, त्यो गलत थियो। त्यसैले मैले मुद्दा दर्ता गरें। तर जब बीचमा माइती नेपालमा बसें, जीवनका सबैभन्दा अँध्यारा दिनहरू देखें। त्यहाँबाट निस्किंदा नै मैले बाँच्न बिर्सिसकेकी थिएँ।
अझै पनि म बसेको त्यो कोठाको भित्ताभरि मैले म बाँच्न चाहन्नँ भनेर कोरेका अक्षरहरू होलान्। तर यसको मतलब यो होइन कि मैले मुद्दा दर्ता कसैको दबाबमा गरें। उसले गल्ती गरेको हो, जुन कुरा उसैले पनि स्विकारिसक्यो।
यो घटनापछि म मनोचिकित्सकको परामर्शमा छु। यसले मलाई केही हदसम्म सहयोग गरेको छ।
अब नयाँ समाजमा जाँदै छु। जहाँ मैले कसैले मलाई चिन्लान् भनेर अनुहार लुकाएर बाच्नु पर्दैन। आफ्नो नाम हुँदाहुँदै नाम नै लुकाएर बाच्नुपर्ने कष्टकर जीवन बाँच्नु पर्दैन। अब म आफ्नै नामले बाँच्न पाउँछु।
म मेरो जीवन फेरि शुरू गर्दै छु। यो कुराबाट छुटेर जाँदै गर्दा मानसिक युद्धसँग पनि बिस्तारै जुध्न कम होला भन्ने सोचेकी छु। आशा छ- सबै ठीक हुनेछ। जीवनभरलाई सहज नभए पनि म सहज जीवनयापन गर्ने कोशिश गरिरहनेछु।
मलाई थाहा छैन, मेरो जीवनले कता लगिरहेको छ। तर हरेक साता-महीनाको पेशी, पेशी आउनुभन्दा दुई दिनअघिदेखि डर, पेशी सकिएपछिको ट्रमा। म अन्तिम पटक कहिले हाँसेकी थिएँ भन्ने समेत बिर्सिसकें।
यो लडाइँ म बाँचुन्जेल रहने जस्तो लागेर नै रोकिने निर्णय लिएँ। फेरि मान्छे बाँच्नका लागि पो लड्छ। आफूलाई हरेक दिन मारेर लडेको लडाइँ के लडाइँ!
अब फेरि साम, दाम, दण्ड, भेद, जे प्रयोग गरेर पनि उसलाई निर्दोष सावित गर्नेछन्। हरेक दिन सामूहिक बलात्कार, एसिड अट्याक जस्ता हजारौं धम्की सहेर मलाई बाँच्नु छैन।
अब मसँग गुमाउन बाँकी केही छैन।
भाग्नलाई जति गाह्रो हुन्छ, शायद दौडिनलाई पनि उति नै गाह्रो हुन्छ। मलाई कसैको जीवन बर्बाद गर्ने न रहर छ न त अधिकार नै। अपराधको सजाय पाओस् भनेर मुद्दा हालेकी थिएँ।
अब मलाई बाँच्नु छ, त्यसैले पछि सरें। मैले जे भोगें, त्यो कसैले भोग्न नपरोस्। छोरीहरूलाई बाँच्न आफ्नै समाजबाट भाग्न नपरोस्।
तर म यो समाजबाट भाग्दै छु। किनकि म थाकें। त्यसैले अब केही दिनमै देश छोड्दै छु।
(क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार सम्बन्धी ‘मुद्दाको थप कारबाही अगाडि बढाउनु नपर्ने’ भनेर साउन १० मा उच्च सरकारी वकीलको कार्यालयमा निवेदन दिएकी ‘गौशाला २६’सँग हिमालखबरका लागि अन्शु खनालले गरेको कुराकानीमा आधारित।)
यो पनि पढ्नुहोस् :