एक वर्षमा ६५ अर्बको चिनियाँ सामान आयात
गत आर्थिक वर्षमा रसुवागढी नाकाबाट ६५ अर्ब २२ करोड ६३ लाख रुपैयाँ बराबरको चिनियाँ सामग्री आयात गरिएको छ।
आयात गरिएका सामग्रीमा इन्धन एवं विद्युतीय सवारीसाधन, तयारी कपडा, रबर, जुत्ता, चप्पल, हाते झोला, होजियारी कपडा, जुत्ता तयार गर्ने सामग्री, स्याउ, लसुन, ओखर लगायत रहेको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले बताए।
नेपालबाट भने एक अर्ब ९६ करोड १८ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ। तामाका भाँडाकुँडा, गलैंचा, चाउचाउ, नुड्लर्स, पास्ता, जडीबुटी, आल्मुनियमका भाँडाकुँडा, पछ्यौरा, शल, दोसल्ला, बूक बाइन्डिङका कपडा, तयारी कपडा लगायत छन्।
गत आर्थिक वर्षमा कम परिमाण देखाउने व्यापारीबाट ६१ करोड ६० लाख रुपैयाँ जरिवाना गरिएको प्रमुख भन्सार अधिकृत पाठकले बताए। बस, कार, ट्रक, ट्राइसाइकल, भ्यान लगायत सवारीसाधन आयात भएका थिए।
त्यस्तै, सात हजार ३७७ चिनियाँ सवारीसाधन आयात भएका थिए। त्यसमध्ये ३४५ इन्धनबाट चल्ने र सात हजार ३२ वटा भने विद्युतीय सवारीसाधन रहेको अभिलेखकर्ता कम्प्युटर अधिकृत निर्मल कँडेलले बताए।
गत वर्ष आयात भएका सवारीसाधनको मूल्य १९ अर्ब ५७ करोड ४५ लाख रुपैयाँ रहेको भन्सारको तथ्यांकमा उल्लेख छ। आव २०७९/८० मा एक हजार ७०० मात्र सवारीसाधन आयात भएका थिए। आव २०८०/८१ को भन्सार शुल्क, जरिवाना, भ्याट समेतको २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार रुपैयाँ असुल गरिएको जनाइएको छ।