कोशीमा माओवादीका मन्त्रीले दिए राजीनामा
कोशी प्रदेश सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)का मन्त्रीले राजीनामा दिएका छन्।
माओवादीका मन्त्रीले शुक्रबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन्। माओवादीबाट प्रदेश सरकारमा गणेशप्रसाद उप्रेती भौतिक पूर्वाधार विकास, राजेन्द्र कार्की स्वास्थ्य, नारायणबहादुर मगर पर्यटन, वन तथा वातावरण र बन्दना झाँगर पर्यटन, वन तथा वातावरण राज्यमन्त्री थिए।
मन्त्रीहरूले राजीनामा दिए पनि माओवादीले समर्थन फिर्ता लिएको छैन। माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले हाललाई प्रदेश सरकारलाई दिएको समर्थन कायम राखे मन्त्रीहरूले राजीनामा दिने निर्णय भएको बताए।
केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता समीकरण बनेपछि माओवादी सरकारबाट बाहिरिएको हो। माओवादीकै समर्थनमा एमालेका सांसद कार्की मुख्यमन्त्री बनेका थिए।