कश्मीरमा बन्धक बनाइएका २८ मजदूरको उद्धार
रोजगारीको प्रलोभनमा पारेर भारतको कश्मीरमा बन्धक बनाइएका २८ मजदूरको उद्धार गरिएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पहलमा उनीहरूलाई उद्धार गरेर शुक्रबार नेपाल ल्याइएको हो। यसमा किन इन्डियाले सघाएको थियो।
पाँच महीनादेखि बन्धक बनाइएका सिरहाका २१ जना र धनुषाका सात छन्। उनीहरूलाई रक्सौल नाँका हुँदै धनुषामा ल्याइएको छ।
उद्धारमा सघाएको किन इन्डियाका कार्यकारी निर्देशक नवीनराज जोशीले तराई-मधेशका विभिन्न जिल्लाबाट मजदूरलाई रोजगारी दिने प्रलोभनमा भारत लगेर बन्धक बनाएको पाइएको बताए। बिहारबाट आएका केही मान्छेले उनीहरूलाई पन्जाब हुँदै कश्मीर पुर्याएका थिए।
कश्मीर पुगेपछि भने मोबाइल, नागरिकता, विभिन्न परिचपत्र खोसेर राखिएको जोशीले बताए। यसरी बन्धक बनाइएका मजदूरलाई विभिन्न काममा लगाए पनि ज्याला दिने गरिएको थिएन। यसअघि पनि मधेश प्रदेशकै ३५ जनालाई उद्धार गरेर ल्याएको बताए।
खेलकूद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले मधेश प्रदेशमा रोजगारीको समस्या कारणले यस खालको विकृति देखिएको बताए। तीनै तहका सरकार रोजगारी सिर्जना गर्न लाग्नुपर्ने उनको भनाइ थियो।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले तराई-मधेशमा गरीबीको विकराल अवस्थाका कारण यस्ता खाले समस्या आएको बताए। उद्धार गरिएका मजदूरलाई शुक्रबार नै परिवारको जिम्मा लगाइएको छ।