यस्ताे थियाे प्रागैतिहासिक नेपाल
हालसम्म भएका प्रागैतिहासिक पुरातात्त्विक अनुसन्धान तथा अन्वेषणका आधारमा निष्कर्ष निकाल्न सकिन्छ कि नेपालको भौगोलिक, प्राकृतिक र जैविक विविधता मानव पुर्खाका लागि विभिन्न समयमा उपयुक्त वासस्थान बनेको थियो।
प्राक्-इतिहास, पुरातत्त्व, मानवशास्त्र र सांस्कृतिक उद्विकासका अवधारणागत विषयमा व्यापक र विस्तृत छलफलपछि सहज प्रश्नहरू मनमा आउँछन्। त्यसो भए प्रागैतिहासिक नेपाल कस्तो थियो? नेपालमा प्रागैतिहासिक काल अध्ययनको सन्दर्भमा के-कस्ता काम भएका छन्? किन नेपालको प्रागैतिहासिक अध्ययन कमजोर देखिन्छ? आदि इत्यादि।
यो आलेखकको मूल ध्येय नेपालमा भएका प्रमुख प्रागैतिहासिक सन्दर्भका पुरातात्त्विक उत्खनन, अध्ययन, अनुसन्धानबारे जानकारी गराउनु हुनेछ। यद्यपि यसमा नेपालमा भएगरेका सम्पूर्ण कार्यको समीक्षा सहितको संश्लेषण त छैन, नेपाली प्रागैतिहासिक पुरातात्त्विक अध्ययन, तिनका उपलब्धि र केही लेखकका अवलोकन समेत समावेश गरिएकाले नेपालको प्राक्-इतिहास र पुरातात्त्विक अध्ययन तथा उपलब्धि चिहाउने एउटा सानो आँखीझ्याल बन्न भने सक्नेछ।
वर्तमान विगतको परिणाम हो र विगतप्रतिको प्रतिक्रिया पनि हो भनिन्छ। तर कुन विगत? कति पुरानो विगत? सुदूर विगतसँग वर्तमानको साइनो कति गाँसिएको हुन्छ? यस्ता प्रश्न यहाँ सान्दर्भिक हुन्छन्। वर्तमानमा कतिपय महत्त्वपूर्ण लाग्ने विषय विगतको आलोकमा कति महत्त्वपूर्ण हुन् भन्ने दृष्टिले पनि समीक्षा गर्न सकिन्छ। जति विगतको पछाडि जान सक्यो, उति वर्तमानबारे विहंगम दृष्टिकोण बनाउन सकिन्छ भन्ने मान्यता पनि छ। यसै मान्यतालाई परख गर्न पनि यो पठन सहयोगी हुन सक्छ।
नेपालको सुदूर विगतको रूप, जति वेला वर्तमान नेपालको आकृति नै बनेको थिएन, तर हाल नेपालको वर्तमान सरहदभित्र पर्ने स्थानमा भएका अध्ययनका आधारमा धारणा बनाउनु कतिपय सन्दर्भमा जोखिमपूर्ण पनि हुन सक्छ। मानवीय गतिविधि र गतिशीलताबारे पर्याप्त जानकारी विना कुनै स्थानमा भेटिएका पुरातात्त्विक अवशेषका आधारमा मात्र पनि विगतबारे धारणा बनाउन सकिंदैन। यसमा नेपालबारे थप खोज, अनुसन्धान र पठनका लागि उत्प्रेरित गरोस् भन्ने चाहना पनि राखिएको छ।
नेपालमा पुरातात्त्विक अध्ययन र प्राक्-इतिहास
नेपालमा प्रागैतिहासिक अध्ययन ज्यादै प्रारम्भिक अवस्थामा नै छ। यसमा नेपालमा भएका केही प्रतिनिधिमूलक पुरातात्त्विक अध्ययन र ती अध्ययनका आधारमा बताउन सकिने प्राक्-इतिहासबारे चर्चा गर्नेछौं। यो मूलतः केही सन्दर्भ सामग्रीको समीक्षात्मक पुनरावलोकनको आधारमा तयार पारिएको हो। ती सन्दर्भ सामग्रीमध्ये प्रमुख रूपमा प्रकाश दर्नाल (सन् २०१६), पाण्डेय र रेग्मी (२०६२), शर्मा (२०४९), कर्भिनस (सन् १९८४) आदिलाई आधारभूत सन्दर्भ सामग्रीका रूपमा उपयोग गरिएको छ।
यसको मूल ध्येय नेपालमा विभिन्न कालखण्डमा भएका पुरातात्त्विक अन्वेषणबारे जानकारी गराउनु नै हो। प्रागैतिहासिक कालमा केन्द्रित भएका कारण यहाँ ऐतिहासिक पुरातत्त्वबारे चर्चा गरिएको छैन। यद्यपि यसमा हालसम्म नेपालमा भएका सबै पुरातात्त्विक अध्ययन र तिनका उपलब्धिलाई एक ठाउँमा ल्याउन, अद्यावधिक गर्न र ती पुरातात्त्विक उपलब्धिका आधारमा नेपालको प्राक्-इतिहासबारे आकलन गर्न सम्भव हुने थिएन। तसर्थ केही प्रतिनिधिमूलक अन्वेषणलाई मात्र यहाँ चर्चा गरिनेछ।
नेपालमा पुरातत्त्व अध्ययन र उपलब्धि
पुरातात्त्विक अन्वेषण र उत्खनन आफैमा खर्चिलो, धेरै समय लाग्ने र जटिल कार्य भएका कारण नेपाल जस्ता मुलुकले राज्यको खर्चमा यस्तो उत्खनन गर्ने सम्भावना कमै हुन्छ। त्यसैले पनि नेपालमा पुरातात्त्विक अन्वेषण तथा उत्खनन प्रारम्भिक अवस्था नै छ। यस्ता अन्वेषण र उत्खननको अभावमा कुनै स्थानको प्राचीन इतिहास र प्राक्-इतिहास थाहा पाउन असम्भव हुन्छ। यस्तो अवस्थामा त्यस स्थानको इतिहास पौराणिक कथा, काल्पनिक कहावत, मिथक, किस्सा आदिमा नै सीमित हुन्छ। तिनले दूरगामी असर पार्ने भ्रमहरू पनि सिर्जना गर्छन्।
नेपालको सन्दर्भमा पनि पर्याप्त पुरातात्त्विक अन्वेषण र उत्खनन हुन नसकेका कारण नेपालको प्रागैतिहासिक कालको सांगोपांगो चित्र उतार्न मुश्किल नै पर्नेछ। प्राप्त केही सीमित प्रमाणका आधारमा नेपालमा पुरातात्त्विक अध्ययन र प्राक्-इतिहासबारे अबका अनुच्छेदमा चर्चा गरिनेछ।
नेपालमा पुरातात्त्विक अन्वेषण
नेपालमा पुरातात्त्विक अध्ययन र अनुसन्धानलाई संस्थागत र व्यवस्थित गर्नका लागि विसं २००९ (सन् १९५२) मा पुरातत्त्व विभागको स्थापना भएको थियो। यद्यपि विभागको स्थापनाभन्दा पहिलेदेखि नै नेपालमा पुरातात्त्विक उत्खनन तथा अन्वेषणका काम आक्कलझुक्कल भइरहेका थिए। यस्ता अन्वेषण तथा उत्खननका काम विदेशी अन्वेषकको पहलमा १९औं शताब्दीदेखि क्रमशः तर अनियमित तवरमा भइरहेका थिए।
नेपालको शुरूआती प्रयत्न गौतम बुद्धको जन्मस्थलको खोज र आधिकारिकता प्रमाणित गर्नमा केन्द्रित थियो। सन् १८९३ मा मेजर जसकरण सिंहले पुरातात्त्विक खोज गरेका थिए। उनले त नेपालगन्जको आसपासमा शिलास्तम्भ देखेको र उक्त अशोक स्तम्भ हुन सक्ने भन्ने दाङी समेत गरेका थिए, जुन पछि सत्य सावित हुन सकेन। त्यस्तो दाङीलाई पुष्टि गर्ने अन्य कुनै प्रमाण उनले पेश गर्न सकेनन्।
सन् १८९५ मा भारतीय पुरातत्त्व विभागले जर्मन पुरातत्त्वविद् डा. ए फ्युहररको नेतृत्वमा नेपालमा एक मिशन पठाएको थियो। त्यस टोलीले पनि तौलिहवाको निग्लिहवा भन्ने स्थानमा अक्षर कुँदिएको एक प्रस्तर स्तम्भ फेला पारेको थियो। यस उपलब्धिबाट डा. फ्युहरर अति नै उत्साही भए र अन्वेषण कार्यलाई सन् १८९६ देखि १८९८ सम्म निरन्तरता दिएका थिए।
उनकै टोलीले सन् १८९८ मा अभिलेख सहितको अशोक स्तम्भ पत्ता लगायो। उक्त अन्वेषण कार्यले अन्ततोगत्वा गौतम बुद्धको जन्मस्थलको खोजी एवम् निर्धारण गर्न सहज भएको थियो। तत्कालीन नेपाल सरकारले दुई हजार रुपैयाँ दिएर उनलाई पुरस्कृत पनि गरेको थियो।
सन् १८९७ मा मिस्टर पेपे भनिने पुरातत्त्वविद्ले पिपरहवामा उत्खनन गरी केही शिल्पकृतिका अवशेष फेला पारेका थिए। ती अशोक स्तम्भभन्दा अघिका थिए।
तर व्यवस्थित र वैज्ञानिक अध्ययनको शुरूआत सन् १८९९ मा बंगाली पुरातत्त्वविद् पूर्णचन्द्र मुखर्जी (पीसी मुखर्जी)को पहलमा भएको उत्खननबाट शुरू भएको थियो। मुखर्जीको अन्वेषणबाट नै मायादेवीको मन्दिर पत्ता लागेको थियो। गौतम बुद्धको जन्मस्थल कपिलवस्तुको तिलौराकोट नै हो भन्ने यो एक आधिकारिक प्रमाण थियो। लुम्बिनी उत्खननमा पछिल्ला दशकमा महत्त्वपूर्ण उपलब्धि हासिल भएका छन्। तर यसको शुरूआती कार्यमा पीसी मुखर्जीको योगदानलाई महत्त्वपूर्ण मानिन्छ।
सन् १९३३-३९ मा जनरल केशरशमशेरको पहल र नेतृत्वमा लुम्बिनी क्षेत्रमा अभिरुचिका साथ पर्यवेक्षण, अन्वेषण र केही सीमित उत्खनन समेत गरिएको थियो। पाल्पाका तत्कालीन बडाहाकिम रहेका खड्गशमशेरले त्यस क्षेत्रमा रूख कटानी र निकासीका क्रममा जंगलमा शिलास्तम्भ भेटेपछि उनमा त्यसको थप खोज गर्ने चासो बढेको थियो। यसको चर्चा काठमाडौंस्थित श्री ३ सम्म पनि पुगेको थियो।
यसरी के थाहा हुन्छ भने पुरातत्त्व विभागको स्थापनाभन्दा अघि भएका सबै प्रयास गौतम बुद्धको जन्मस्थान पहिचान गर्नमा नै केन्द्रित थिए। त्यस क्रममा अशोक स्तम्भ र लुम्बिनी सबैभन्दा पहिला कसले पत्ता लगाएको हो भन्ने श्रेयको विवाद उठेको कुरा पनि उल्लेख गरिएको पाइन्छ। पुरातत्त्व विभागको स्थापनापछि पनि लुम्बिनी उत्खननको क्रमले निरन्तरता र तीव्रता पाइरह्यो। उदाहरणका लागि सन् १९६२ मा श्रीमती देवला मित्राको नेतृत्वमा भएको तिलौराकोटको उत्खननलाई लिन सकिन्छ।
नेपालको सन्दर्भमा सर्वाधिक लामो समयसम्म पुरातात्त्विक उत्खनन र अनुसन्धान निरन्तर भइरहेको पुरातात्त्विक स्थल हो, लुम्बिनी क्षेत्र। त्यस क्षेत्रमा आज पनि विविध स्तरका उत्खनन र अन्वेषण भइरहेकै छन्। लुम्बिनीमा भएको उत्खननको लामो फेहरिस्त हेर्दा थाहा हुन्छ कि त्यस क्षेत्रमा भइरहेका त्यस्ता उत्खनन र अन्वेषण व्यापक र गतिका हिसाबले अझै पर्याप्त छैनन्। वाशिष्ठ (विसं २०७७)ले लुम्बिनीमा भएका उत्खनन र त्यस क्रममा भएका शृंखलाबद्ध विवाद तथा राजनीतीकरणका अनेकौं उदाहरण क्रमबद्ध रूपमा प्रस्तुत गरेका छन्।
नेपालको प्राक्-इतिहास
नेपालका पहाड वा हिमालहरू १३० मिलियन अर्थात् १३ करोड वर्ष पुराना मानिन्छन्। यस भूभागमा आदिम मानवको बसोबास प्राचीनकालमा नै भएको अनुमान गर्ने गरिन्छ, यद्यपि भरपर्दाे प्रमाणहरू उपलब्ध छैनन्।
बुटवलको चुरे क्षेत्रमा पर्ने तिनाउ नदीको किनारमा भेटिएको माथिल्लो बंगारा (अपर मोलर) ९० लाखदेखि एक करोड १० लाख वर्ष पुरानो भएको अनुमान गरिन्छ। यस अर्थमा यो एशियाकै सबैभन्दा प्राचीनमध्येको एक मानव अवशेष हुन सक्छ। तसर्थ पनि यो महत्त्वपूर्ण प्राप्ति थियो। उक्त अवशेषको प्राप्तिपछि नेपाली पुरातत्त्वविद् र प्राचीन इतिहासका विद्वान्हरू खुशी हुनु त स्वाभाविक नै थियो, पत्रपत्रिका र सामान्य रुचि भएका व्यक्तिहरूले त्यसलाई महान् उपलब्धि भनेर लेखे।
बुझ्नुपर्ने तथ्य के थियो भने, नेपाली र अमेरिकी खोजकर्ता संलग्न टोलीले सन् १९८० मा भेटेको यो अवशेष पुरातात्त्विक सन्दर्भको उत्खननका क्रममा भेटिएको नभई भूसतहको अन्वेषणका क्रममा प्राप्त भएको थियो। कुनै पनि पुरातात्त्विक अवशेषहरू पुरातात्त्विक सन्दर्भमा उत्खनन गरिएको छैन भने तिनको वैधता र उपादेयता कम नै हुन्छ। तसर्थ तिनाउ नदी किनारमा भेटिएको अवशेषलाई पनि पुरातात्त्विक महत्त्वका हिसाबले त्यतिको आधिकारिक वा प्रामाणिक मानिंदैन।
भारत र पाकिस्तानतिर पनि भेटिएका अवशेषसँग यसको समरूपताका कारण यसलाई पनि रामापिथेकस भनियो र स्थानीयकरण गरेर ‘बुटौलोपिथेकस’ वा ‘तिनाउपिथेकस’ समेत भनियो। उक्त आदि मानवको अन्य वा उक्त बंगारासँग सम्बन्धित कुनै अन्य त्यस्ता पुरातात्त्विक प्रमाणहरू फेला पर्न सकेका छैनन्। तसर्थ यस प्रमाणले त्यस क्षेत्रमा त्यति अघिदेखि नै मानव पुर्खाको बस्ती वा गतिविधि थियो भन्ने तथ्यलाई स्थापित गर्न सक्दैन। तथापि थप खोज-अनुसन्धान गर्नका लागि चासो भने जगाउन सक्छ।
तर हालसम्म त्यस क्षेत्रमा प्रागैतिहासिक मानव बसोबास भएको हुन सक्ने सम्भावनाबारे थप खोज-अनुसन्धानको चासो देखिएको छैन।
सन् १९८४ मा यस्तै खाले तल्लो बंगारा काठमाडौंको पूर्वी भागमा अवस्थित भद्रबासमा पनि पाइएको थियो। यो भने ‘प्लेइस्टोसिन’ पिरियडको उत्तरार्धतिरको अर्थात् अन्तिम हिम युगको समयको थियो भन्ने अनुमान गरिएको छ। त्यसभन्दा अघि सन् १९७९ तिर नक्खु खोलाको छेउछाउमा एम फोर्ट र भी गुप्ताले मेरुदण्ड भएको जनावरको अवशेष संकलन गरेका थिए। यो पनि उत्तर ‘प्लेइस्टोन’ कालीन नै भएको अनुमान गरिएको छ। यस अवशेषलाई गुप्ताले माथिल्लो कश्मीरमा करेवा नदी उपत्यकामा प्राप्त अवशेषसँग तुलना गरेका थिए।
नेपालमा नेपाली अनुसन्धानकर्ताले सीमित मात्र नेपालको प्रागैतिहासिक उत्खननको काम गरेका छन्। ती उत्खननभन्दा पनि बढी मात्रामा भूसतह अन्वेषणकै आधारमा भएका छन्। तीमध्ये केही प्रतिनिधि अध्ययन निम्न प्रकारका छन्।
सन् १९६२ मा आर्कियोलोजिकल सर्भे अफ इन्डियाकी देवला मित्रा (सन् १९२५-२००५)को नेतृत्वमा भएको तिलौराकोटको उत्खनन। उनी भारतीय पुरातत्त्वविद् थिइन्, जो पछि गएर आर्कियोलोजिकल सर्भे अफ इन्डियाको डाइरेक्टर जनरल समेत बनेकी थिइन्। उनी डाइरेक्टर जनरल बन्ने पहिलो महिला पुरातत्त्वविद् पनि थिइन्। उनको टोलीले मुख्यतया लुम्बिनी लगायत विभिन्न बौद्ध क्षेत्रहरूमा उत्खनन गरेको थियो।
त्यस्तै, सन् १९६२ मा नै आरबी जोशीले बागमती र विष्णुमती नदी किनारमा पुरातात्त्विक अन्वेषण गरेका थिए। उनले बल्खु नजिक केही शिल्पकृतिहरू पनि फेला पारेका थिए। तर तिनको आधिकारिकतामाथि प्रश्न उठाइयो। न अन्य पुरातत्त्वविद्ले यससँग मेल खाने अन्य अन्वेषण रिपोर्ट प्रकाशित गरे न त उनले प्राप्त गरेका पाषाण शिल्पकृतिले पुरातात्त्विक सन्दर्भ स्थापित गर्न सकेको देखिन्छ।
सन् १९६४ मा एसबी देवले त्रिवेणीको नारायणी नदी किनारमा त्यस्तै प्रकारको अन्वेषण गरेका थिए। उनी स्टडीज इन इन्डियन आर्कियोलोजी पुस्तकका लेखक प्रसिद्ध भारतीय पुरातत्त्वविद् थिए।
सन् १९६६ मा प्राध्यापक रामनिवास पाण्डेयले दाङ र बर्दियातिर भूधरातलमा उपलब्ध पुरातात्त्विक अवशेषहरूको अन्वेषण गरेका थिए। उनले केही पाषाणकालीन औजारहरू संकलन गरेका थिए। पछि सन् १९८० को दशकमा पनि प्राध्यापक पाण्डेयले दिनेशचन्द्र रेग्मी सहित पश्चिम नेपालमा केही अन्वेषण गरेर रिपोर्टहरू प्रकाशित गरेका छन्।
सन् १९७० मा प्रसिद्ध भारतीय पुरातत्त्वविद् नीलरतन बनर्जी सहित तत्कालीन पुरातत्त्व विभागका जनकलाल शर्माले काठमाडौं उपत्यकामा अन्वेषण गरेका थिए। तर यी सबै पुरातात्त्विक उत्खनन नभई अवलोकनमा आधारित अन्वेषणहरू थिए। काठमाडौंमा गरिएको अन्वेषणबाट कुनै त्यस्तो महत्त्वपूर्ण औजार वा शिल्पकृति प्राप्त हुन त सकेन, तर यसले प्रागैतिहासिक अध्ययनमा विद्वत् वर्ग तथा आममान्छेको अभिरुचि र चासो बढाइदियो।
काठमाडौं उपत्यकामा प्राचीनकालदेखि मानवको बसोबास भएको हुन सक्ने अनुमान गर्न सकिए पनि प्रामाणिक पुरातात्त्विक अवशेषहरू प्राप्त हुन नसक्नुको एउटा कारण यहाँ बढिसकेका बस्तीहरूको घनत्व, पूर्वाधार निर्माण, खेतीपाती लगायत मानव गतिविधिहरू हुन्। त्यसकारण सम्भावित प्रागैतिहासिक अवशेषहरू पाउन मुश्किल परेको हुन सक्ने अनुमान गरिएको थियो।
तर सन् १९६६ देखि १९७७ सम्म रिसो विश्वविद्यालयका पुरातत्त्वविद्हरूले पुरातात्त्विक उत्खनन गरेका थिए। तत्कालीन सोभियत संघका अन्वेषक डा. सेटेन्कोको अगुवाइमा सन् १९७८ तिर गरिएको अध्ययनलाई महत्त्वपूर्ण मानिन्छ। जनकलाल शर्मा सम्मिलित उक्त टोलीले काठमाडौं उपत्यका र नवलपरासीबाट केही महत्त्वपूर्ण पुरा-पाषाणकालीन ढुंगे हतियार प्राप्त गर्न सकेका थिए।
यसरी सन् १९६० को दशकमा भएका यी र यस्ता सर्वेक्षण, अन्वेषण एवम् उत्खननहरू प्रागैतिहासिक नेपालबारे रुचि जगाउन महत्त्वपूर्ण सावित भएका थिए। अन्यथा यसभन्दा पहिला निकै कम व्यक्तिहरू मात्र नेपालको प्राचीन इतिहासमा अभिरुचि राख्थे। खासमा नेपाल देशको प्राचीनता पौराणिक कथा र मिथकहरूमा सीमित थियो। त्यति नै वेलातिर शिक्षित नागरिकको बीचमा स्वीस भूगर्भविद् टोनी हागनको भौगर्भिक सर्वेक्षणको चर्चा पनि निकै भइरहेको थियो।
यसले नेपालको भौगर्भिक सम्पदा र प्राचीनताबारे रुचि जगाउने काम मात्र गरेन, यो कतिपय पुरातात्त्विक अन्वेषणका लागि महत्त्वपूर्ण कार्यको थालनी पनि थियो। टोनी हागनले सर्वेक्षणका क्रममा पहाडी र हिमाली क्षेत्रतिर पनि भेटिएका गुफामा प्राचीन मानव बसोबास गरेका हुन सक्ने संकेत गर्दै मानवशास्त्री तथा पुरातत्त्वविद्हरूलाई प्रागैतिहासिक अन्वेषणका लागि सूचित एवम् प्रोत्साहित गर्ने काम समेत गरेका थिए।
यसरी सन् १९८० को दशकमा नेपालको पुरातात्त्विक अन्वेषणले नयाँ उचाइ प्राप्त गरेको थियो भन्न सकिन्छ।
गुड्रुन कर्भिनस : उत्खनन, योगदान र विवाद
नेपालको पुरातात्त्विक अन्वेषणमा महत्त्वपूर्ण योगदान गरेकी जर्मन पुरातत्त्वविद् गुड्रुन कर्भिनस (सन् १९३२-२००६)को अध्ययन र हासिल भएका पुरातात्त्विक अवशेषहरू सम्भवतः नेपालको प्राक्-इतिहास अध्ययनका सबैभन्दा महत्त्वपूर्ण उपलब्धि हुन्। पोल्यान्डमा जन्मिएकी यी जर्मन पुरातत्त्वविद् आफ्नो काम र सफलताका कारण चर्चित रहिन् र विवादित पनि भइन्।
भारतको पुनेमा सन् २००६ मा उनको हत्या हुनुभन्दा अघिल्लो घडीसम्म उनी पुरातात्त्विक अन्वेषण तथा अनुसन्धानमा दत्तचित्त भएर लागेकी थिइन्। उनी नेपाल र भारतमा मात्र नभई अफ्रिकी पुरातात्त्विक अन्वेषण तथा अनुसन्धानमा पनि संलग्न थिइन् र अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त पुरातत्त्वविद् समेत थिइन्।
करीब २० वर्षको लामो अवधिमा कर्भिनसले नेपालको महाभारत-चुरे पर्वत शृंखलामा पर्ने पश्चिममा दाङ-देउखुरीदेखि पूर्वमा महोत्तरीको रातु नदी किनारसम्म अन्वेषण-उत्खनन गरेकी थिइन्। यसो पनि भन्न सकिन्छ कि उनले दक्षिणएशियाको प्रागैतिहासिक नक्शामा पुरा-पाषाणकालीन प्रमाण सहित नेपालको उपस्थिति र अवस्थिति नक्शांकन गराउन सफल भइन्। उनका अनुसन्धान र प्रकाशित कार्य नेपालको प्राक्-इतिहासका महत्त्वपूर्ण स्रोत हुन्।
उनले करीब १६ लाखदेखि एक लाख वर्षअघिसम्मका हुन सक्ने ठानिने मानव पुर्खाले निर्माण र प्रयोग गरेको हुन सक्ने अचिलियन प्रकारको हाते बन्चरो बबई नदीको दलदल क्षेत्रमा पाइएको तथ्य प्रकाशित गरिन्। त्यस्तै, दक्षिणी मैदानी क्षेत्रका नदी किनारहरूमा अन्य थुप्रै हाते बन्चरोहरू संकलन गरेकी थिइन्। ती मूलतः शिवालिकमा पाइएका हाते बन्चरो आदि नेपाल र भारतका त्यस भौगोलिक क्षेत्रमा आम थियो र तिनमा धेरै समानता पनि थियो।
यसको अर्थ आदि मानवहरू त्यस क्षेत्रमा ओहोरदोहोर गरेका थिए वा उनीहरूको बीचमा सांस्कृतिक सम्बन्ध थियो भन्ने नै हो। यद्यपि धेरैजसो भूसतहमा पाइएका तथा उत्खननमा प्राप्त शिल्पकृति पनि स्तरिक भूगर्भ वा पुरातात्त्विक सन्दर्भमा नपाइएका कारण तिनको कालक्रम निर्धारण र वर्गीकरणमा स्पष्टता आउन अझै थप पुरातात्त्विक सन्दर्भबाट प्राप्त त्यस समयका शिल्पकृतिहरूबाट मात्र सम्भव हुनेछ।
उनले नै देउखुरीको अर्जुनखोला आसपासको क्षेत्र, जसलाई उनी आफैले ‘अर्जुन ३ साइट’ नामकरण गरेकी थिइन्, त्यहाँबाट थुप्रै मूलतः क्वार्टजाइटको चुरो भागबाट बनेका फ्लेक, ब्लेड, स्क्र्यापर र सुइरोहरू आदि संकलन गरेकी थिइन्। ती लेभालोइस शैली, जुन खासमा मध्य-पाषाणकालीन शैलीका थिए। यसरी हेर्दा दाङ-देउखुरी पुरा-पाषाणकालदेखि नै मानवले बसोबास तथा अन्य गतिविधि गरेको क्षेत्र हो भन्ने प्रमाणित हुन्छ। दाङको तुइ उपत्यकाको ब्राकुटी उत्खनन क्षेत्रमा त ठूला आकृतिका रहस्यमय लाग्ने फ्लेक कोर अर्थात् ढुंगाको बाहिरी भाग र चुरो भाग सहितको औजार फेला परेको कुरा दस्तावेजीकरण गरिएको छ।
नेपालको प्राक्-इतिहास खासगरी पुरा-पाषाणकाल अन्वेषण गर्ने उनी पहिलो अवश्य पनि होइनन्। प्रागैतिहासिक पुरातात्त्विक अवशेष उत्खनन गर्ने पनि उनी पहिलो होइनन्। तर उनको व्यवस्थित अवलोकन, पद्धतिसंगत उत्खनन, कार्यस्थल वा उत्खननस्थलमा लामो समयको अध्ययन, उपलब्ध पुरातात्त्विक प्रमाणहरूको संकलन र व्याख्या विश्लेषण आदिका कारणले समेत उनको अध्ययन महत्त्वपूर्ण हुन गएको हो।
यद्यपि उनले उत्खनन गरेका धेरैजसो ढुंगे औजारहरू स्तरिक (स्ट्राटिग्राफिक) भौगर्भिक सन्दर्भबाट कमै मात्र प्राप्त भएका छन्। तर पनि, आमपुरातत्त्वविद् तथा मानवशास्त्रीहरूमा मतैक्य छ कि उनले खोज गरेका प्रागैतिहासिक पुरातात्त्विक स्थल र संकलन गरेका पुरा-पाषाणकालीन र नव-पाषाणकालीन शिल्पकृति अर्थात् आर्टिफ्याक्टहरूको आधारमा कर्भिनस हालसम्मकै सबैभन्दा सफल पुरा-पाषाणकालीन पुरातत्त्वविद् हुन् भन्न सकिन्छ। जर्मन रिसर्च काउन्सिलको आर्थिक एवं प्राविधिक सहयोग अन्तर्गत उनका धेरै अन्वेषण सम्भव भएका थिए। यस अर्थमा पनि ती अन्वेषण महत्त्वपूर्ण रहेका छन्।
कर्भिनसले उत्खनन मार्फत सीमित नव-पाषाणकालीन ढुंगे हतियारहरू पनि प्राप्त गरेकी थिइन्। खासगरी गदारी, वसन्तपुर, भिट्टाभाब र ब्राकुटीबाट त्यस्ता नव-पाषाणकालीन प्रमाण फेला परेका थिए। निखारिएका हाते बन्चरो, साना फ्लेक, सुन्दर शैलीका ढुंगे तीर, डोरीका खत बनाइएका माटोका भाँडाका टुक्राहरू आदि दाङ र तुइ उपत्यकाबाट संकलन गरिएका थिए। तुइ उपत्यकामा कर्भिनसले फेला पारेका केही सूक्ष्म औजार (माइक्रोलिथ), जस्तै- साना आकारका स्क्र्यापर, ससाना फ्लेक तथा ब्लेड लगायत ज्यामितीय आकारका सूक्ष्म औजारहरू भारतीय महाद्वीपका अन्य भागमा पाइएका ढुंगे औजारसँग मेल खान्छन्।
दाङ देउखुरीका अलावा अन्य दुई अन्वेषण स्थल कमला नदी नजीकको शिवालिक क्षेत्रको पाटु शिल्प र महोत्तरीको रातु खोला महत्त्वपूर्ण छन्। यी स्थलमा सूक्ष्म पाषाण शिल्पकृतिहरू भने भेटिएका थिएनन्। यी उत्खननस्थल आजभन्दा करीब सात हजार वर्षअघिका हुन सक्ने कालक्रम अनुमान गरिएको छ।
यसरी समग्रमा गुड्रुन कर्भिनसका अन्वेषणहरू पूर्वी तथा पश्चिम नेपालका महत्त्वपूर्ण प्रागैतिहासिक पुरातात्त्विक स्थल पहिचान, अन्वेषण-उत्खनन, प्रकाशनले मात्र महत्त्वपूर्ण रहेनन्, नेपाललाई पुरातात्त्विक अध्ययनका हिसाबले विश्वलाई चिनाउने र प्रागैतिहासिक पुरातात्त्विक अध्ययनमा अभिरुचि जगाउने कार्य समेत गरेको मान्न सकिन्छ। उनकै कार्य मार्फत सप्रमाण भन्न सकेका हौं कि नेपालका महाभारत-चुरे पर्वत शृंखला प्लेइस्टोसिनको पछिल्लो काल (एक लाख २९ हजार-११ सय वर्ष)देखि होलोसिन (अन्तिम हिम युगको समय)सम्मका मानव पुर्खाले बसोबास र गतिविधि गरेका थिए। खासगरी उनले दाङ देउखुरीमा गरेको अन्वेषण र प्राप्त उपलब्धिबाट अन्य प्रागैतिहासिक पुरातत्त्वविद्हरू पनि प्रभावित भएको बुझ्न सकिन्छ।
सम्भवतः तिनैमध्येकी एक वर्गेन विश्वविद्यालय नर्वेकी पुरातत्त्वविद् प्राध्यापक र्यान्डी हालान्डले पनि दाङको तुइ उपत्यकामा सन् १९९० को मध्यतिर पुरातात्त्विक उत्खनन गर्ने स्वीकृति प्राप्त गरी काम शुरू गरेपछि भने कर्भिनस विवादमा आएकी थिइन्। किनकि त्यो उपत्यका कर्भिनसले पहिलेदेखि नै उत्खनन गरिरहेको क्षेत्र थियो। कर्भिनसले सन् १९८५ देखि १९९४ सम्ममा दाङ उपत्यकाको त्यस क्षेत्रमा करीब ५० भन्दा बढी स्थलमा उत्खनन गरिसकेकी थिइन्। ती बसोबास क्षेत्र, ढुंगे औजार वा शिल्पकृति उत्पादन क्षेत्र, साना बस्ती र अन्य मानव गतिविधि भएका हुन सक्ने स्थलहरू थिए, जुन प्रागैतिहासिक अन्वेषणका लागि ज्यादै महत्त्वपूर्ण थिए।
प्राध्यापक हाल्यान्डले पुरातत्त्व विभाग र त्रिभुवन विश्वविद्यालयको इतिहास, संस्कृति तथा पुरातत्त्व विभागसँगको सहकार्यमा त्यस क्षेत्रका थप ३५ स्थलमा सर्वेक्षण गरेकी थिइन्। सन् १९९३-९४ तिरका ती सर्वेक्षणका आधारमा उनले पछि सन् १९९५ मा उत्खनन नै प्रारम्भ गरिन्। तुइ उपत्यकाको गिधनिया, रनियापुर र मझघटुवामा उत्खनन प्रारम्भ गरिएको थियो। तर करीब दुई महीनाको उत्खननपछि विवादका कारण उत्खनन कार्य प्रभावित हुन पुग्यो र अन्ततोगत्वा अवरुद्ध नै भयो।
यस लेखकलाई पछि वर्गेन विश्वविद्यालयमा एमफिल अध्ययनमा रहँदा तिनै प्राध्यापक हाल्यान्डको सुपरिवेक्षण अन्तर्गत अध्ययन-अनुसन्धान गर्ने अवसर मिलेको थियो। उत्खनन ताका उक्त विश्वविद्यालयको त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा भइरहेको अनुसन्धान कार्यमा संलग्न भएका कारण उत्खननस्थलको अवलोकन गर्ने अवसर मिलेको थियो। त्यसकारण पनि उक्त क्षेत्रको अन्वेषण र विवाद अनि सबै कार्य अवरुद्ध हुँदाको यथार्थसँग साक्षात्कार र अभिरुचि रहेको हुन सक्छ।
ती दुई घाघडान पुरातत्त्वविद्को बीचमा विवादको कारण के थियो भने, कर्भिनसले कानूनी रूपमा पुरातत्त्व विभागबाट नभई भूगर्भ विभागबाट मात्र स्वीकृति लिएका कारण तथा उत्खननबाट प्राप्त पुरातात्त्विक अवशेष, ढुंगे हतियार, शिल्पकृति आदि पुरातत्त्व विभागमा नबुझाएको भन्ने आरोप उनीमाथि लागेको थियो। यसरी एकले विधिसम्मत पुरातत्त्व विभागबाट स्वीकृति लिएर उत्खनन थालेको दाबी गरिन् भने उता कर्भिनस दशकौं अन्वेषण गरेको त्यति महत्त्वपूर्ण क्षेत्रबाट हट्ने सम्भावना पनि थिएन।
अन्ततोगत्वा यो आन्तरिक मात्र नभई सम्बन्धित राष्ट्रहरूको चासो र संलग्नताको विषय पनि बन्न पुग्यो। यसरी वर्गेन विश्वविद्यालयकी प्राध्यापकले शुरू गरिसकेको उत्खनन कार्य हठात् छोड्नुपर्यो। विश्वका पुरातत्त्वविद्हरूको माझमा प्रसिद्धि कमाएका यी दुई पुरातत्त्वविद्को विवादले त्यस क्षेत्रको उत्खननलाई त अवरुद्ध गर्यो नै, तर दुर्भाग्य, नेपालको प्रागैतिहासिक अध्ययन-अनुसन्धानमा पनि ठूलै क्षति पुग्न गयो।
उचाइमा उत्खनन
सन् १९८० कै दशकमा पुरातत्त्व विभागका देवेन्द्रनाथ तिवारीको टोलीले मुस्ताङको टुकुचेको चोखोपानीमा ताम्र-पाषाणकालीन पुरातात्त्विक अवशेषहरू फेला पारेको थियो। यसै दशकमा नेपाल तथा एशियाली अनुसन्धान केन्द्र (सिनास)ले रामनिवास पाण्डेय र दिनेशचन्द्र रेग्मीलाई पश्चिम नेपालमा प्रागैतिहासिक अन्वेषणको जिम्मेवारी दिएको थियो। जुन अन्वेषणको प्रतिवेदन पछि सिनासले प्रकाशित पनि गर्यो।
नेपालको हिमाली क्षेत्रमा भएको अर्को महत्त्वपूर्ण अन्वेषण मुस्ताङ उपत्यकाको अन्वेषण हो। यस क्षेत्र खासगरी त्यहाँका गुफाहरू नेपाली तथा विदेशी अनुसन्धानकर्ताको आकर्षणमा सधैं रहने गरेका थिए र छन्। जलवायु तथा अन्य प्राकृतिक प्रतिकूलताका बावजूद पनि करीब तीन हजार वर्षदेखि मुस्ताङ लगायत तिब्बतसँग सीमा जोडिएका अन्य हिमाली क्षेत्रमा मानव बसोबास रही आएको कुरा अध्ययनहरूले पुष्टि गरेका छन्।
धवलागिरि र अन्नपूर्ण हिमालको बीचमा अवस्थित यस क्षेत्रको झोङ उपत्यकामा भएका अन्वेषणबाट केही महत्त्वपूर्ण वानस्पतिक अवशेषहरू पनि संकलन गरिएका छन्। त्यस क्षेत्रमा प्राप्त ती वनस्पतिहरूको खेती गरिएको प्रमाणका साथै रेडियो कार्बन डेटिङ मार्फत कालक्रम निर्धारणमा पनि सहयोग पुगेको छ।
नोरजेर (सन् २०००)ले पुरा-वानस्पतिक प्रमाणका आधारमा करीब तीन हजार वर्षदेखि नै त्यहाँ सिंचाइको प्रबन्ध भएको र दोहोरो बाली प्रणाली अभ्यासमा रहेको हुन सक्ने सुझाएका छन्। प्रतिवर्ष दुई बालीसम्म भित्र्याउनु त्यस क्षेत्रका लागि ज्यादै महत्त्वपूर्ण तथ्य हो। त्यहाँ जौ, फापर, खुर्पानी आदि उत्पादन हुने गरेका प्रमाणहरू फेला परेका छन्। तिनै पुरा-वानस्पतिक प्रमाणहरूले करीब २४००-२१०० वर्षअघि त्यस क्षेत्रमा वस्तु विनिमय समेत हुने गरेको देखिन्छ।
त्यो समयमा केही नयाँ प्रजातिहरू पनि देखा परेका थिए। त्यो समयमा मेब्राक गुफामा बसोबास गर्ने मान्छेहरूले दक्षिण क्षेत्रमा, खासगरी भारततिर उत्पादन हुने, जस्तै- गहुँ, कोदो, चामल, सिमी, केराउ आदि खाने गरेको पाइन्छ।
उपलब्ध वानस्पतिक तथा अन्य सांस्कृतिक प्रमाण, चिहानका अवशेष पर्याप्त नहुँदा पनि उपलब्ध प्रमाणहरूले के संकेत गर्छन् भने, त्यस क्षेत्रका गुफाहरूमा आजभन्दा करीब १८ सयदेखि १३ सय वर्षअघि र फेरि करीब १२ सयदेखि ८०० वर्षतिर खासगरी तिब्बततिरबाट सर्दै आएका मानिस त्यस क्षेत्रमा बसोबास गरेका थिए। उनीहरूले नयाँ प्रजातिका जौ, तोरी आदिको खेती शुरू गरेका थिए। ती गुफाहरूमा बसोबासको मुख्य अवधि चाहिं ८०० देखि ४०० वर्षअघिको अवधि थियो।
सन् १९९० को दशकमा र त्यसपछि पनि यस क्षेत्रमा पुरातत्त्व विभाग र अन्य विभिन्न विदेशी अनुसन्धाता तथा संस्थासँगको सहकार्यमा हुने अनुसन्धान-अन्वेषणले केही गति लिएको देखिन्छ। पुरातत्त्व विभाग र जर्मनीस्थित कोलोन विश्वविद्यालयको प्राक्-इतिहास विभागको संयुक्त अनुसन्धान टोलीले सन् १९९२ देखि १९९७ सम्म गरेको अध्ययनले त्यस क्षेत्रका टुकुचेको चोखोपानी र मुक्तिनाथको तल्लो भेगमा पर्ने कालीगण्डकी उपत्यकाको फुजेलिङ, मेब्राक, खिंगा तथा झारकोटमा केही पुरातात्त्विक अवशेषहरू फेला पारेको छ। ती अवशेषका आधारमा तीन हजार वर्षदेखि नै त्यहाँ मानिसको बसोबास रहेको र उनीहरूको भारत, चीन तथा मध्यएशियासम्म पनि सम्पर्क भएको हुन सक्ने अनुमान गरिएको छ।
उक्त क्षेत्रको सबैभन्दा महत्त्वपूर्ण चाहिं मुक्तिनाथ उपत्यकाका गुफामा भेटिएका चिहानहरू हुन्। थुप्रै साना-ठूला गुफाहरू तला तला अर्थात् तहगत प्रणालीमा बनेका कारण करीब एक हजार ६०० सयदेखि एक हजार ६५० वर्षअघिको अवधिमा सामूहिक चिहानका रूपमा उपयोग भएको हुन सक्ने देखिन्छ। मेब्राक र चोखोपानी क्षेत्रका यस्ता गुफाबाट कार्नेलियन, सिपीका हार, मंगलसूत्र तथा सिसाका माला, काँसका चुरा, तामाका मानव आकृति, ढुंगाका सुइरा, बुट्टा कुँदिएका कचौरा, डोरीका डाम भएका माटाका भाँडा, काठका साना भाँडा, बाँसका टोकरी, काठका कचौरा, बाँसका बाँसुरी आदि संकलन गरिएका थिए।
चिसो र शुष्क जलवायुका कारण त्यहाँ कपडा, च्यांग्राका छालाका बूट जुत्ता तथा पुराना परिरक्षित मानव तथा अन्य जनावरका शव पनि सुरक्षित अवस्थामा फेला पारिएको थियो। जर्मनीकै अनुसन्धान संस्थाले उपल्लो मुस्ताङ लगायत मुक्तिनाथ-कालीगण्डकी उपत्यकाका अन्य क्षेत्रमा पनि अनुसन्धान-अन्वेषण गरी प्रागैतिहासिक महत्त्वका महत्त्वपूर्ण सूचनाहरू प्राप्त गरेको थियो।
सीमित अध्ययनका महत्त्वपूर्ण उपलब्धि
यसरी नेपालमा प्राप्त ढुंगे हतियार मूलतः पुरा-पाषाणकालीन र नव-पाषाणकालीन थिए। नेपालमा प्राप्त भएका यस्ता ढुंगे हतियार भारतीय, खासगरी उत्तर-पूर्वी भारतसँग समानता पाइए पनि यसको कालक्रम र समाकृति तथा तिनको निर्माण प्रक्रियाका आधारमा यूरोपेली ढुंगे हतियारहरूको अनुरूप वर्गीकरण गरिएका छन्।
सीमित मात्रामा नै भए पनि ती पुरातात्त्विक उत्खनन हुनु अगाडि नेपालको वर्तमान भूखण्डमा प्राक्-इतिहासकालदेखि नै मानवको बसोबास थियो भन्ने भरपर्दाे जानकारी प्राप्त हुन सकेको थिएन। ती शृंखलाबद्ध उत्खनन र अन्वेषण मूल रूपमा प्राक्-इतिहासकालदेखि नै नेपालमा मानव बसोबास गरेका थिए भन्ने मूल प्रश्नको समाधानमा केन्द्रित थिए।
विभिन्न ठाउँमा विभिन्न व्यक्ति र संस्थाको नेतृत्वमा भएका उत्खनन र अन्वेषणबाट प्राप्त पुरातात्त्विक प्रमाणका आधारमा नै अहिले भन्न सक्ने भएका छौं कि नेपालमा पुरा-पाषाणकालको शुरूआतदेखि पुरा-पाषाणकालका सबै चरण, मध्य-पाषाणकाल र नव-पाषाणकालमा मानव बसोबास गर्ने गरेको देखिन्छ। पाषाणकालीन हाते बन्चरो पुरा-पाषाणकालीन मानव पुर्खाको पहिलो प्रमाण थियो। यद्यपि यस्ता प्रमाण र उत्खनन क्षेत्र एकदमै कम छन्।
यसरी केही सीमित पाषाणकालीन ढुंगे हतियारका अलावा पुरा-वानस्पतिक (प्यालियोबोटनिक) प्रमाण पनि प्राप्त भएका छन्। प्राप्त ढुंगे हतियारसँग एकाध चारकोल (कोइला)का अवशेष भेटिएका छन्। जसका कारण नै ती पुरातात्त्विक शिल्पकृतिहरूको कालक्रम निर्धारण गर्न सहयोग पुगेको हो। तर ती ज्यादै सीमित मात्र भएका कारण उत्खनन क्षेत्र र पुरातात्त्विक प्रमाण कति पुराना हुन्, मानव पुर्खाहरू कस्तो वातावरणीय वा पारिस्थितिक अवस्थामा बसोबास गरेका थिए, केकस्ता खाद्यान्न शिकार वा खोजीमूलो गर्थे भन्नेबारेमा धेरै केही बताउन सकिने अवस्था अझै बनिसकेको छैन।
तर के कुरा निश्चित रूपमा बताउन सकिन्छ भने पुरा-पाषाणकालको शुरूआतदेखि, मध्य-पाषाणकाल हुँदै नव-पाषाणकालसम्म नै यहाँ मानव बसोबास र मानव गतिविधि थियो। यद्यपि पर्याप्त उत्खनन नभएका र भएका उत्खननबाट प्राप्त प्रमाणहरूको पनि समग्र र व्यवस्थित व्याख्या विश्लेषण हुन नसकेको अवस्थामा विभिन्न सांस्कृतिक कालखण्डका मानव पुर्खाहरू ती क्षेत्रमा निरन्तर बसोबास गरेका थिए कि आक्कलझुक्कल वा छरपस्ट वा पटक पटक गरेर बसोबास गरेका थिए भन्ने तथ्य निर्क्योलका साथ भन्न सकिने गरी नेपालका प्रागैतिहासिक पुरातात्त्विक अन्वेषण तथा उत्खनन र व्याख्या हुन भने अझै बाँकी नै छ।
शुरूआती चरणका पुरा-पाषाणकालीन बसोबास र मानव गतिविधि भने बसाइँसराइ गरी हिंड्ने फिरन्तेहरूको छिटफुट प्रकारको बसोबास थियो। ती विभिन्न कालखण्डमा आएर बस्थे। तर लामो समयको अन्तरालपछि मात्र। यस्तो अन्तराल हजारौं वर्ष र कुनै स्थानमा लाखौं वर्षको पनि हुन सक्थ्यो। यस्तो गतिविधि खासगरी दक्षिण-उत्तर चलायमानता वा सराइ सम्भवतः हिउँदमा हुन्थ्यो। किनकि गर्मी याममा गंगा मैदानका घना जंगल छिचोल्नु असम्भवप्रायः थियो।
तुलनात्मक रूपमा छोटो समयको अन्तराल र लामो समयको बसोबास एवम् क्रमशः निरन्तर बसोबास भने प्लेइस्टोसिन युग, जुन करीब २६ लाख वर्षदेखि १२ हजार वर्षबीचको अवधि थियो। यो त्यसै युगको उत्तरार्धमा भएको अनुमान गर्न सकिन्छ। अर्थात् अन्तिम हिम युगपछि यस भूखण्डमा मानव पुर्खाको निरन्तरको बसोबासका संकेत भेटिन्छन्। प्राप्त ढुंगे हतियारहरूमा समरूपता, तिनको निर्माण विधि र आवश्यकताका आधारमा पनि यस्तो अनुमान गर्न सकिन्छ।
सामान्यतया आमरूपमा प्रचलित हतियारमध्ये फ्लेक-चप्पर, कोर-चप्पर, फ्लेक-कोवल समूहका ढुंगे हतियार थिए। यद्यपि माइक्रोलिथिक अर्थात् सूक्ष्म ढुंगे हतियारहरू भने नपाइएका त होइनन्, तर कमै मात्र पाइएका छन्। तसर्थ त्यस्ता सूक्ष्म ढुंगे हतियार, जुन नव-पाषाणकालीन विशेषता हुन्, तिनको पनि प्रवृत्तिगत विश्लेषण र व्याख्या गर्न भने त्यति सहज छैन।
सांराशमा, हालसम्म भएका प्रागैतिहासिक पुरातात्त्विक अनुसन्धान तथा अन्वेषणका आधारमा निष्कर्ष निकाल्न सकिन्छ कि नेपालको भौगोलिक, प्राकृतिक र जैविक विविधता मानव पुर्खाका लागि विभिन्न समयमा उपयुक्त वासस्थान बन्न सकेका थिए।
कम्तीमा पनि मध्य-प्लेस्टोसिन कालदेखि नेपालका विभिन्न भागमा खासगरी महाभारत-चुरेका काखतिर मानव बसोबास गर्न थालिसकेका थिए। उत्तर पुरा-पाषाणकाल र नव-पाषाणकालसम्म आइपुग्दा त उत्तरी हिमाली क्षेत्रका उपत्यका र गुफाहरूमा समेत मानव गतिविधि भइसकेका थिए।
हालसम्म जेजति अनुसन्धान तथा अन्वेषण भएका छन्, तीबाट प्राप्त उपलब्धिलाई पूर्वसंकेतका रूपमा लिएर नेपालको प्रागैतिहासिक अध्ययन-अनुसन्धानमा पर्याप्त ध्यान पुग्न भने सकेको छैन। राज्यको तर्फबाट र राज्यको पहलमा विदेशी संघसंस्था, खासगरी विश्वविद्यालयसँगको सहकार्य यसका लागि महत्त्वपूर्ण सहयोगी हुन सक्छ।
पछिल्ला दशकमा त्यस्ता केही पहल भएका छन्। त्यस्ता केही वर्षमा भएका र अहिलेसम्म निरन्तर भइरहेका अन्वेषणका उपलब्धि एवं परिणाम अर्थपूर्ण रूपमा सार्वजनिक भइसकेका छैनन्। नेपालको प्रागैतिहासिक अध्ययन अझै पनि सुषुप्त अवस्थामा नै छ।
(ढकालको भर्खरै प्रकाशित पुस्तक ‘इतिहासअघिको इतिहास’मा ‘नेपालको प्राक्-इतिहास र पुरातत्त्व’ शीर्षकमा रहेको आलेख।)
यो पनि पढ्नुहोस् :