विवादित मन्त्री छनोटमा कांग्रेसको ह्याट्रिक, ‘गुन्डागर्दी’ मा कुख्यात बने खेलकूदमन्त्री
लुम्बिनीमा हत्या आरोपी र गुन्डागर्दी पृष्ठभूमिका व्यक्तिलाई मन्त्री बनाएको कांग्रेसले बाग्मतीमा पनि गुन्डागर्दी र असुली पृष्ठभूमिका व्यक्तिलाई सरकारमा ल्याएको छ।
अवैध असुली र मीनकृष्ण महर्जन पर्यायवाची जस्तै थिए, कुनै समय। ललितपुर जिल्लाभित्रका ठेक्कापट्टा, ढुंगा, रोडा, बालुवा खानी सञ्चालकहरूले महर्जनको भाग नछुट्याए या काम गर्न सक्दैनथे या त उनीहरूमाथि अप्रिय घटना हुन सक्थ्यो।
गुन्डागर्दी र असुलीको दुनियाँमा कहलिएका महर्जन अन्ततः बागमती प्रदेशको मन्त्री बनेका छन्। नेपाली कांग्रेसले उनलाई युवा तथा खेलकूद मन्त्रालय सुम्पेको छ। साउन १० गते विस्तारित बागमती प्रदेश मन्त्रिपरिषद्का नयाँ सदस्यहरूले पद तथा गोपनीयताको शपथ खान भने बाँकी छ।
त्यसो त संघीय सरकारमा पनि कांग्रेसले स्वार्थको द्वन्द्व हुने गरी रसुवा–भोटेकोशी जलविद्युत् परियोजनाका प्रवर्द्धक दीपक खड्कालाई ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जिम्मा लगाइसकेको छ।
नयाँ गठबन्धन सरकारमा गुन्डागर्दी पृष्ठभूमिबाट मन्त्री बन्ने महर्जन तेस्रो व्यक्ति हुन्। यसअघि साउन ९ गते मात्रै लुम्बिनी सरकारमा गुन्डागर्दी पृष्ठभूमिकै रोज राणा अर्थात् सरोज थापा मन्त्री नियुक्त भएका थिए। उनी दोस्रो पटक मन्त्री बनेका हुन्।
लुम्बिनी सरकारमै हत्या आरोपित व्यक्ति पनि मन्त्री छानिएका छन्। निर्मला कुर्मी अपहरण र हत्याको घटनामा अनुसन्धानको दायरामा आउनुपर्ने बादशाह कुर्मीलाई कांग्रेसले नै मन्त्री बनाएर पुरस्कृत गरेको हो।
बाँकेबाट २०७५ सालमा सम्पर्कविहीन भएकी निर्मला कुर्मीको २०७६ चैतमा भारतमा मृत्यु भएको सूचना प्रहरीले पाएको थियो। बादशाह सहितका व्यक्तिले निर्मलाको जग्गा हडप्न बेपत्ता पारेर हत्या गरेको आरोप छ। गृह मन्त्रालयको छानबिन समितिले समेत बादशाहलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने किटान गरेको थियो। तर कांग्रेसले उनलाई शक्तिमा पुर्याएर अनुसन्धानमा भाँजो हाल्दै आएको छ।
विवादास्पद पृष्ठभूमिका व्यक्तिलाई मन्त्री बनाउने क्रम बादशाहमै रोकिएन। गुन्डागर्दीमा कुख्यात महर्जन मन्त्री बनेका छन्। ललितपुर चापागाउँका महर्जनले लामो समय जिल्लामा एकलौटी असुली धन्दा चलाएको प्रहरी रेकर्ड छ। केही वर्षअघि प्रहरीले वर्गीकृत तवरमा मूल्यांकन गरेको डनहरूको सूचीमा महर्जन ‘क’ वर्गमा पर्थे। राजनीतिक दलसँगको पहुँच, अवैध सम्पत्ति, सञ्जाल लगायत आधारमा प्रहरीले गुन्डागर्दीमा संलग्नलाई वर्गीकृत गरेको थियो।
महर्जन समूहले ललितपुरमा एकछत्र प्रभाव जमाइरहेका वेला रमेश बाहुन भन्ने सुजन पौडेलको समूह ठेक्कापट्टाको कमिसन खोज्न छिरेपछि विवाद भएको थियो। बाहुन समूहले महर्जनलाई २०७० सालमा गोली हानेको थियो। महर्जनको तिघ्रामा गोली लागेको थियो। सहयोगी मिलन बस्नेत समेत घाइते भएका थिए।
प्रहरी अनुसन्धानबाट सिंचाइ कार्यालयले ६२ करोड रुपैयाँको ठेक्का लगाउँदा बाहुन समूहले कमिसन मागेको थियो। तर आफ्नो पकड क्षेत्र भन्दै महर्जन समूहले अवरोध गरेपछि यो घटना भएको प्रहरीको निचोड थियो। आक्रमणमा संलग्न भएको आरोपमा तत्कालीन महानगरीय प्रहरी महाशाखा (हाल उपत्यका अपराध अनुसन्धान कार्यालय)ले सञ्जय बानियाँ र मधुसुदन डोटेललाई पक्राउ गरेको थियो। यसमध्ये डोटेलको गाडी रमेश बाहुनले चढ्ने गरेको अनुसन्धानबाट खुलेको थियो।
चर्को ब्याजमा पैसा लगानी गर्ने कार्यमा समेत संलग्न रहेको प्रहरी अभिलेख भेटिन्छ। पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्कर कार्की मीनकृष्ण महर्जनले ललितपुर क्षेत्रमा हुने ढुंगा, रोडा, बालुवा जस्ता सामग्रीको कारोबारीबाट कमिसन लिएर असुली धन्दा थालेको बताउँछन्। पछि उक्त क्षेत्रमा हुने हरेक ठेक्कापट्टामा आफ्नो भाग खोज्न थाले।
कतिपय ठेक्कापट्टामा आफू समेत संलग्न हुन्थे। “अरू समूह पस्दा विवाद हुने, गोली हानाहानका घटना समेत भएको थियो,” कार्की भन्छन्, “अब त आपराधिक क्रियाकलाप र राजनीतिक क्रियाकलाप पनि नछुट्टिने जस्तो भइसके।”
गत निर्वाचनमा महर्जन ललितपुर २ ‘क’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। ललितपुरको गोदावरी-११, चापागाउँका स्थायी बासिन्दा महर्जनले एसएलसीसम्म अध्ययन गरेको प्रदेश सभा सचिवालयको अभिलेखमा उल्लेख छ।
यो पनि पढ्नुहोस् : पीडित निरन्तर सडकमा, हत्या आरोपी कुर्सीमा