लीलादेवी गड्तौला बनिन् मुख्यसचिव
कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौला मुख्यसचिव बनेकी छन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गड्तौलालाई मुख्यसचिव बनाएको हो। “मन्त्रिपरिषद्को आजको बैठकले नेपाल सरकारको कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्यसचिवमा बढुवा गर्ने निर्णय गरेको छ,” सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भने।
यससँगै गड्तौला मुख्यसचिव हुने पहिलो महिला बनेकी छन्। भ्रष्टाचारको आराेपमा बहालवाला मुख्यसचिव वैकुण्ठ अर्याल निलम्बनमा परेपछि सरकारले गड्तौलालाई निमित्त मुख्यसचिव तोकेको थियो। गत असार ३१ मा उनले कायममुकायम मुख्यसचिवको जिम्मेवारी पाएकी थिइन्।
२०२३ भदौ १५ मा तेह्रथुममा जन्मेकी गड्तौला २०५२ सालमा निजामती सेवा प्रवेश गरेकी थिइन्। न्याय सेवा अन्तर्गत कानून समूहको शाखा अधिकृत पदबाट निजामती सेवा शुरू गरेकी उनी अहिले मुख्यसचिव बनेकी छन्।
आउँदो भदौ १५ गतेसम्म उनी मुख्यसचिव रहनेछिन्। करीब ३५ वर्ष निजामती सेवामा बिताएकी गड्तौलाले उमेर हदका कारण भदौ १५ मा अनिवार्य अवकाश पाउनेछिन्।
यससँगै मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पाल्पाका डा. शिवराज अधिकारीलाई नियुक्त गरेको छ। त्यस्तै, आयोगका सदस्यहरूमा डा. आरपी बिछा, डा. रमेशप्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा. जयबहादुर टन्डन र गंगादत्त अवस्थीलाई नियुक्त गर्ने निर्णय गरेको छ।